भारतमा लोकसभा निर्वाचन: २० राज्यका ९१ सिटका लागि मतदान, को आउला सत्तामा ?

काठमाडौ । भारतमा लोकसभा निर्वाचनका लागि आजदेखि मतदान हुँदैछ । सात चरणमा सकिने निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कले भारतीय अखबारका पाना रङ्गिएका छन् । टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ्, कसैको पक्षमा सङ्लिएको देखिँदैन ।

यतिबेला भने सारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पाँच वर्षअघिका बाचा सम्झिएका छन् । उनले अघिल्लो चुनावमा अघि सारेका कामको लेखाजोखा गर्दैछन् । पहिलो निर्वाचनमा मानौँ कि भारतीय नेसनल कङ्ग्रेसकै कारण देशको विकास हुन नसकेको र भ्रष्टाचार मौलाएको टिप्पणी गर्ने मोदीको यो पूरा कार्यकाल के कसो भयो, उनका बाचा के कति पूरा भए, विपक्षी कङ्ग्रेस र अरु दलमाथि उनले अघिल्लो निर्वाचनमा लगाएका आरोप के कसरी प्रमाणित भए भन्ने हिसाब किताब अहिले जनताले मिडियामार्फत खोजिरहेका छन् । उनको कार्यकालको लेखाजोखा गर्दै जनताले सत्तामाथि औँला ठड्याइरहेका छन् ।

भारतमा १७ औं लोकसभाका लागि मतदान शुरु भएको छ। पहिलो चरणमा आज २० राज्यका ९१ सिटका लागि मतदान शुरु भएको हो । ९१ सिटका लागि १४ करोडबढी मतदाताले आज मतदान गर्दैछन् । जसमा १२ सय ७९ प्रत्यासीको भाग्यको फैसला हुनेछ । भारतीय समय अनुसार बिहान सात बजे मतदान शुरु भएको हो ।

आंध्र प्रदेशका सबै २५ लोकसभा सिट, तेलंगानाका १७, आसामका पाँच, बिहारका चार, ओडिशाका चार, छत्तीसगढका एक, जम्मू कश्मीरमा दुई, महाराष्ट्रका सात, अरुणाचलका दुई, मणिपुरका दुई, मेघालयका दुई, नागाल्याण्ड, मिजोरम, सिक्किम, त्रिपुराका एकएक, उत्तर प्रदेशमा आठ, उत्तराखण्डमा पाँच, अंडमान, निकोबार र लक्षद्वीपमा एकएक र पश्चिमबंगालका दुई सिमटमा मतदान हुँदैछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु