किन भए नयाँ शक्ति बनाउने अभियानमा लागेका बाबुराम फोरममा विलय ? कसको अधिकार कति ?

काठमाडौं । सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकीकरण भएको छ । सोमबार प्रज्ञा भवनमा आयोजित एक विशेष कार्यक्रमका बीच दुई पार्टीबीच एकता भएको हो । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराई र फोरम अध्यक्ष उपेन्द्र यादवले ९ बुँदे आधार पत्रमा हस्ताक्षर गरेका छन् । यो एकतासँगै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको आफैंले नयाँ शक्ति बनाउने तीन वर्ष लामो अभियान पनि सकिएको छ। यादवसँग कोपाइलट भएर नयाँ बनेको समाजवादी पार्टी नेपालको जहाजमार्फत भट्टराईले अबको यात्रा तय गर्नेछन्। सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकीकरणका सन्दर्भमा निम्न सहमति भएको छ ।

के छ ९ बुँदे आधारपत्रमा

१. नेपालको राजनीतिक क्षितिजमा सङ्घीयता र समाजवादको सिद्धान्तमा स्थापित सङ्घीय समाजवादी फोरम, नेपाल र संविधान घोषणापश्चात् प्रगतिशील लोकतान्त्रिक शक्तिको रूपमा स्थापित नयाँ शक्ति पार्टी, नेपालबीच एकीकरण गरी समाजवादी पार्टी, नेपाल स्थापना गरिएको छ । यस अवसरमा हामी नेपालको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक न्यायका लागि भएका सबै जनआन्दोलन, जनयुद्ध, मधेस जनविद्रोह तथा पहिचान र अधिकारका लागि भएका आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । यसक्रममा बेपत्ता, घाइते, काराबास तथा शहीद परिवारलगायतका योगदान सबैप्रति उच्च सम्मान प्रकट गर्दछौं ।
२. समाजवादी पार्टी, नेपालको राजनीतिक कार्यदिशा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्नु हुनेछ । यसका लागि जनसङ्घर्ष र संविधान संशोधनमार्फत् देशको प्रगतिशील रूपान्तरण, दीगो विकास र समतामूलक समृद्धिको बाटोमा अगाडी बढ्ने छ । हाम्रो लक्ष्य नेपाललाई सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, विभेदरहित, धर्मनिरपेक्ष, समृद्ध, सङ्घीय गणतन्त्रात्मक राज्यव्यवस्था स्थापित गर्नु हुनेछ ।
३. सङ्घीय समाजवादी फोरम, नेपालले अवलम्बन गरिआएको सङ्घीय समाजवाद र नयाँ शक्ति पार्टी, नेपालले अवलम्बन गर्दै आएको सम्मुनत समाजवादको आधारमा सम्मुनत सङ्घीय समाजवादको सिद्धान्त अगाडि सारेका छौँ । विश्वमा सङ्घीयता र समाजवादका विभिन्न प्रारूपहरू छन् । यसलाई नेपाली समाजको विशिष्ट स्थिति, जनताको चेतना र विचारधारात्मक तथा सांस्कृतिक स्तरको उन्नयनसँगै सम्मुनत गर्दै लगिने भएकाले सम्मुन्नत सङ्घीय समाजवाद भनिएको छ ।
४. उपयुक्त सैद्धान्तिक– वैचारिक मान्यताको आधारमा यसले राजनीतिक क्षेत्रमा जनताको सार्वभौमिकता, नागरिक स्वतन्त्रता, बहुलतायुक्त खुल्ला समाज, बालिग मताधिकार, आवधिक निर्वाचन, विधिको शासन, प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था, संवैधानिक तथा कानुनी राज्य, मौलिक एवम् मानव अधिकार, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता जस्ता लोकतन्त्रका साश्वत मूल्य र मान्यताहरू सबै आत्मसात गर्नेछ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदमा आधारित शासकीय प्रणाली अपनाइनेछ ।
त्यसको अलावा यस कार्यक्रमका मौलिक विशेषताहरू निम्नानुसार हुनेछन् – १. राष्ट्रिय स्वाधीनता, २. सङ्घीय शासन, ३. समाजवादी व्यवस्था, ४. सहभागितामूलक समावेशी लोकतन्त्र, ५. राष्ट्रिय पहिचान, ६. सामाजिक न्याय, ७. समतामूलक समृद्वि, ८. लोक कल्याणकारी राज्य र सामाजिक सुरक्षा, ९. सुशासन र सदाचार, १०. समानुपातिक समावेशीकरण, ११. स्वशासन तथा स्वायत्तता, १२. सांस्कृतिक बहुलता, १३. समानुपातिक निर्वाचन प्रणाली, १४. पर्यावरणीय सन्तुलन र १५. बहुलतायुक्त समाज र राष्ट्रिय एकता ।
५. हामी नेपाललाई साँचो अर्थमा सङ्घीय राज्य बनाउन प्रतिबद्ध छौं । यसकानिम्ति संविधानसभाद्वारा गठित उच्चस्तरीय राज्य पुनर्संरचना सुझाव आयोगको प्रतिवेदनको आधारमा संविधान संशोधन गरी १०ं१ प्रदेशहरुको रचना गरिनुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ ।
६. नेपालका सबै अल्पसंख्यक, सीमान्तकृत तथा राष्ट्रिय समुदायहरु मधेशी, आदीवासी, जनजाती, शिल्पी-दलित, खस, मुस्लिम, थारु, महिलालगायतको राष्ट्रिय सवालहरु सम्बोधन गर्न पार्टी प्रतिवद्ध छ । नेपालमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गिय असमानता र विभेद अन्त्य गरी स्वतन्त्रता, समानता, सामाजिक न्याय र सामाजिक सुरक्षासहितको समाज व्यवस्था निर्माण गरिनेछ ।
७. नेपालमा विद्यमान पिछडिएको उत्पादन सम्बन्धको अन्त्य गरी आर्थिक विकास र समृद्धिको ठोस कार्ययोजना लागू गरिनेछ । समतामुलक समृद्धि, समन्यायिक वितरण, दिगो विकास र मानवीय खुसी समृद्धिका आयाम हुनेछन् । देशमा विद्यमान चरम भ्रष्टाचार, आर्थिक अनियमितता, अपारदर्शिता र लुटतन्त्रको समूल अन्त्य गर्दै सुशासनयुक्त राज्य व्यवस्था स्थापना गरिनेछ । कर्मचारी तन्त्रको पुनर्गठन र सम्बद्ध सैद्धान्तिक निकायहरुको सवलीकरण गरिनेछ ।
८. सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपाल आजकै मितिदेखि विघटन गरी समाजवादी पार्टी, नेपाल घोषणा गरेका छौँ । यसलाई दल दर्ता सम्बन्धी ऐनबमोजिम निर्वाचन आयोगमा दर्ता गरिनेछ ।
९.यो एकीकरणबाट नेपालमा नयाँ वैकल्पीक राजनीतिक शक्तिको उदय भएको छ । सङ्घीयता, सुशासन, समृद्धि र समाजवादलाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुवीकरण अत्यावश्यक छ । अतः नयाँ राजनीतिक शक्ति निर्माणको यस महान् अभियानमा सामेल हुन सम्पूर्ण लोकतान्त्रिक, प्रगतिशील तथा समाजवादी शक्ति, समूह, व्यक्ति–व्यक्तित्वहरुमा हार्दिक आव्हान गर्दछौं ।

उपेन्द्र यादव डा. बाबुराम भट्टराई
अध्यक्ष, सङ्घीय समाजवादी फोरम, नेपाल संयोजक, नयाँ शक्ति पार्टी, नेपाल

यस्तो छ केन्द्रीय समितिको संरचना
१. सङ्घीय परिषदको बैठक नभएको बेला केन्द्रीय समिति सर्वोच्च कार्यकारी निकाय हुने छ । यो समिति महाधिवेशन र सङ्घीय परिषदप्रति उत्तरदायी रहने छ ।
२. केन्द्रीय समितिमा देहाय बमोजिम पदाधिकारी र सदस्यहरू हुने छन ्।
(क) सङ्घीय परिषद अध्यक्ष– १, केन्द्रीय समिति अध्यक्ष– १, वरिष्ठ नेता– १, सहअध्यक्ष– १, उपाध्यक्ष– ८, महासचिव– ३, उपमहासचिव– ३, सचिव– ६, कोषाध्यक्ष– १ सहित २५ जना र पार्टी एकीकरणको बेला समाहित केन्द्रीय सदस्यहरू ।
(ख) सङ्घीय÷केन्द्रीय निकायका पदेन सदस्यहरू ।
(ग) केन्द्रिय समितिको निर्वाचन गर्दा नेपालका मुख्य जातीय÷सामुदायीक समुहहरू मधेसी, थारु, आदिवासी जनजाति,महिला,दलित(शिल्पी),खस,आर्य,मुस्लिम लगायतका अल्पसङ्ख्यक एवं सिमान्तकृत तथा लोपोन्मुख समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चित गरिने छ ।
(घ) सामान्यत समानुपातिक समावेशी प्रतिनिधित्वको प्रयोजनका लागि निर्वाचित तथा पदेन सदस्य सङ्ख्याको १० प्रतिशतभन्दा बढी नहुने गरी केन्द्रीय समितिबाट मनोनित सदस्यहरू रहने छन् ।
३ संक्रमणकालको अवधिकालागि पार्टी एकता र समायोजनको प्रकृयालाई ध्यानमा राखी आगामि महाधिवेशनप्रति उत्तरदायी हुने गरी केन्द्रीय समितिले आवश्यक निर्णयहरू लिन सक्ने छ ।

केन्द्रीय समितिका काम कर्तव्य र अधिकार
(१) आफू मध्येबाट राजनीतिक समितिको निर्वाचन गर्ने तथा कार्यकारीणि समिति गठन गर्ने,
(२) केन्द्रिय सल्लाहकार समिति, सङ्घीय अनुशासन आयोग, सङ्घीय लेखा परीक्षण आयोग तथा सङ्घीय निर्वाचन आयोगका प्रमुख तथा सदस्यहरू चयन गर्ने ।
(३) केन्द्रीय समितिका सदस्यहरूको कार्य विभाजन गर्ने तथा तोकिए बमोजिम केन्द्रीय विभाग, केन्द्रीय संयन्त्र एवम् कार्यदलहरू गठन गर्ने ।
(४) महाधिवेशनका निर्णयहरू कार्यान्वयन गर्न योजना बनाउने,
(५) तोकिए बमोजिम पार्टी कोषको सञ्चालन गर्ने,
(६) आफ्नो समितिको नियमित बैठकको आयोजना गर्ने तथा समसामयिक राष्ट्रिय अन्तराष्ट्रिय विषयहरूमा आफ्नो दृष्टिकोण स्पष्ट पार्ने,
(७) विधान बमोजिम महाधिवेशन र सङ्घीय परिषदको बैठक आयोजना गर्ने र त्यसका लागि आवश्यक वैचारिक, राजनीतिक, आर्थिक तथा अन्य आवश्यक दस्तावेजहरू तयार गर्ने,
(८) केन्द्रीय सङ्गठन विभागले छानबीन गरी पेस गरेका कारबाही सिफारिस उपर आवश्यक निर्णय गर्ने,
(९) प्रदेश समितिहरूको कामको समन्वय, निरिक्षण र अनुगमन तथा जनसङ्गठनहरूको कार्यहरूको सुपरिवेक्षण तथा मूल्याङ्कन गर्ने,
(१०) पार्टीको सिद्धान्त र बिचार मिल्ने दलहरूसँग पार्टी एकता तथा एकीकरणलाई अगाडि बढाउन आवश्यक निर्णय गर्ने, पार्टीका तात्कालिक एजेण्डासँग सहमत पार्टी र शक्तिहरूसँगको संयुक्त मोर्चा र कार्यगत एकतालाई अगाडि बढाउने,
(११) केन्द्रीय समितिले आवश्यकता ठानेमा नेपाली क्रान्तिमा योगदान पुर्‍याएका कुनै पनि केन्द्रीय सदस्यलाई क्रान्ति योद्धाको रूपमा सम्मानित गर्न सक्ने ।
(१२) पार्टीको तर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने र आवश्यकता अनुसार प्रतिनिधित्व गराउने,
(१३) कुनै पनि कारणले पद रिक्त हुन आएमा अर्को निर्वाचन नभएसम्मका लागि सो पदपूर्ति गर्ने,
(१४) विधानमा तोकिएका अन्य कामहरू गर्ने,

नवगठित समाजवादी पार्टी, नेपालको विधानको धारा १८ मा पदाधिकारीको काम, कर्तव्य र अधिकार तोकिएको छ । उक्त विधानलाई तोकेर संघीय परिषदका अध्यक्ष डा. भट्टराईले के के गर्न पाउँछन् ? प्राप्त विधानका अनुसार भट्टराईका लागि ९ वटा काम, कर्तव्य र अधिकार उपलब्ध छ ।

