दिव्य धर्म सभाको तयारी गरेका श्रीनिवास प्रशासनसँग किन सशंकित छन् ?

काठमाडौं । सनातन युवा मञ्च नेपालले ६ जेठमा सुनसरीको इटहरीमा गर्न लागेको दिव्य धर्मसभा अघि प्रशासनले विथोल्नका लागि आफूलाई पक्राउ गर्न सक्ने धर्मगुरु श्रीनिवास आचार्यको आशंका छ । सनातन हिन्दु धर्म मास्दै क्रिश्चियानीटिको प्रचार भइरहेको भन्दै उक्त सभा आचार्यकै अगुवाईमा हुन लागेको हो । उनीविरुद्धको मुद्दा अझै कायम रहेका कारण त्यसैलाई कारण बनाएर प्रशासनले सो धर्मसभा विथोल्न सक्ने उनको आशंका हो ।

एक वर्षअघि धार्मिक सद्भाव बिथोल्ने नियतले आफैंलाई गोली हान्न लगाएको अभियोगमा पक्राउ परेका उनी सहयोगीको बयानका कारण हिरासतमा पुगेका थिए । ‘श्रीनिवासकै योजनामा गोली हानेका हौं’ भनेर बयान दिनेहरुले बयान फेरेपछि श्रीनिवास एक अभियोगबाट उम्के । अवैध हतियारसम्बन्धी मुद्दा भने जिल्ला अदालत मोरङमा अझै छ । यसै कारण पनि पक्राउ गरी प्रशासनले धर्मसभा रोक्न सक्ने उनको चिन्ता हो ।

जिल्ला प्रहरी कार्यालय मोरङको एक फौजदारी मुद्दाको अभिलेखमा दिनेशप्रसाद पण्डित अर्थात् श्रीनिवासाचार्य नाम अहिले पनि छ । उनको स्थायी घर हो, बारा जिल्लाको सिमरा जीतपुर वडा नम्बर– ३ । उनीविरुद्धको अभियोग छ– ज्यान मार्ने उद्योग र अवैध हातहतियार र खरखजना ।

प्रहरीको पछिल्लो अभिलेखमा उनी जिल्ला अदालत मोरङका न्यायाधीश नवराज दाहालको इजलासबाट ज्यान मार्ने उद्योगमा १६ जेठ २०७५ मा पुर्पक्षका लागि विराटनगर कारागार चलान भएका देखिन्छ ।

दिनेशप्रसाद पण्डित अहिले स्वतन्त्र रूपमा हिन्दु राज्यको पक्षमा खुलेर लागेका छन् । फौजदारी अभियुक्त दिनेशप्रसाद पण्डित उर्फ युवा सन्त श्रीनिवासचार्यले एक मुद्दामा सफाइ पाए पनि उनीविरुद्धको अर्को मुद्दा कायमै रहेका कारण चिन्तित बनेका हुन् ।

उनले केही दिनअघि पत्रकार सम्मेलन गरेरे ‘धर्मिक सभा अहिंसात्मक र शान्तिवादी रहने’ भनेका थिए । विराटनगरको जतुवास्थित रामजनकी मन्दिरमा धार्मिक प्रवचन गर्न पुगेका श्रीनिवासचार्यमाथि २५ चैत, २०७४ मा राती २ बजे छातीको दाहिने भागमा बन्दुकको गोली हानिएको थियो ।

उपचारका क्रममा न्युरो अस्पतालमा उनलाई भेट्नका लागि पूर्वयुवराज पारस शाह, अभिनेत्री मनिषा कोइराला, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसहित पुगेका थिए ।

श्रीनिवासाचार्यका सहयोगीहरू नवलपरासी गैँडाकोट घर भएका खान र सन्तोष भनिने लक्ष्मीराज अधिकारी, चितवन भरतपुर घर भएका काले रोशन भनिने माधव चौधरी, सुनसरी धरान घर भएका माता पद्मश्री भनिने सनम ढुङ्गाना र सिन्धुपाल्चोक घर भएका चिरणप्रताप थापालाई पक्राउ गरी अनुसन्धान भएको थियो । उनीहरूकै बयानका आधारमा आचार्य आफैं फँसेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु