विश्वकप क्रिकेट : भारतद्धारा पाकिस्तानमाथि फराकिलो जित

काठमाडौं । भारतले विश्वकप एक दिवसीय क्रिकेटमा पाकिस्तानमाथि अहिलेसम्मकै फराकिलो जित निकालेको छ । विश्वकपका आपसी भिडन्तमा अहिलेसम्म नहारेको भारतले पाकिस्तानलाई ८९ रनले पराजित गर्दै रनका आधारमा अहिलेसम्मकै फराकिलो जित र लगातार सातौं जित हासिल गरेको हो ।

इंगल्याण्डको म्यानचेस्टरमा आइतबार राति भएको खेलमा भारतले दिएको ३३७ रनको लक्ष्यसहित मैदानमा उत्रेको पाकिस्तानले वर्षाले गर्दा पूरा ओभर खेल्न पाएन । डीएल म्याथड अनुसार ४० ओभरमा झारिएको खेलमा पाकिस्तानले ३०२ रनको नयाँ लक्ष्य पाएको थियो । पाकिस्तानले ६ विकेट गुमाएर २१२ रन मात्र बनाउन सक्यो ।

वर्षाले खेल रोकिनुअघि पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो । फकर जमानले ६२, बाबर आजमले ४८ तथा इमाद वासिमले नटआउट ४६ रन बनाए । भारतका डेब्यू खेलाडी विजय शंकर, हार्दिक पाण्डया र कुलदिप यादवले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको नोक्सानीमा ३३६ रन बनाएको थियो । ओपनर रोहित शर्माले ११३ बलमा १४० रन बनाए । पहिलो विकेटका लागि लोकेश राहुलसंग १३६ रनको साझेदारी गरेका रोहितको यो जारी विश्वकपको दोस्रो शतक थियो ।

राहुलले ५७ तथा कप्तान विराट कोहलीले ७७ रन बनाए । पाकिस्तानका मोहमद आमिरले ३ विकेट लिए ।जितसंगै भारतले ४ खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा छ । समान अंकको न्यूजिल्याण्ड रन रेटमा दोस्रो स्थानमा छ । अष्ट्रेलिया ५ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु