कांग्रेस कलह : देउवा सहभागी हुने कार्यक्रम केसी र महतद्वारा बहिष्कार

काठमाडौं । पहिल्लो समय कांग्रेस र कलह एक–अर्काका पर्यायबाची जस्तै बनेका छन् । अहिले पछिल्लोपल्ट नुवाकोट जिल्लामा कांग्रेसमा कलह देखिएको छ । नुवाकोटका प्रभावशाली कांग्रेस नेता अर्जुननरसिंह केसी र डा. रामशरण महतलाई बेवास्ता गर्दै जेठ ३२ (भोलि शनिबार) दुई क्षेत्रले संयुक्त रुपमा क्षेत्रीय सम्मेलन आयोजना गरेपछि यो कांग्रेसको कलह फेरि छताछुल्ल हुन पुगेको छ । उक्त कार्यक्रममा सभापति शेरबहादुर देउवा प्रमुख अतिथि बनेर सहभागी हुँदैछन् भने नेता केसी र महतले भने कार्यक्रम बहिष्कार गर्ने बताएका छन् ।

नुवाकोटकै अर्का नेता डा. प्रकाशशरण महतको निर्देशनमा दुई क्षेत्रको संयुक्त क्षेत्रीय सम्मेलन कार्यक्रम गर्ने तयारी भएपछि नेता केसी र महतले यो विधानमै नभएको मनपरी भएको बताएका छन् । यता सभापति देउवा भने केसी र महतकै जिल्लामा गएर आफूविरुद्ध रहेका केसी–महतलाई ‘ठिक’ लगाउने दाउमा छन् ।

आफ्ना निकट प्रकाशशरणको योजनामा आयोजित उक्त कार्यक्रम सभापति देउवा सरिक हुन लागे पनि कांग्रेसको विधानमा दुई क्षेत्रको संयुक्त भेला गर्ने कुनै प्रावधान रहेको केसी–महतले टिप्पणी गरेका छन् । विधानमै व्यवस्था नभएको अवैधानिक भेलामा पार्टीको सभापति नै प्रमुख अतिथि बन्नुले पार्टीभित्र अनुशनसनहीनता र अराजकता कुन हदसम्म मौलाएको छ भन्ने प्रष्ट भएको कांग्रेसकै एक नेता बताउँछन् ।

कार्यक्रमको प्रचार गर्न बनाइएको पोष्टरमा सभापति देउवा, उपसभापति विजय गच्छदार र सहमहामन्त्री महतको फोटोसहित छ । केसी र डा. महतलाई भने कार्यक्रममा वक्ता समेत नराखी निम्तो पठाइएको छ । कार्यक्रम आयोजना भएको बोधार्थ दिएझै गरिएकोले यो अपमानको हद भएको उनीहरुले बताएका छन् । कांग्रेसभित्र विभाजन गर्ने नियतका साथ गरिएको अवैधानिक कार्यक्रममा जान नसकिने भन्दै केसी र डा. महतले बहिष्कार गर्ने बताएका छन् । कार्यक्रम लिखु गाउँपालिको चौघडामा आयोजना गरिएको छ । नुवाकोट कांग्रेस यसअघि केसी र महत पक्षमा विभाजित भएको थियो । तर गएको निर्वाचनमा दुबै नेता पराजित भएपछि केसी र महत एक ठाउँमा रहे पनि कांग्रेस केन्द्रमा सहमहामन्त्री बनेका प्रकाशशरण महतले जिल्लामा आफ्नो अलग्गै संगठन थालेका छन् ।

उनले केन्द्रमा रहेको त्यही प्रभावलाई जिल्लामा विस्तार गर्न खाजेका छन् । यसअघिको निर्वाचनमा महत काठमाडौं क्षेत्र नं ५ बाट पराजित बनेका थिए । उनले जिल्लाबाटै उम्मेदवार बन्न प्रयास गरे पनि दुई दाइले क्षेत्र नछाडेपछि काठमाडौंबाट चुनाव लडेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु