‘मृत्‍युको उत्सव ‘

‘मृत्‍युको उत्सव ‘(The Death Celebration-A Nepali Poem):By Acharya Rajan Sharma

‘मृत्‍युको उत्सव ‘

जे का लागि जन्मिएका हौं ,
त्यसैका लागि भएनौं भने ,
जहाँ पुग्नु थियो त्यता ,
पाइलै सारिएन भने,
जसलाई नभेटि नहुने थियो ,
जसरि पनि पाउंनै थियो ,तर
त्यसको निकट पुग्दै पुगिएन भने
जसलाई खोजि गर्नु थियो ,
उस प्रति पुरै वेवास्ता भयो भने ,
हिटलर ले झैं, साम्राज्य जोडेर के गर्नु
पानीको फोका झैं दम्भलाई फुलाएर के गर्नु
घाम डुब्नै लागे पछि
पश्चातापको क्रन्दन फालेर के गर्नु
समयले नेटो काटेछ भन्दै,
थाप्लो मात्र ठटाएर के गर्नु ,
अङ्गुलीवालाको पछुतो ,
सिकन्दरको खाली हात ,
रत्नाकरको नयाँ बाटो
युगहरुलाई पढाईरहेका छन् यहाँ।
जति बचेँको छ ,अव होस पूर्वक खर्च गर्नुछ
काहिं दिएर हि-ड्नु छ , काहीं मागेर- हिंड्नु छ,
केवल ‘माफि ‘।अनि फेरि
‘माफि’ ।
नभएकोमा गुनासो हैन ,
रहेकोमा कृतज्ञता चढाउंदै ।
सकारात्मक सोचको सामग्रि , उत्प्रेरणाको घन्टि,
प्रेमको अगर बत्ति , सत्कर्मको फल र ध्यानको उपासनाले
परेला बन्द नहुंदै यो जगतको पूजा गर्नु छ ।
शरीरनै देवल , शुन्यतामा देवता
बोधको प्रज्ञा ,सत्त्-चित आनन्दको दिव्यतामा
समाधिको चिहान माथि,परम शान्तिको कात्रो ओढेर
परा विध्याको दाग बत्तिमा सल्किंदै
यो धर्तीको बसाइलाई अन्तिम विश्राम दिनु छ ।
फेरि उदाउंने विहानिहरुले
खोजेर पढ्नै पर्ने एउटा जीवन बनेर,
ननिभ्ने अमर दीपशिखा बनेर
जन्मिंदै मर्ने खेलबाट सधैंका लागि
बस , ओझेल पर्नु छ

एउटा अमर मृत्‍यु उत्सवमा रमाउंनु छ । । ।

धेरै नफटाउ जुत्ताहरुलाई ,
वेकार नकन्याउ लुत्ताहरुलाई ,
केवल नकुदाउ खुट्टाहरुलाई
भयो ,नदु:खाउ मनहरुलाई
बस , उसकै लागि विश्राम लेउ अब
सबैले भर्ने एउटै पेट हो ,
आखिरि सबैको घाटकै भेट हो ।।
भवतु: सब्ब मंगलम्।
अस्तु , अस्तु , अस्तु ।

-आचार्य राजन शर्मा (भीमसेन सापकोटा )

Comments

comments

सम्बन्धित शिर्षकहरु