एकता सन्देश दिन अध्यक्षद्वय भट्टराई र यादव देशको ८ शहरमा, यस्तो छ कार्यक्रम तालिका

काठमाडौं  । समाजवादी पार्टी, नेपालले पार्टी एकताको सन्देश दिन र अगुवा नेतृत्वलाई प्रभावकारी बनाउन देशको आठ वटा शहरमा भव्य कार्यक्रम गर्ने निर्णय गरेको छ ।पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहीबार बसेको पहिलो पदाधिकारी बैठकले अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले आठ वटै शहरमा संयुक्त रुपमा सम्बोधन गर्ने गरी कार्यक्रम तय गरेको केन्द्रीय सचिव प्रकाश अधिकारीले जानकारी दिए ।

यही वैशाख २३ गते संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकीकरण भई नवगठित समाजवादी पार्टी नेपालले राष्ट्रिय जनता पार्टी (राजपा) सहित विचार र सिद्धान्त मिल्ने दल एवं संगठनहरूलाई एकताको लागि अपील समेत गरेको छ ।

यसका साथै दुवै पार्टीको केन्द्रदेखि स्थानीय वडासम्मै एकीकरण प्रक्रिया टुंगो लगाउन पाँचदिनभित्र समायोजन निर्देशिका तयार गर्न समिति गठन गरेको छ ।

पार्टी एकीकरणपछि एकताको सन्देश प्रवाह गर्न केन्द्रीयस्तरबाट पहिलो पटक आयोजना हुन लागेको कार्यक्रम जेष्ठ ११ गते पूर्वको विराटनगरबाट शुभारम्भ भएर पश्चिमको धनगढी हुँदै जेष्ठ २५ गते पोखरामा समापन हुनेछ ।

कार्यक्रम तालिका अनुसार आगामी जेष्ठ ११ गते विराटनगर, १२ गते जनकपुर, १३ गते वीरगंज, १७ गते भैरहवा, १८ गते नेपालगंज, १९ गते सुर्खेत, २१ गते धनगढी र २५ गते पोखरामा सम्बोधन गरी कार्यक्रम सम्पन्न हुनेछ ।

सो कार्यक्रममा नगरपालिका एवं गाउपालिकाका अध्यक्षहरू, प्रदेश समितिका पदाधिकारी, प्रदेशस्थित भ्रातृ संगठनका पदाधिकारी, जिल्ला समन्वय समितिका संयोजक एवं इन्चार्ज तथा पार्टी केन्द्रीय समस्यहरूको सहभागिता रहनेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु