यो सिजनको दोहोरो उपाधि जित्ने बार्सिलोनाको सपना चक्नाचुर

एजेन्सी । यो सिजन दोहोरो उपाधि जित्ने बार्सिलोनाको सपना चक्नाचुर भएको छ । स्पेनिस कोपा डेल रेको उपाधिको लागि भ्यालेन्सियासँग पराजित भएपछि बार्सिलोनाको दोहोरो उपाधि जित्ने सपना सकिएको हो । निकै रोमाञ्चक बनेको फाइनलमा भ्यालेन्सियाले बार्सिलोनालाई दुई एक गोल अन्तरले हरायो । खेलको २१ औं मिनेटमा केभिन गामिरीयोले गोल गर्दै भ्यालेन्सियाले खेलमा अग्रता बनायो । त्यसपछि ३३ औं मिनेटमा रोद्रिगोको गोलमार्फत भ्यालेन्सियाले खेल दुई शून्यले अगाडि राख्यो ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको भ्यालेन्सिया विरुद्ध दोस्रो हाफमा बार्सिलोनाले आक्रामक फुटबल खेलेको थियो । ७३ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अन्तर दुई एकमा झारेका थिए ।

मेस्सीको भ्यालेन्सियाविरुद्ध यो २८ औं गोल हो । तर त्यसपछि स्टार खेलाडीले भरिएको बार्सिलोना खेलमा फर्कन सकेन र च्याम्पियन्स लिगमा लिभरपुलसँग ब्यहोरेको हारको मलम यो खेलबाट लगाउने लक्ष्यमा चुक्न पुग्यो । यो जितले भ्यालेन्सियाले बार्सिलोनाविरुद्ध लगातार २० खेलको हारको श्रृंखलामा पूर्णविराम लगाएको छ । साथै उसले २००८ पछि पहिलो पटक कोपाको उपाधि जितेको हो ।

सम्बन्धित शिर्षकहरु