चर्चित तीन गुण्डा नाइके एउटै कारागारमा,ठेकेदार र व्यापारीमाथि निरन्तर धम्की

काठमाडौं । ज्यान मार्ने उद्योग, हातहतियार र लागूऔषध मुद्दामा सजाय भोगिरहेका चर्चित तीन गुण्डा नाइके यतिबेला एउटै कारागारमा छन् । ज्यान मार्ने उद्योगमा सजाय भोगिरहेका गुण्डा नाइके समिरमानसिंह बस्नेत, लागूऔषध र हातहतियार मुद्दाका अभियुक्त गुण्डा नाइके रमेश बाहुन र हत्या अभियोगमै सजाय भोगिरहेका रिगल भनिने योग ढकाल संयोगबस हो या योजना अनुसार हो यतिखेर केन्द्रीय कारागार सुन्धारामै छन् । यूनाइटेड पोस्ट दैनिकले समाचार छापेको छ ।

यी तीनै गुण्डा नाइकेले एउटै समूहमा रहेर अपराधको यात्रा सुरु गरेका थिए । केन्द्रीय कारागारको गोलघरमा बस्नेत र ढकाललाई राखिएको छ भने बाहुनलाई गोलघर बाहिर राखिएको छ । यी तीन गुण्डा नाइके एउटै कारागारमा रहेकै बेला व्यापारी र ठेकेदारहरुलाई निरन्तर धम्की आउन थालेपछि उनीहरु योजना अनुसार नै एउटै कारागारमा बसेका त होइनन् भन्ने प्रश्न उठेको छ ।

प्रहरीका अनुसार तीनै जना गुण्डा नाइके ठेक्कापट्टा र अबैध असुलीका मास्टर माइन्ड हुन् । प्रहरी स्रोतका अनुसार निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह, पूर्व अध्यक्ष जयराम लामिछानेलगायतका ठेकेदार र अन्य व्यवसायीहरुमाथि बस्नेत, बाहुन र ढकाल समूहको नामबाट रकम माग गर्दै धम्की आउन थालेसँगै महानगरिय अपराध महाशाखाले गोप्य रुपमा उनीहरुका क्रियाकलापमाथि निगरानी गरेको छ ।

भारत र दुबईबाट इन्टरनेट कलमार्फत उनीहरुका सदस्यहरुले धम्की दिंदै रकम माग गरिरहेको एक पीडित व्यवसायी बताउँछन् ।

गुण्डा नाइके बस्नेत निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन र रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारी हत्याका मुख्य योजनाकार हुन् ।

त्यस्तै, ललितपुरका डन मीनकृष्ण महर्जनमाथि गोली हानेको अभियोग लागेका गुण्डा नाइके बाहुनमाथि लागूऔषधको पनि मुद्दा छ । सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका रिगलले नेपालगञ्जको सुर्खेत रोडस्थित धम्बोझीचोकमा नेपालगन्ज–८ का चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले भारतबाट नेपाल ल्याएका बस्नेतलाई सुरुमा ललितपुरस्थित नख्खु कारागार चलान गरिएको थियो । प्रहरी इन्काउन्टरमा मारिएका रुपन्देहीका गुण्डा नाइके मनोज पुन उनका साथी समेत थिए ।

उच्च प्रहरी अधिकारीसँग निकट सम्बन्ध रहेका बस्नेतलाई हालका एआईजी पुष्कर कार्की सिआईबीको प्रमुख छँदा प्रहरीकै सेटिङमा भारतबाट नेपाल ल्याइएको थियो । बस्नेत प्रहरी इन्काउन्टरमै मारिएका गुण्डा नाइके कुमार श्रैष्ठ ‘घैंटे’ मित समेत हुन् । घैंटे मारिएपछि भागेर भारत पुगेका उनले त्यहिबाट असुली धन्दा चलाएका थिए ।

