अष्ट्रेलियामा आमनिर्वाचन घोषणा,संसदीय चुनावको मिति तोकियो

अष्ट्रेलिया । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले एक महिनापछि मे १८ मा आमनिर्वाचन गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री मरिसनले आज बिहान केन्द्रीय निर्वाचनको मिती घोषणा गर्नु भएको हो । उहाँले गर्भनर जनरल कसग्रोभ संग भेट गर्दै निर्वाचन मितिका बारेमा जानकारी गराउनुभएको भएको थियो । सामान्यतयाः आइतबार घोषणा गर्ने गरिएको निर्वाचन यसपटक प्रधानमन्त्री मरिसनले त्यो परिपाटीलाई परिवर्तन गर्दै बिहीबार नै घोषणा गर्नु भएको हो । विगत केही दिनदेखि नै विपक्षी दल लेबरले आफू निर्वाचन मिति घोषणा गरिए जुनसुकै समयमा निर्वाचनमा जान तयार रहेको बताइरहेको थियो ।

मे १८ मा हुने निर्वाचनले ४६ औं संसदका लागि सरकार र सांसदहरुको छनौट गर्नेछ । संघीय राज्य संरचना प्रणाली अन्तर्गत चल्दै आएको अष्ट्रेलियाको केन्द्रीय तल्लो सदनमा १ सय ५० सिटको लागि मतदान हुनेछ भने माथिल्लो सदन सिनेटका लागि ७६ जना चयन हुनेछन् ।
बहुमतको सरकार निर्माणका लागि प्रत्यक्ष तर्फको मतदानमा ७६ सिटको आवश्यकता पर्नेछ ।

चुनाव सामान्यतया दुई पार्टीबीच निकै प्रतिस्पर्धी हुने गरेको छ । मत सर्वेक्षणहरुमा लिबरल पार्टीका नेता स्कट मरिसन र लेबर पार्टीका नेता बिल शोर्टेन दुबैको स्वीकार्य दर कम देखिएको छ । दुबै नेताले आमजनतालाई आफूतर्फ आकर्षित गर्न प्रयास गरिरहेका छन् ।

मरिसनले करिब एक वर्षअघि लिबरल पार्टीभित्र विद्रोह गरी प्रधानमन्त्री पदमा पुगेका हुन् । पार्टीका नरमपन्थी र राष्ट्रवादीहरुबीचको विभाजनलाई मत्थर बनाउनु पनि मरिसनका लागि अर्को चुनौती हो । उनले चुनावी प्रचारका क्रममा यो विभाजनलाई रोक्न प्रयास गरेको देखिएको छ । ‘हामी विश्वकै सबैभन्दा राम्रो देशमा बसोबास गरिरहेका छौं,’ मरिसनले क्यानबेरामा आयोजित समारोहमा चुनावको घोषणा गर्दै भने, ‘हाम्रो भविष्य बलियो अर्थतन्त्रमै टिक्नेछ ।’

चुनाव घोषणा नभए पनि अस्ट्रेलियामा चुनावी प्रचार अभियान शुरु भइसकेका छन् । अमेरिकामा झैं हप्तौंदेखि चुनावी विज्ञापनहरु देखिन थालिसकेका थिए ।

गत साता मरिसनको अल्पमतको सरकारले मतदातालाई प्रभावित तुल्याउन कर कटौतीको प्रस्ताव अघि सारेको थियो । लेबर पार्टी विजयी भएमा करका दर बढ्ने र आर्थिक वृद्धि कम हुने प्रधानमन्त्री मरिसन र उनको दलले आरोप लगाउँदै आएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु