नेकपाको एकता मापदण्डमा फेरबदल, यस्तो छ नयाँ मापदण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले एकताका लागि नयाँ मापदण्ड तय गरेको छ । आइतवारको सचिवालय बैठकले जनप्रतिनिधि बनेका पनि अध्यक्ष तथा सचिव बन्न पाउने, साविकका एमाले र माओवादी केन्द्रका जिल्ला कमिटीका प्रमुखहरु सम्बन्धित जिल्ला कमिटिका अध्यक्ष वा सचिवको जिम्मेवारी रहने मापदण्ड बनाएको छ ।

जिल्ला कमिटिको सदस्यमा विगतमा कार्यदलले सिफारिस गरेबमोजिमको सदस्य संख्या राख्ने र साविक जिल्ला कमिटीका सदस्यहरु रहने उल्लेख गरेको छ । यसैगरी सचिवालयले सदस्य सख्या थप गर्न मिल्ने समेत मापदण्डमा समावेश गरिएको छ । ‘कमिटिमा सदस्य सख्या थप्न मिल्ने अवस्था भएमा सम्बन्धित प्रदेश कमिटीले वरिष्ठ र सक्षम कमरेडहरु मध्येबाट थप्ने’, नेकपाद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘साविक जिल्ला कमिटिको सदस्या सख्या बढि भएमा सम्वन्धित प्रदेश कमिटीले साविक जिल्ला कमिटीका वरिष्ठ र सक्षम कमरेडहरुलाई जिल्ला कमिटीमा संगठित गर्ने ।’

नेकपाले सचिवालय र कार्यालय गठन गर्ने जिम्मेवारी सम्वन्धित जिल्ला कमिटीलाई नै दिएको छ । कमिटीले बरिष्ठता र क्षमताका आधारमा आफ्नो तहको सचिवालय र कार्यालय गठन गर्ने निर्णय गरेको हो । नेकपाले देशव्यापी रुपमा विशेष अभियान समेत संचालन गर्ने भएको छ । पार्टी र सरकारविरुद्ध विभिन्न शक्तिले भ्रम फैलाएको भन्दै त्यसलाई चिर्नका लागि देशव्यापी विशेष अभियान संचालन गर्ने भएका हुन् ।

‘सिङगो पार्टीपंक्ति र आमजनसमुदायलाई राष्ट्रव्यापी रुपमा परिचालति गर्न विशेष अभियान सञ्चालन गरिनेछ’ अध्यक्षद्धयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘पार्टीको नियमित कामलाई प्रभावकारी रुपमा सम्पादन गर्दै विशेष अभियानका लागि तयारी हालतमा रहन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्य कमरेडहरुलाई आह्वान गरिन्छ ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु