राजपाको महाधिवेशन फेरि सर्‍यो

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) ले आगामी २८, २९ र ३० कातिकमा एकता महाधिवेशन गर्ने निर्णय गरेको छ । राजपाले यसअघि पनि पटकपटक महाधिवेशन गर्ने मिति तोक्दै आए पनि निर्धारित समयमा महाधिवेशन हुन नसकेपछि स्थगित गर्दै आएको थियो । राजपा नेपालको केन्द्रीय कार्यालय बबरमहलस्थित मधेस भवनमा सम्पन्न पदाधिकारी बैठकले कात्तिकमा महाधिवेशन गर्ने निर्णय गरे पनि कुन ठाउँमा गर्ने त्यसबारेमा केही खुलाएको छैन ।

राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले पदाधिकारी बैठकले प्रस्ताव गरे अनुसार कातिकमा महाधिवेशन गर्ने निर्णय भएको जनाएका छन् । ७ वैशाख २०७४ मा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका विभिन्न ६ मधेसवादी दलबीच एकीकरण भई राजपा नेपालको घोषणा भएको थियो । एक वर्षमा एकता महाधिवेशन गर्ने भनिए पनि मिति तोक्ने तर तोकिएको मितिमा महाधिवेशन नगरी स्थगित गरेपछि पदाधिकारी बैठकमा अध्यक्ष मण्डलको चर्को आलोचना हुँदै आएको छ ।

एकता घोषणाका क्रममा एक वर्षभित्रै एकता महाधिवेशन गर्ने प्रतिबद्धता नेताहरूले जनाए पनि दुई वर्ष बितिसक्दा समेत महाधिवेशन हुन नसक्दा पार्टीभित्र तीव्र असन्तुष्टि बढ्दै आएको हो ।राजपा नेपालका महासचिव केशव झाले पार्टीका पूर्वसंयोजक महन्थ ठाकुरको संयोजकत्वमा केन्द्रीय पदाधिकारी सदस्य रहने गरी महाधिवेशन मूल आयोजक समिति गठन गर्ने निर्णय भएको जानकारी दिए । राजपा नेपालमा अहिले १३१ पदाधिकारी रहेका छन् । त्यसैगरी महाधिवेशनसम्बन्धी सम्पूर्ण निर्णय गर्ने अधिकार ठाकुरलाई नै दिइएको छ । यो समाचार आजको राजधानीमा छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु