मोदीको नयाँ मन्त्रिपरिषदमा नाकाबन्दीको मुख्य योजनाकार विदेशमन्त्री

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रीहरूको कार्यविभाजन तोकेका छन्। दोस्रो कार्यकालका लागि बिहीबार सपथ लिएका मोदीको नयाँ मन्त्रिपरिषदमा पहिलो पटक महिलालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। हिजो सपथ लिएकी नेतृ निर्मला सीतारमणले संघीय अर्थ मन्त्रालय सम्हाल्ने भएकी छन्। मोदीको अघिल्लो कार्यकालमा अरूण जेट्ली अर्थमन्त्री थिए। विदेश मन्त्रालयको जिम्मेवारी पूर्वविदेश सचिव एस जयशंकरले पाएका छन्। चार वर्षअघि भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा जयशंकर विदेश सचिव थिए।

भाजपा अध्यक्षसमेत रहेका अमित शाहलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि ग‌ृह सम्हालेका नेता राजनाथ सिंह रक्षा मन्त्री बनेका छन्। उत्तरप्रदेशको अमेठीमा कंग्रेस अध्यक्ष राहुल गान्धीलाई हराएकी स्मृति इरानी महिला मन्त्री बनेकी छन्।

२०७२ असोजमा नेपालमा संविधान जारी हुनुभन्दा पहिला प्रधानमन्त्री मोदीका विशेषदूत बनेर काठमाडौं आएका थिए । उनले संविधान घोषणा केही दिन सार्न समेत भनेका थिए । जयशंकरले तत्कालीन राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, राष्ट्रिय पार्टीका शीर्ष नेताहरुसँग भेटवार्ता गरी संविधान जारी नगर्न दबाब दिएको सार्वजनिक भएको थियो तर भारतको आग्रहअनुसार संविधान सार्ने मिति नसरेपछि संविधान लागू भएलगत्तै भारतले नाकावन्दी लगाएको थियो । सन् १९७७ मा भारतीय विदेश सेवामा प्रवेश गरेका एस जयशंकर २०७४ माघ १४ गतेसम्म भारतीय विदेश सचिवको जिम्मेवारीमा थिए । विदेश सचिव हुनुभन्दा अघि सिंगापुर, चीन र अमेरिकाका लागि भारतीय राजदूत रहेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु