नेपालमा मनसुन एक हप्ता ढिलो भित्रने,तीन दिनसम्म पूर्वका नदी र खोलामा जलसतह बढ्दै

काठमाडौं । नेपालमा यस वर्ष एक हप्ता ढिलो गरी मनसुन भित्रने भएको छ । नेपालमा मौसम भित्रिने दिनका हिसावमा जुन १० अर्थात आज हो । तर यस वर्ष एक हप्ता ढिलो गरी मनसुन भित्रने मौसमविदहरुको भनाइ छ । ‘मनसुन आउने क्रममा छ,’ मौसमविद् मञ्जु बासीले भनिन्,‘मनसुनले भारतको केराला छोयो, अब विस्तारै नेपाल भित्रने छ ।’

मनसुनअघि सक्रिय बनेको प्री मनसुनले भने आकाश छाडेको छैन । प्री मनसुन र हिउँदे वर्षा पश्चिमी वायुको प्रभावले नेपालमा रहन्छ । तर मनसुन दक्षिणपूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित गरेपछि मात्र नेपालमा शुरु हुन्छ ।

‘अझ ६ दिनजति लाग्ला नेपालमा मनसुन आउन’ अर्का मौसमविद् समिर श्रेष्ठले थपे,‘शुरुमा झापा र मोरङ छुन्छ, त्यसपछि मध्य क्षेत्रमा मनसुन पस्छ ।’

‘यस बेला दक्षिणतिर बहिरहेको पश्चिमी वायु उत्तरतिर सर्छ’ श्रेष्ठले भने ‘त्यस स्थानमा भारतको मध्य क्षेत्रमा उत्पन्न भएको न्यून चापीय वायुका साथै पाकिस्तान र बङ्गालको खाडीमा उत्पन्न उच्च चापीय वायु फैलिएर बस्छ ।’ जलवास्पयुक्त उच्च चापीय वायुको उच्च वाहवसँगै मनसुन भित्रेने गर्छ ।

यस वर्ष पूर्वी भेगमा कम पानी पर्ने र पश्चिममा औसत पानी पर्ने पूर्वानुमान यस वर्षको मनसुन फोरमले गरेको छ । सोही अनुसार प्रदेश १,२,३,४ र ५ मा वर्षा कम हुन सक्छ ।

जल तथा मौसम विज्ञान विभागले आजदेखि तीन दिनसम्म पूर्वी नेपालका विभिन्न नदीहरुमा जल सतह बढ्ने पूर्वानुमान गरेको छ । बाढीको अलर्ट जारी गर्दै आज भोलि र पर्सि देशको पूर्वी भूभागमा पर्ने कन्काई तथा कोशी नदी जलाधार क्षेत्रमा वर्षा भइ जलसतह उल्लेख्य बढ्ने छ । उच्च बाढीको जोखिम भने नरहेको सो बुलेटिनमा जनाइएको छ ।

 

त्यसैगरी कमला, नारायणी, पश्चिम राप्ति,बबई कर्णाली र महाकाली लगायतका यसका शाखा नदीहरुमा भने वहाव सामान्य रहने जनाइएको छ । पूर्वी मेची, विरिङ्गलगायतमा आज बेलुकादेखि भोलि बिहानसम्म पानीको सतह केही बढ्ने तर सतर्कता तहभन्दा तलै हुने जनाइएको छ । त्यस्तै पूर्वका कन्काई, मेची र बिरिङ्गका अतिरिक्त पूर्वी भागबाट बहने साना नदीहरुमा जलसतह उल्लेख्य बढ्ने समेत पूर्वानुमान गरिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु