फर्केर हेर्दा नेकपामा बर्ष २०७५: सुरुवातमा आएको खुसीयाली बर्षको अन्तिम निराश र तनावतिर

काठमाडौ । २०७५ सालको प्रारम्भमै दुई ठुला कम्यूनिष्ट पार्टीको एकताले कम्युनिष्टमा विश्वास गर्ने नेता, कार्यकर्ता र जनतामा निकै ठुलो आशा जागेको थियो । तर बर्षको अन्तिममा आउँदा आशा निराशामा परिणत हुँदै गएको छ । एकताले जन्माएको उत्साह अबसरमा बदल्न नसक्दा नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अलोकप्रिय मात्र बनेको छैन, कम्यूनिष्टप्रति नागरिकको विश्वास पनि कम हुँदै गएको विश्लेषण हुन थालेको छ । २०७५ सुरुवातमा आएको खुसीयाली बर्षको अन्तिमतिर निराश र तनावतिर गएको छ ।

लामो गृहकार्य भएपछि दुई ठुला कम्यूनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादीबीच २०७५ साल जेष्ठ ३ गते एक भए । उनीहरुको एकताले नेकपाले पुर्नजन्म लियो । पुष्पलालले निर्माण गरेको नेकपामै ठुला कम्युनिष्ट घटकहरु आइपुग्दा निकै ठुलो आशा पलाएको थियो । एकताको त्यो क्षण नेपालको राजनीतिक इतिहासमा निकै अर्थपूर्णरुपमा हेरिएको थियो । दुई ठुला कम्यूनिष्ट पार्टी एकताले इतिहाँसमै बलियो सरकार र दश लाख पार्टी सदस्य रहेको शक्तिशाली शक्ति बन्यो ।

सरकार र पार्टीबीच गजवको तालमेल भएर नेकपाका लाखौ कार्यकर्तालाई देशविकास र जनताको सेवामा लगाउने अवसर आएको थियो । तर, बर्षभरी पार्टी र सरकारबीच कहि पनि तालमेल देखिएन । सरकारका कैयौ निर्णयमा पार्टी नेता र कार्यकर्ताले विरोध गरे । सरकारका कामको अपनत्व महसुस गर्न सकेनन् ।

समाजवाद दिशामा अगाडि बढ्ने नेकपाको नीति तथा कार्यक्रम सरकारले पन्छाउन सकेन् । यसले २०७५ सालभर नेकपाभित्रको उर्जा र उत्साहलाई मार्दै लग्यो । यतिसम्म कि चुनावी घोषणापत्र अनुसार सरकार अगाडि बढ्न नसकेपछि जनस्तरबाटै आलोचना पनि भयो । देश र दुनियाँ बदल्ने सपना देखाउँदै जनतामा लोकप्रिय बनेको कम्यूनिष्ट पार्टीको सरकार आफैमा विवादीत मात्र भएन, युग परिवर्तन गर्ने सोचमा पनि खोट देखियो । नेकपाले एकातिर अवसर गुमायो भने अर्काेतिर पार्टीभित्र विवादैविवाद जन्मे । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका गतिविधिबिरुद्ध वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, बामदेव गौतम र भीम रावल लिखितरुपमै पार्टीभित्र उभिए ।

यो भन्दा ठूलो एकताको ११ महिना वित्दा पनि पार्टी संगठनका एकताका काम सकिएनन् । एकता भएका कमिटी पनि विवादमुक्त रहेनन् । एकताका विधि, प्रक्रिया र मापदण्ड भन्दा गटुगत भागबन्डालाई आधार गरियो । नेकपाका दश लाख नेता कार्यकर्ता बेरोजगार छन् । पार्टीले उनीहरुलाई जिम्मेवारी दिएको छैन् । केन्द्रीय तहका नेताले नै सडक छाप भइसकेका छन् । जिम्मेवारीविहीन नेता कार्यकर्ता न सरकारको बचाउनमा लाग्न सके नत प्रधानमन्त्रीले भनेजस्तै अरिंगाल बन्न सके ।

पार्टी कमिटीका बैठक बस्नै सकेका छैनन् । अध्यक्षद्धय ओली र प्रचण्डले शक्ति केन्द्रिकरण गरेको भनेर सचिवालयमै विरोध भयो । ओली र प्रचण्डबीच पनि आपसी विस्वासमा संकट देखा परेको छ भने माधव नेपालले समान्तर कमिटी बनाउने चेतावनी दिइसकेका छन् । आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री हुँदा पनि नेकपाका शीर्ष नेताहरुलाई सिंहदरवार र बालुवाटार विरानो लाग्न थालिसकेको छ ।

एक महिनाभित्र सङ्गठनात्मक एकीकरण सक्ने, वैचारिक र भावनात्मक एकता सुदृढ पार्ने, विशेष अभियान चलाउने,सबै सरकारको प्रभावकारी परिचालन गर्ने, समृद्धिको योजना बनाउने र सुशासन कायम गर्ने जस्ता महत्वाकाँक्षी योजनाहरु सार्थक बन्न सकेनन् । स्थायी कमिटी पनि निकम्वा सावित हुँदै गएको छ ।

२०७५ मा नेकपाले मानवीय क्षति पनि ब्यहोरेको छ । जनतामा आशलाग्दा अनुहार रविन्द्र अधिकारीको दुखद मृत्यु भएको छ भने नेपालमा कम्युनिष्टको शिर ठाडो पार्ने महान नेता भरतमोहन अधिकारीले धर्तिबाट विदा लिएका छन् ।

पार्टी एकताको काम लथालिंग भएको छ । ११ महिनासम्मको कसरत खेर गएको बेला बर्षको अन्तिमतिर दुई अध्यक्ष दुई सहकर्मीसहित चन्दागिरी पुगे । तरपनि एकताको निस्कर्ष निस्किन सकेको छैन । असन्तुष्टीको स्वर दैनिक बढ्दै गएको छ ।

नेकपामा २०७५ भित्र के भयो ?

२०७५ बैशाख ९ गते पार्टी एकता संयोजन समितिको बैठक
जेठ ३ गते मदन आश्रित स्मृति दिवसमा दुई पार्टीबीच एकीकरण
जेठ २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता
असार २ गते पहिलो स्थायी समितिको बैठक
साउन २४ बसेको सचिवालय बैठक ।
भदौ ८ र ९ गतेको स्थायी कमिटीको बैठक बोलाइएको भएपनि बिमस्टेक सम्मेलनलाई कारण देखाउँदै भदौ १९ र २० का लागि स्थगित ।
भदौ २२ अध्यक्ष पुष्पकमल दाहाल भारत भ्रमण जानु पर्ने भएपछि फेरी बैठक स्थगित
असोज ५ सचिवालय बैठक । सातै प्रदेशका इन्चार्ज र सह इन्चार्ज चयन । संंस्थागतरूपमा असन्तुष्टी शुरु ।
मंसिर १२ सचिवालय बैठक । असन्तुष्टिकै बीच प्रदेश सदस्यहरूको टुंगो ।
मंसिर २२ पार्टीका शीर्ष ४ नेताद्वारा सचिवालय बैठक बहिस्कार ।
मंसिर २९ देखि पुष १३ स्थायी कमिटी बैठक
मंसिर २९ स्थायी समिति बैठक । अध्यक्षको राजनीतिक प्रतिवेदनको काउन्टरमा बामदेव गौतमको फरक प्रतिवेदन प्रस्तुत ।
पुष १३ एकीकरणका काम सक्न सचिवालय रामबहादुर थापाको नेतृत्वमा ९ सदस्यीय कार्यदल गठन
फागुन ६ सांगठनिक एकताको लागि गठित कार्यदलद्वारा सचिवालय बैठकमा प्रतिवेदन पेश।
फागुन १२ कार्यदलका असन्तुष्ट ५ सदस्यद्वारा अध्यक्ष ओलीसमक्ष छुट्टै प्रतिवेदन पेश
चैत २९ चन्द्रागिरीमा दुई अध्यक्षबीच २३ घण्टा छलफल ।

Comments

comments

सम्बन्धित शिर्षकहरु