‘गाई कि त्रिशुल खेलेर ल्याएको गणतन्त्र होेईन्,राजतन्त्र-राजतन्त्र भनेर धेरै फट्याकफुटुक नगर्दा हुन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रको पक्षमा जनमतसंग्रहको माग राख्नेलाई असान्दर्भिक माग छाड्न सुझाव दिएका छन् । प्रतिगमनका कुनै सम्भावना नरहेको उनको जिकिर छ । संघीय संसदको हिउँदे अधिवेशनमा आइतवार समापन मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले फालिसकेको राजतन्त्र राख्ने कि नराख्ने भनेर जनमत संग्रह हुन नसक्ने समेत बताए । जनताले रगत बनाएर गणतन्त्र ल्याएको भन्दै उनले राजतन्त्र भनेर धेरै नारा नलगाउन चेतावनी दिएका छन् ।
‘प्रतिगमनका कुनै सम्भावना छैनन्, यो कुरा सुन्न नेपाली जनता तयार छैनन् ।’ प्रधानमन्त्री ओलीले भने, ‘यो गणतन्त्र रगत बगाएर ल्याएको हो, भिक्षामा पाइएको होइन, गाई कि त्रिशुल खेलेको होइन । राजतन्त्र राजतन्त्र भनेर धेरै फट्याकफुटुक नगर्दा हुन्छ ।’

गोरखाका घलेहरूले २ सय ५० वर्ष अगाडि नै दौडेर राजा छान्ने गरेको स्मरण गर्दै ओलीले अहिलेको जमानामा आएर कसैलाई राजा बनाएर रैती बन्ने कल्पना नगर्न सुझाव दिए ।

संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस महामन्त्री शशांक कोइरालाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाए । शशांकको नाम नलिएरै प्रधानमन्त्री ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेहरुले राजतन्त्रको पक्षमा जनमत संग्रहको माग गरेको बताए ।

प्रधानमन्त्री ओलीले सिके राउतसँग भएका सहमतिबारेमा स्पस्ट पार्दै जनमतसंग्रहको विषय कहिँ समावेश नभएको बताए। सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताकोसम्बन्धमा जनमतसंग्रह कहिँ पनि कल्पना गर्न नसकिने उनको भनाइ छ। उनले भने, ‘उहाँहरूको पहिले माग थियो अहिले जनताको अभिमतअनुसार चल्ने भनेका छौँ। कमसेकम लोकतान्त्रिक आन्दोलनको अभियानका नेताहरूलाई थाहा हुनुपर्छ।’

उनले वर्तमान सरकार जनमतको आकांक्षाअनुसार चलेको बताए। विखण्डनको एजेन्डा र विचार समाप्त भयो अब राउत समूह राष्ट्रिय मूलधारमा आएको उनले बताए। यस अवसरमा खुसियाली मनाउन छुटाएका भए आजै बेलुका दीपावली मनाए हुन्छ भन्दै विपक्षीलाई व्यंग्य हाने।

Comments

comments

सम्बन्धित शिर्षकहरु