संसदमा पुग्यो ‘गलबन्दी’ विवाद, आन्दोलनमा उत्रने काँग्रेस सांसदको चेतावनी

काठमाडौं । प्रकाश सपुतको लोकगीत ‘गलबन्दी’ विवादको विषय संसदमा पनि उठेको छ । काँग्रेस सांसद मीनबहादुर विश्वकर्माले सपुतको गीत आफ्नो गीतसँग लय मिलेको भन्दै शम्भु राईले मुद्दा हालेको विषयमा आपत्ति जनाएका छन् ।

‘एक दिन एकपटक एक कलाकारले कुनै एक समयमा गाउने वा रेकर्ड गरिएको गीत लोकभाका हुन सक्दैन । गाउँघरमा, रोधीघरमा, मेलापातमा, गोठालामा स्वस्फूर्त गाउने भाका नै लोकभाका हो । यो न नक्कल हुन्छ न चोरी गरिन्छ,’ सांसद विश्वकर्माले भने, ‘यद्यपि प्रकाश सपुतले गाएको गीतको भाका कसैसँग मिल्दैन । शम्भु राईसँग त झन् मिल्दैन ।’

यति मात्र हाेइन पछिल्लो समय प्रकाश सपुतमाथि जातीय भेदभावका दृष्टिले गालीगलाैज गरिएको भन्दै सांसद विश्वकर्माले आपत्ति जनाए ।

‘राई र उनका मतियारले सामाजिक सञ्जालको दुरुपयोग गरी सपुतलाई जातीय भेदभागका दृष्टिले गालीगलौज गरर्ने र हतोत्साही बनाउने काम गरिएको छ,’ उनले भने । उनले संविधान, सदभाव र कानूनको विरुद्ध हुने गरी दलित समुदायलाई अपमानित हुने गरी अपमान गरेको हुनाले साइबर कानून अन्तर्गत जातीय छुवाछुत तथा भेदभाव कसुर सजाय ऐन २०६८ अन्तर्गत र संविधानको धारा २४ अन्तर्गत कारवाहीको माग गरे ।

कारबाहीको प्रक्रिया नथालिए सिंगो दलित समुदाय आन्दोलनमा उत्रने पनि सांसद विश्वकर्माले चेतावनी दिए । सरकारले जातीय विभेदात्मक मान्यतालाई प्रसय दिएको उनले आरोप लगाए ।

के बालक के वृद्ध सबैको मनमा बस्न सफल यो गीत देशमा मात्र नभएर विदेशमा पनि गुनगुनाईरहेको बताए । साथै उनले यो गीतले नेपाली परम्परा र सँस्कृतिको विकासलाई यो गीतले टेवा दिएको बताएका छन् ।

सपुतको गीत आफ्नो गीतसँग मिलेको भन्दै गायक राईले कपीराइटको उजुरी दर्ता गराइसकेका छन् । सांसद विश्वकर्माले यसरी मुद्दा हाल्नु प्रतिष्ठित कलाकारका हिसाबमा लज्जाको विषय भएको बताए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु