विद्यार्थी भर्ना अभियानबाट आजबाट शुरु, प्रदेश-२ मा धेरै बालबालिका विद्यालय बाहिर

काठमाडौं । हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याउँ भन्ने नाराका साथ मुलुकभर एकसाथ आज, विद्यार्थी भर्ना अभियानबाट सुरु भएको छ । बैशाख १४ गतेसम्म चल्ने अभियानमा संस्थागत र सामुदायिक दुबै तर्फ करीब १० लाख विद्यार्थी विद्यालयमा भर्ना हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव खगराज बरालका अनुसार कक्षा १ मा सो संख्यामा विद्यार्थीहरु भर्ना हुनेछन् । विद्यालय जान सक्ने उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना गराउने उद्देश्यका साथ हरेक वर्ष सरकारले भर्ना अभियान सञ्चालन गर्दै आएको छ । प्रदेश २ मा विद्यालय जाने उमेर समूहका अधिकांश बालबालिका विद्यालय बाहिर रहेको सरकारी तथ्यांक छ । अभिभावकमा चेतनाको कमीका कारण पनि विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय बाहिर रहेको सचिव बरालको भनाई छ ।

यसका लागि प्रदेश २ सरकारले विशेष किसिमको अभियान नै चलाउने भएको छ । हरेक स्थानीय तहमा जनप्रतिनिधिले विद्यालय बाहिर रहेका बालबालिकालाई खोजी भर्ना गराउने प्रदेश २ सरकारको तयारी रहेको शिक्षा विभाग निर्देशनालयका निर्देशक रमाकान्त शर्माले जानकारी दिनुभयो । गत वर्षको तथ्यांकले प्रदेश २ मा प्राथमिक तहका ४ दशमलव २ प्रतिशत विद्यार्थी विद्यालय बाहिर देखाएको थियो । सो उमेर समूहका सबै बालबालिका भर्ना गराउने स्थानीय तहलाई पुरस्कृत गर्ने समेत प्रदेश २ सरकारले उद्घोष गरीसकेको उहाँको भनाई छ ।

पछिल्लो समय भर्ना भइसकेका विद्यार्थी पनि विद्यालयमा टिक्न नसकेका धेरै उदाहरण छन् । गरिबीका कारण बाल श्रम गर्नुपर्ने, आफूभन्दा साना भाइबहिनी हेरेर अभिभावकलाई काममा पठाउनु पर्ने लगायत कारण पनि बीचमै विद्यालय छाड्नेको संख्या उच्च छ । सरकारले यस वर्षदेखि सुरु गरेको सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमले नियन्त्रणका लागि केही सहयोग पुग्ने सरकारको अपेक्षा छ ।

अझै पनि निम्न माध्यमिक तहमा ३७ प्रतिशत र माध्यमिक तहमा ४३ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको तथ्यांकले देखाएको थियो । भर्ना भन्दा पनि भर्ना भएकालाई विद्यालयमा टिकाई राख्नु बढी चुनौतीपूर्ण रहेको निर्देशक शर्माको भनाई छ । भर्ना अभियानको सम्पूर्ण व्यवस्थापन स्थानीय तहले आफै गर्नेछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु