बम विस्फोटको असरः नेपालमा रहेका नागरिकलाई अष्ट्रेलियाको ट्राभल एडभाइजरी,’सतर्क रहनु,भीडभाडमा नजानू’

काठमाडौं । काठमाडौंका घट्टेकुलो, सुकेधारा र नागढुंगामा भएका विस्फोटन र केहीको मृत्युपछि अष्ट्रेलियाली सरकारद्वारा आफ्ना नागरिकहरूलाई नेपालमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अष्ट्रेलियाले नेपाल आउन चाहने र नेपालमा भएको आफ्ना नागरिकलाई नयाँ ट्राभल एडभाइजरी जारी गरेको छ ।
सरकारको विदेश मामिला र व्यापार विभागद्वारा जारी गरिएको उक्त आग्रहमा आफ्ना नागरिकलाई नेपालमा भीडभाडमा नजान पनि आग्रह समेत गरिएको छ। विदेश मामिला विभागका अनुसार कुनै पनि समयमा विस्फोटनको सम्भावना देखिएपछि यो सुझाव सार्वजनिक भएको हो।

एक हप्ता अघि प्रहरी कारबाहीमा आफ्नो एक कार्यकर्ताको मृत्यु भएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले घोषणा गरेको आम हड्तालको पूर्वसन्ध्यामा यी विस्फोटका घटनाहरू भएका थिए। गए मार्च महिनामा भएको एक विस्फोटनपछि चन्द समूहमाथि नेपाल कम्युनिस्ट पार्टी नेतृत्व सरकारले प्रतिबन्ध लगाएको थियो।
काठमाडौंमा भएको विस्फोटमा प्रेसर कुकर बम विस्फोट भएको नेपाली अधिकारीहरुले जनाएको उल्लेख गर्दे सो एडभाइजरीमा उक्त बम नेपालमा सन् २००६ अगाडि तत्कालीन माओवादी गुरिल्लाले सेनालाई आक्रमण गर्दा प्रयोग गरेकै खालको भएको समेत दाबी गरिएको छ ।

अष्ट्रेलियाले आफ्ना नागरिकहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै जारी गरेको एड्भाइजरी दोस्रोे तहको हो । अष्ट्रेलियाले चार तहका एडभाइजरी जारी गर्ने गरेको छ । जसअन्तर्गत पहिलो तहमा सामान्य सुरक्षा सतर्कता अपनाउन, दोस्रो तहमा अत्यधिक सतर्कता अपनाउन, तेस्रो तहमा भ्रमणमा पुनर्विचार गर्न र चौथो तहमा भ्रमण नगर्न सचेत गराइन्छ ।

दोस्रो तहको अर्थ पहिले नै योजना बनाइएको भ्रमण स्थगित गर्नु नपर्ने जनाउँदै थप होसियारी अपनाउन भनिएको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु