पाँचथर हत्या प्रकरण : अनुसन्धानका लागि सीआईबीका एसपी नेतृत्वको टोली प्रस्थान

काठमाडाैँ । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गएराति २ परिवारका ९ जनाको विभत्स हत्याको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूराे सीआईबीको टोली त्यसतर्फ प्रस्थान गरेको छ । सीआईबीका एसपी उमा चतुर्वेदीको नेतृत्वमा एक इन्सपेक्टर र एक जुनियर प्रहरी अधिकृतको टोली पाँचथर प्रस्थान गरेको हो ।

घटनाको अनुसन्धान गर्न संघीय इकाइ प्रहरी कार्यालय कोसीका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलतर्फ गइसकेको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।

उता प्रदेश १ का डिआइजी केदार रिजाल पनि घटनास्थलतर्फ जाने तयारीमा रहेका छ । अनुसन्धानमा कुनै कसर बाँकी नराख्न भन्दै सम्पूर्ण नाकाहरु शिल गरेर प्रहरीले अभियुक्तको खोजी सुरु गरिसकेको जनाएको छ।

गतराति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। धनराजको परिवारका ५ जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका ४ जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्थामा भेटिएको छ ।

३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स तरिकाले हत्या भएको हो।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु