पत्रकारको नाकको डाँडी भाँचिदिने धम्की दिएका मेयर ‘पार्टी सम्पर्कबाहिर’

काठमाडौं । पत्रकारलाई नाकको हड्डी भाँचिदिने धम्की दिएका मोरङको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरी नेकपाको सम्पर्कबाहिर छन्। नेकपा प्रदेश १ का सदस्य चौधरी तत्कालीन एमालेको टिकटबाट मेयरमा निर्वाचित भएका हुन्। नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले चौधरी पार्टी सम्पर्कबाहिर रहेको बताए। ‘सम्पर्क गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘उहाँसँग सम्पर्क स्थापित गर्न काठमाडौं, प्रदेश र सुनसरीका साथीहरूलाई पार्टीले खटाएको छ।’ इटहरी उपमहानगर उपप्रमुख लक्ष्मी गौतमले पनि केही दिनयता प्रमुखसँग सम्पर्क नभएको बताइन्।

‘उहाँ एउटा कार्यक्रममा भाग लिन नेपालगन्ज जानुभएको छ तर सम्पर्क हुन सकेको छैन,’ उनले भनिन्, ‘शुक्रबार आउने भन्नुभएको थियो, आएपछि घटनाबारे छलफल गर्छौं।’ चौधरीको मोबाइल स्विच अफ छ। मोरङबाट देवनारायण साहले लेखेको यो खबर आजको कान्तिपुरमा छापिएको छ।

चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको भन्दै धम्क्याएका थिए। अनुपमले फेसबुकमा पोस्ट गरेको फोटोमा चौधरीले ‘चाटुकार पत्रकार’ भनेर कमेन्ट गरेका थिए। उक्त विषयमा चौधरीलाई फोन गरेपछि नाकको हड्डी भाँचिदिने धम्की दिएका थिए।

महासंघद्वारा मिसन टोली गठन
यसैबीच पत्रकार महासंघ प्रदेश १ समितिले चौधरीले पत्रकारलाई धम्की दिएको घटनाको सत्यतथ्य छानबिन गर्न मिसन टोली गठन गरेको छ। महासंघका पूर्वकेन्द्रीय सदस्य मोहनकाजी न्यौपानेको संयोजकत्वमा गठित टोलीमा पूर्वकेन्द्रीय सदस्य गणेश लम्साल, पत्रकार महासंघ शाखा सुनसरी अध्यक्ष अमर खडका र प्रदेश समिति सदस्य जयकृष्ण यादव सदस्य छन् ।

टोलीलाई धरानमा पत्रकार महासंघ धनकुटा शाखाका सदस्य दिलबहादुर राईमाथि कार्यालयमै भएको आक्रमण घटनाको पनि सत्यतथ्य अध्ययन गर्ने जिम्मेवारी दिएको प्रदेश समितिले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बिहीबारै महासंघ सुनसरी शाखाले आयोजना गरेको छलफलमा सहभागीले मेयर चौधरीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने रमाग गरेका थिए। प्रजिअ प्रेमप्रकाश उप्रेतीले पत्रकारलगायत इटहरीको सुरक्षा व्यवस्था कडा पारिएको बताए।

Comments

comments

सम्बन्धित शिर्षकहरु