शक्तिशाली बनेर उदाएका मोदीको यस्तो बन्दैछ नयाँ मन्त्रिपरिषद,को-को बन्दैछन् मन्त्री ?

नयाँ दिल्ली । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि झन् शक्तिशाली बनेर उदाएका छन् । लोकसभा चुनावमा मोदी नेतृत्वको भाजपा (भारतीय जनता पार्टी) ले दर्बिलो बहुमत प्राप्त गरेका छन् । पछिल्लो मत परिणाम अनुसार भाजपा एक्लैले ३०३ सिटमा जित हासिल गरेको छ भने उसको गठबन्धन एनडिएले ३४८ सिटमा विजय प्राप्त गरेको छ।

भारतीय कांग्रेस पार्टी भने ५१ सिटमा समेटिएको छ। कांग्रेसको गठबन्धन युपिएले ९४ सिटमा चित्त बुझाएको छ भने कांग्रेसले १७ राज्यमा त खाता समेत खोल्न सकेन। भारतीय लोकसभा चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ। ५४२ क्षेत्रमध्ये अब ३६ क्षेत्रको मात्र मतपरिणाम आउन बाँकी रहेको छ। जीतसँगै नयाँ मन्त्रिपरिषदबारे चर्चा शुरु भएको छ।

मोदीको ऐतिहासिक जीतका प्रमुख योजनाकार र कार्यान्वयनकर्ता पार्टी अध्यक्ष अमित शाह मन्त्री बन्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। शाह गृह, परराष्ट्र, रक्षा वा अर्थमन्त्री मध्ये एक हुनेछन्। उनी गृहमन्त्री हुने सम्भावना बलियो रहेको टाइम्स अफ इन्डियाले जनाएको छ।

हालका गृहमन्त्री राजनाथ सिंहलाई रक्षा मन्त्रालयका जिम्मेवारी दिएर शाहलाई मोदीले गृहमन्त्री बनाउन लागेको सो समाचारमा उल्लेख छ। शाह नरेन्द्र मोदी गुजरातका मुख्यमन्त्री हुँदा गृहमन्त्री थिए। सन् २०१४ मा मोदीलाई सत्तामा पुर्याउन पनि शाहकै प्रमुख भूमिका थियो। चुनावका समयमा शाह सबैभन्दा बढी सिट रहेको उत्तर प्रदेश राज्यमा पार्टीका तर्फबाट परिचलान भएका थिए। उनी नेतृत्वको भाजपा र गठबन्धनले त्यतिबेला उत्तर प्रदेशका ८० मध्ये ७३ स्थानमा जीत हासिल गरेको थियो। चुनाव लगत्तै शाह अध्यक्ष भएका थिए।

हालकी विदेशमन्त्री सुषमा स्वारज पदमा दोहोरिने वा नदोहोरिने स्पष्ट छैन। मृगौला प्रत्यारोपण गरेकी उनी लोकसभा निर्वाचनमा उम्मेदवार समेत बनिन्। भारतीय सञ्चार माध्यमहरुले स्वराजको स्थान हालकी रक्षामन्त्री निर्मला सिथारमण वा हालका न्याय तथा कानुनमन्त्री रविशंकर प्रसाद मध्ये एक हुने जनाएका छन्।

सिथारमण मोदी भाजपाको प्रभाव नरहेको दक्षिण भारतकी अनुहार हुन्। लामो समय राज्यसभाका सांसद रहेका प्रसाद बिहारको राजधानी पटनाबाट लोकसभामा निर्वाचित भएका छन्। पटना साहिवबाट उनले अभिनेता शत्रुघन सिन्हालाई पारजित गरेका हुन्। हालका अर्थमन्त्री अरुण जेट्लीको स्वास्थ्य अवस्था पनि राम्रो रहेको छैन। अस्वस्थ्य भएको कारण जेट्ली भाजपाका विजयी कार्यक्रममा समेत सहभागी हुन सकेनन्। सरकारभित्र मोदीका प्रमुख सहयोगी भए पनि जेट्लीको स्थान हालका रेल मन्त्री पियुष गोयलले लिने संभावना छ।

जेट्ली अस्वथ्य भएर बस्दा गोयलले नै अन्तरिम अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। जेट्लीलाई देब्रे खुट्टाको तन्तुमा क्यान्सर भएको छ। गत माघमा उनको अमेरिकामा शल्यक्रिया गरिएको थियो। त्यसैगरी भारतीय सञ्चार माध्यमहरुले विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई उत्तर प्रदेशका अमेठीबाट पराजित गर्ने कपडा मन्त्री स्मृति इरानीले पनि राम्रो मन्त्रालयका जिम्मेवारी पाउने जनाएका छन्।

मोदी सरकारमा सबैभन्दा देखिने काम गरेको भनेर प्रसंशा गरिएका नीतिन गड्करीले पनि मन्त्रिपरिषदका महत्वपूर्ण सदस्य हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भाजपाका पूर्व अध्यक्ष गडकरी सडक, पानीजहाज, जलस्रोत, नदी विकासमन्त्री रहेका छन्। त्यसैगरी पेट्रोल मन्त्री धमेन्द्र प्रधान मन्त्रीमा दोहोरिन सक्ने बताइएको छ।मोदीलाई दोस्रो पटक सत्तामा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने महाराष्ट्र, बिहार, उत्तर प्रदेश, हरियाणा, दिल्ली, राजस्थान, मध्यप्रदेश, पश्चिम बंगाल र उडिसाका सांसदहरुले मन्त्री हुने बताइएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु