भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा,बंगलादेश बाहिरियो

काठमाडौं । बंगलादेशविरुद्ध २८ रनले जित हासिल गरेपछि इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकपको मुख्य दावेदारमध्येको एक भारत सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा पुग्ने अष्ट्रेलियापछिको दोस्रो टिम भारत बनेको छ । भारतले लिग चरणको ८ खेलमा १३ अंक जोडेको छ । लिगको अन्तिम चरणमा उसले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

बर्मिङघमको एजबास्टोन रंगशालामा ३१५ रनको लक्ष्य पछयाएको बंगलादेशले ४८ ओभरमा सबै विकेट गुमाएर २८६ रनमात्र रनमात्र जोड्न सक्यो । उच्च लयमा रहेका शकिब अल हसनले ६६ रनको अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यानले उनलाई गतिलो साथ दिन नसक्दा बंगलादेशले झिनो हार व्यहोरेको हो । यो हारले पहिलोपल्ट विश्वकपको सेमिफाइनलमा पुग्ने बंगलादेशको सपना कम्तीमा ४ वर्षका लागि धकेलिएको छ ।

ओपनरहरु तामिम इक्वाल र सौम्य सरकारले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । सौम्यले ३३ र इक्वालले २२ रनको पारी खेले ।

तेस्रो नम्बरमा आएका हसनले ७४ बलमा ६ चौकाको सहयोगमा ६६ रन प्रहार गरे । त्यसपछि आठौं नम्बरमा आएका मोहम्मद सइफुद्धिनले अर्धशतकीय पारी खेले पनि टिमलाई हारबाट जोगाउन सकेनन् । उनी ३८ बलमा ९ चौकाको सहयोगमा ५१ रनमा अविजित रहे । बंगलादेशको मध्यक्रमले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा पराजित हुनुपरेको हो ।

बंगलादेशका लागि मध्यक्रममा सब्बिर रहमानले ३६ र लिटन दासले २२ रन जोडेका थिए । कप्तान मश्रफी मोर्तजा ८ र रुवेल हुसेन ९ रनमा आउट भए ।

बलिङतर्फ जसप्रित बुमराहले ४ विकेट लिए । हार्दिक पाण्ड्याले ३ तथा भुवनेश्वर कुमार, मोहम्मद शामी र युजवेन्द्र चहलले १-१ विकेट लिए । बुमराहले १० ओभरमा १ मेडन राख्दै ५५ रन खर्चिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाएर ३१४ रन बनाएको हो । ओपनरहरु रोहित शर्माको शतक र केएल राहुलको अर्धशतकको मद्दतले बंगलादेशलाई ३ सय माथिको लक्ष्य दिएको हो ।

भारतका रोहित र राहुलले पहिलो विकेटका लागि १८० रनको साझेदारी गर्दै बलियो सुरुवात गरेका थिए । पहिलो विकेटका रुपमा रोहित शतकसहित १०४ रन बनाएर आउट भए । यो उनको जारी विश्वकपमा चौथो शतक हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु