सवारी चालकलाई ‘मापसे’,सँगै अब ‘लापसे’ जाँच, यसरी गरिन्छ परिक्षण

काठमाडौं । मादक पदार्थसँगै लागुऔषध प्रयोग गरेर पनि सवारी चलाउने क्रम बढेपछि लागुपदार्थ सेवन जाँच सुरु गरिएको छ । प्रदेश २ प्रहरीले मादक पदार्थ सेवन (मापसे) का साथै लागुपदार्थ सेवन गरेर सवारी चलाए नचलाएको जाँच गर्न लापसे अभियान थालेको हो ।

लागुऔषध प्रयोग गरे- नगरेकोबारे जाँच पिसाब मार्फत गरिने प्रहरीले जनाएको छ । बारामा ५३ जना र सप्तरीमा १० जना सवारी चालकको पिसाब परीक्षण गरिएको छ । यस क्रममा दुई जनाले लागुऔषध गाँजा प्रयोग गरेको फेला परेको जनाईएको छ ।

यसरी गरिन्छ पिसाबको जाँच
नार्कोनन नामक संस्थाले ड्रग यूरिन टेस्ट किट प्रदेश २ प्रहरी कार्यालय बारा पथलैयालाई उपलब्ध गराएको थियो । यो किटको प्रयोग गरी लागुऔषध प्रयोग गरे-नगरेकोबारे जाँच गरिएको छ । जाँचका क्रममा सवारी चालकहरुलाई एउटा सानो डिब्बा दिँदै त्यसमा पिसाब भरेर ल्याउन भनिन्छ । ल्याइएको पिसाब किटमा राखेपछि लागुऔषध प्रयोग गरे-नगरेको थाहा हुन्छ । मादक पदार्थ सेवन गर्दा समातिने डर भए पछि चालकहरूले लागु पदार्थ सेवन गर्न थालेको प्रहरीको भनाइ छ।

प्रहरीको अनुसार लागु पदार्थ सेवन गरी तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भई थुप्रै युवाको ज्यान गएकाले पनि दुर्घटना न्यूनीकरण गर्न मापसे र लापसे जाँच एकैसाथ गर्न थालिएको हो। ब्रेथलाईजरबाट मापसे जाँचसँगै प्रहरी प्रधान कार्यालयसँग समन्वय गरेर ड्रग युरिन टेस्ट किटबाट जाँच गर्दा चालकहरूले लागु पदार्थ सेवन गरेको पत्ता लगाउन सकिएको प्रहरीले बताएका छन् ।

कार्यालयले मापसे र लापसेसँगसँगै पहिलेदेखि गर्दै आएका सवारी चालकको आँखा, रक्तचाप, सवारीको अवस्थाको समेत चेकजाँच गर्दै आएको छ। दुर्घटना न्यूनीकरण गर्न यस अभियानलाई प्रदेश नम्बर २ को विभिन्न जिल्लाका सडकमा विस्तार गरेर निरन्तरता दिने योजना रहे पनि किट महँगो पर्ने हुँदा दीर्घकालीन रूपमा सञ्चालन गर्न चुनौती रहेको कार्यालयले जनाएको छ।

यसअघि सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पोखरामा प्रहरीले गाँजा सेवन गरे नगरेको पनि जाँच गर्ने कार्यक्रम सुरु गरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीले पोमनपा-२७ स्थित डाँडाकोनाकमा पृथ्वीराजमार्गमा लामो तथा मध्यम दुरीमा चल्ने सार्वजनिक सवारी साधनको चालकहरू परिक्षण गरेको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु