मेस्सीको फेरि अर्को अद्भुत प्रदर्शन, विपक्षी डिफेन्सलाई जिल्ल्याउने त्यो फ्री किक

काठमाडौं । लियोनेल मेस्सीको सबै खेल हेरिसकियो भन्नै हुँदैन, उनले फेरि अर्को अद्भुत प्रदर्शन गरिहाल्छन् । शनिवार इस्पान्योलविरुद्धको खेलमा बार्सिलोनाले अग्रता लिनका लागि संघर्ष गर्नुपर्‍यो र उसले ला लिगाको शीर्ष स्थानमा अझै फराकिलो अग्रता लिने अवसर गुमाउने सम्भावना बन्यो । क्याम्प नाओको अल्छीलाग्दो दिउँसोमा बार्सिलोना डर्बीमा गोलरहित बराबरी खेल्नमा सन्तुष्ट हुन्छ कि झैं देखियो । तर मेस्सीले यसमा सन्तुष्टि देखाउने कुरै थिएन ।

अन्तर्राष्ट्रिय ब्रेकमा खेलिएको अर्जेन्टिनाको खेलमा मेस्सी निराश हुनुपरेको भए पनि बार्सिलोनामा खेल्दा उनी बढी सहज देखिन्छन् । मेस्सीको अर्जेन्टिनालाई मड्रिडमा भेनेजुएलाले हराएको थियो र मोरक्कोविरुद्धको खेलमा उनी अर्जेन्टिनाको टोलीमा पर्न नचाहेपछि प्रशंसकहरूले उनीमाथि दुर्व्यवहार गरेका थिए ।

तर बार्सिलोनामा उनले ९२ हजारभन्दा बढी प्रशंसकबाट माया मात्र प्राप्त गरे । गोलपोस्टभन्दा २० यार्ड परबाट उनले बल हेरिरहँदा प्रशंसकहरूले उनलाई उत्साहित बनाएका थिए । त्यसअघि पाएको फ्रीकिकलाई भित्तामा ठोकाएपछि मेस्सीलाई अहिलेको अवसरलाई गोलमा परिणत गर्नुपर्छ भन्ने थाहा थियो । बार्सिलोनाले आफ्नो स्वाभाविक लयमा खेलिरहेको थिएन । खेलमा २० मिनेट बाँकी रहँदा महत्त्वपूर्ण खेल जित्ने यो उम्दा अवसर थियो । उनले त्यो अवसर छोपे ।

प्रशिक्षक अर्नेस्टो भाल्भेर्देले यो अत्यन्तै महत्त्वपूर्ण समय भएको र यसमा प्राप्त जीतले बार्सिलोनालाई उपाधि दिलाउन सक्ने कुरा बताएका थिए । यही एक हप्ताभित्र हिजो क्याटलन डर्बी खेलेको बार्सिलोनाले हप्ताको बीचमा स्पेनको पूर्वी तटमा भियारियलको सामना र सप्ताहान्तमा दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडलाई क्याम्प नाओमा स्वागत गर्नेछ । त्यसैले प्रशिक्षकले आफ्नो सबभन्दा बलियो टीम छाने अनि मेस्सी र लुइस सुआरेज विगत १५ दिनमा घाइते भएको भए पनि उनीहरूलाई खेल्न लगाए ।

बार्सिलोनाको उद्देश्य थाहा पाएका इस्पान्योल प्रशिक्षक रुबीले पाँचजना डिफेन्डर खटाए अनि उपाधि जित्न लागेको बार्सिलोनालाई गोलका लागि संघर्ष गर्न लगाए । यस्तो किसिमको खेलका लागि बार्सिलोनाले फिलिपे कउटिन्होलाई ल्याएको हो । विपक्षी टीमले डिफेन्स टाइट पारेर मैदानमा आफ्नो कुना ओगटेको बेलामा हल्का जादूमयी खेल देखाउनुपर्ने हुन्छ ।

ब्राजिली खेलाडी कउटिन्होसँग उक्त जादू भएको अपेक्षा गरिएको थियो । उनी बल छलाउँदै अगाडि बढाउने वा टाढाबाट शक्तिशाली प्रहार गरेर गोल गर्ने क्षमता राख्छन् । तर पूरै सीजनमा झैं यो खेल पनि उनका लागि अप्ठ्यारो रह्यो अनि सुआरेज पनि अन्तर्राष्ट्रिय ब्रेकपछि सुस्त देखिए ।

उरुग्वेली खेलाडी सुआरेज घुँडामा लागेको चोटका कारण देशका लागि खेल्न चीन गएका थिएनन् तर उनी यस खेलमा पनि तरोताजा देखिएनन् । उनी गोलपोस्ट अगाडि डिफेन्डरहरूमाझ अल्मलिइरहे ।

मेस्सीलाई इस्पान्योलको डिफेन्सले निकै घेरिरह्यो । उनीहरू मेस्सीलाई लडाउन पनि हिचकिचाएनन् र उनले राम्रै खेलिरहेको भए पनि एक हुल डिफेन्डरलाई जिल्ल्याउन उनलाई गाह्रो परेको थियो ।

खेलको ७१औं मिनेटमा मेस्सीले फ्रीकिक पाए । उनलाई बक्सको छेउमा भिक्टर सान्चेजले लडाएका थिए । मेस्सीले परिस्थितिको मूल्यांकन गर्दै नयाँ उपाय अपनाउने बारेमा सोचे ।

पानेन्का पेनाल्टीमा अपनाइने तरिका उपयोग गरेर मेस्सीले बल उचालेर डिफेन्सको पर्खालमाथि पुर्‍याए । इस्पान्योलको डिफेन्स यो देखेर झुक्कियो र सान्चेजले पछाडि गएर बल रोक्न खोज्दा पनि गोल भइहाल्यो ।

त्यसपछि इस्पान्योलको अवरोध भत्कियो र मेस्सीले माल्कमको क्रसमा लगत्तै अर्को गोल गरेर बार्सालाई २–० को जीत दिलाए ।

बर्सिलोनाले खासै राम्रो खेल देखाएको त हैन तर मेस्सीले सदा झैं राम्रो खेल देखाए । उनी डिफेन्सलाई रनभुल्ल पारिरहेका छन् र बार्सिलोनालाई उपाधि जिताउने बाटोमा अग्रसर छन् ।

गोल डट्कममा प्रकाशित रिक शर्माको विश्लेषण

Comments

comments

सम्बन्धित शिर्षकहरु