केन्द्रीय समिति बाहेकका अन्य ६ वटा केन्द्रीय निकायहरुको संयोजन गर्ने जिम्मेवारी संघीय परिषद् अध्यक्षलाई दिइएको छ । तर, यी सबै निकायहरु भने केन्द्रीय समितिले बनाउनेछ ।

यस्तो छ सङ्घीय परिषद अध्यक्षको काम, कर्तव्य र अधिकार-

(क) सङ्घीय परिषदको अध्यक्षको हैसियतमा पार्टी कामको नेतृत्व गर्ने,
(ख) पार्टीको केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग तथा केन्द्रीय विज्ञ परिषद लगायत सबै सङ्घीय/केन्द्रीय निकायहरूको संयोजन गर्ने,
(ग) पार्टीको नीति निर्माणमा भूमिका निर्वाह गर्ने,
(घ) राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पार्टीको सम्बन्ध र प्रतिष्ठा बढाउन आवश्यक पहल गर्ने,
(ङ) देशमा क्रियाशील विभिन्न राजनीतिक दलहरूबीच सहकार्य र ध्रुवीकरणको पहल गर्ने,
(च) पार्टी एकतालाई मजबुत बनाउन पार्टीभित्रका समस्याहरू समाधान गर्न पहल गर्ने,
(छ) पार्टीका नीति निर्णयहरू कार्यान्वयनको समन्वय, निरीक्षण र अनुगमन गर्ने,
(ज) पार्टीका विभिन्न निकायहरूबीच नियन्त्रण र सन्तुलन कायम गर्ने,
(झ) विधान अन्तर्गतका आवश्यक अन्य कार्यहरू गर्ने ।

यी अधिकारहरु हेर्दा नयाँ पार्टीमा शक्ति पृथकीकरणको राम्रो व्यवस्था देखिन्छ । लोकतन्त्रको लोकतान्त्रिकरणको बहस चलिरहेको बेला अधिकारको वितरण राम्रो देखिए पनि यसको नतिजा भने अभ्यासको क्रममा देखिनुपर्छ । असल नतिजाको लागि अध्यक्षद्वयले उच्च र उन्नत राजनीतिक संस्कार देखाउनुपर्ने देखिन्छ ।

अब आउनुहोस् केन्द्रीय समितिका अध्यक्षको अधिकारबारे चर्चा गरौं । केन्द्रीय समितिका अध्यक्ष अर्थात् उपेन्द्र यादवलाई विधानले ११ वटा अधिकारहरु दिएका छन् ।

हेरौं उनका काम, कर्तव्य र अधिकारहरु-
(क) पार्टी प्रमुखको रूपमा पार्टीको समग्र कामको नेतृत्व गर्ने,
(ख) महाधिवेशन, केन्द्रीय समिति, राजनीतिक समिति र कार्यकारीणी समितिको बैठकको अध्यक्षता गर्ने,
(ग) पार्टीका बैठकहरूमा कार्यसूची प्रस्तुत गर्ने, नीति निर्माणमा भुमिका खोल्ने र पार्टी निर्णयहरू कार्यान्वयन गर्ने गराउने,
(घ) आफूमा निहित अधिकार सहअध्यक्ष तथा उपाध्यक्षहरूमा प्रत्यायोजन गर्ने,
(ङ) मुख्य प्रवक्ताको रूपमा पार्टीको प्रतिनिधित्व गर्ने तथा आवश्यकता परे पार्टीका पदाधिकारीहरू मध्येबाट प्रवक्ता तोक्ने,
(च) पार्टीको तर्फबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा आवश्यकता अनुसार प्रतिनिधित्व गर्ने र गर्न लगाउने,
(छ) मातहतका समितिहरूलाई परिचालन तथा आवश्यक निर्देशन दिने,
(ज) केन्द्रीय निकायहरू र केन्द्रीय स्तरबाट सम्पन्न हुने कामहरूको समन्वय, निरीक्षण र अनुगमन गर्ने,
(झ) महाधिवेशन, केन्द्रीय समिति, राजनीतिक समिति र कार्यकारीणी समितिका निर्णयहरू प्रमाणित गर्ने,
(ञ) केन्द्रीय समितिका सदस्यहरूको राजीनामा स्वीकृत गर्ने ।
(ट) विधान अन्तर्गतका आवश्यक अन्य कार्यहरू गर्ने ।

Comments

comments

सम्बन्धित शिर्षकहरु