नख्खु कारागारमा आतंक सृजना गरेपछि बस्नेतलाई २०७५ असोजमा मुस्ताङ कारागार सरुवा गरिएको थियो । तर, बस्नेतलाई अपराधमा साथ दिंदै आएकी उनकै श्रीमती माया शेरचनले प्रहरीले इन्काउन्टर गर्न मुस्ताङ लैजान लागेको भन्दै मानवअधिकारबादी र कांग्रेस नेतामार्फत मिडियामा अफवाह समेत फैलाएकी थिइन् । सर्बोच्च अदालतमा श्रीमानको ज्यान जोगाई पाउँ भन्दै रिट दायर गरेपछि बस्नेतलाई मुस्ताङबाट फिर्ता ल्याई केन्द्रीय कारागार सुन्धारामा चलान गरिएको थियो ।

गौचनको हत्यापछि बस्नेतका सुटरहरु अम्बरबहादुर राना, लोप्साङ लामा, रोशन बुढाथोकी, अजय थापा र गंगा लिङ्देनलगायतका केहीलाई समेत काठमाडौंको बाफल स्थित समीरमानको पुरानो घरमा सेल्टल दिएर राखेको मायाँमाथि अभियोग लागेको थियो ।

अपराध योजना बनाउँदै गर्दा महानगरिय अपराध महाशाखाले राना, लामा र बुढाथोकीलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएर मुद्दा चलाईसकेको छ । लामा र बुढाथोकी पनि केन्द्रीय कारागारमै छन् भने राना नख्खुमा छन् ।

थापा र लिङ्देन भने अझै फरार छन् । यी सबैलाई हातहतियार दिनेदेखि आर्थिक सहयोग गर्ने बस्नेतकी श्रीमती मायालाई पनि प्रहरीले मुद्दा चलाएको थियो । तर, उनी धरौटीमा छुटिसकेकी छन् ।

प्रहरी स्रोतका अनुसार बस्नेतको थापा र लिङ्देनसँग अझै पनि सम्पर्क हुने गरेको छ । बस्नेतकै निर्देशनमा उनीहरुले ठेकेदार र व्यवसायीहरुलाई धम्क्याएर रकम असुल्दै आएका छन् ।

२०७३ चैत २९ गते बौद्ध गौरीघाटमा जिम गर्न जाँदै गर्दा गुण्डा नाइके दावा लामामाथि गोली हान्न र गौचनको हत्या गर्न समेत मायाले नै हतियार उपलब्ध गराएको राना, लामा र बुढाथोकीले प्रहरीलाई बयान दिएका थिए ।

त्यसैगरी भारतको लखनउस्थित भारतीय बिधायक बिनायक सिंहको घरबाट पक्राउ गरी नेपाल ल्याइएका गुण्डा नाइके रमेश बाहुनलाई २०७१ सालमा डिल्लीबजार जेलबाट दुई सातामै सुन्धारा लगेर गोलघरमा राखिएको थियो ।

जेलभित्रै समूह बनाएर अपराध गर्न सक्ने भन्दै बाहुनलाई गोलघरमा राखिएको भए पनि यतिबेला भने बाहिर राखेर जुम्ला कारागारबाट सरुवा गरी ल्याइएका रिगललाई गोलघर भित्र बस्नेतसँगै राखिएको छ । केन्द्रीय कारागारभित्र यी तीनै जना गुण्डा नाइके सँगै बस्न थालेपछि त्यहाँभित्र उनीहरुको राज नै चलेको छ ।

यतिसम्मकी केन्द्रीय कारागारको भवन मर्मतको ठेक्कामा बाहुनले श्रीमती कमला पौडेललाई ठेक्का पार्न लगाई काम गरिरहेका छन् । प्रहरीका अनुसार तीनै जना गुण्डा नाइकेले प्रयोग गर्ने सुटरहरु भने एउटै हुन् ।

ठेकेदारहरुको सूची बनाउनेमा बाहुन पोख्त मानिन्छन् भने असुलीमा बस्नेत र ढकाल मिलेर काम गर्दै आएका छन् । तर, प्रशासनले यी तीन गुण्डा नाइकेलाई छुट्टा छुट्टै नराखेर लामो समयसम्म एकै ठाउँमा राखेको खण्डमा ठूलो दुर्घटना हुन सक्ने खतरा समेत पैदा भएको प्रहरी अधिकारीहरु नै बताउँछन् ।

सम्बन्धित शिर्षकहरु