‘जनताको जलविद्युत कार्यक्रम’ को आइपीओ लगानीकर्ता अन्योलमै,कसरी हुन्छ सेयर बाँडफाँट ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी  जनताको शेयर आवेदन शुभारम्भ गरेका छन । जलविद्युत आयोजनाहरूमा सर्वसाधारणको स्वामित्व स्थापित गर्ने लक्ष्यसहित सरकारले घोषणा गरेको जनताको जलविद्युत् आयोजना कार्यक्रम विहिवार शुरु भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले १० हजार कित्ता शेयरका लागि आवेदन दिएका हुन । उनकी धर्मपत्नी राधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिए । यस आयोजनामा शुरुमा शेयरका लागि १० प्रतिशत रकम मात्र दिए पुग्छ । यो आवेदन यही चैत ११ गतेसम्म जारी रहनेछ ।

सरकारले ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत जारी गरेको त्रिशुली जलविद्युत कम्पनीको आइपीओले लगानीकर्तालाई अलमलमा पारेको छ । यस कार्यक्रम अनुसार पहिलो किस्ता अन्तर्गत लगानीकर्ताले आवेदनका साथ खरिद गर्न प्रतिवद्धता गरेको रकमको १०% बुझाउनुपर्छ । बाँकी ९०% रकम आयोजना निर्माणको न्यूनतम ७५% भौतिक प्रगति हासिल भएपछि दोस्रो किस्ताका रुपमा बुझाउनुपर्ने व्यवस्था छ ।

यसरी किस्ताबन्दीमा आइपीओ भर्ने व्यवस्था नै नेपाली लगानीकर्ताका लागि नौलो हो । यससँगै, आम लगानीकर्तामा दोस्रो चरणको ९०% रकम आवेदन माग गर्दा नबुझाए के हुन्छ ? आयोजना समयमै सम्पन्न नभए वा बन्न नपाए अहिले जम्मा गरेको रकम के हुने ? भन्ने कौतुहलता र अन्योल समेत उत्पन्न भएको देखिन्छ ।

आयोजना निर्माण सुरु नहुँदै सर्वसाधारणले लगानी गर्नुपर्ने भएपछि जोखिम पनि स्वतः बढ्छ । यसले अहिले लगानी गरेको रकममा के प्रतिफल पाउने भन्ने प्रश्न पनि खडा गरिरहेको छ । तर यी यावत् विषय कसरी टुंगो लगाउने भनेर आधिकारिक नियम बनिनसकेको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएका छन् ।

आधिकारिक नियम नबनेपनि लगानीको रकममा ब्याज दिने लगायत विषयहरु भने समेटिएका छन् । बाँकी रकम चुक्ता नगरे के हुने भन्ने यकिन निर्णय भएको देखिंदैन । न्यूनतम १०० कित्ता भर्नुपर्ने व्यवस्था गरिएकाले बाँकी रकम चुक्ता नगर्नेलाई आवेदन दिएको रकम बराबरको मात्रै सेयर दिन सक्ने सम्भावना पनि छ । तर यसबारेमा सरकारले ठोस निर्णय बाहिर ल्याउन नसक्दा आम लगानीकर्ता भने अन्योलमै परेको देखिन्छ ।

सेयर बाँडफाँट कसरी हुन्छ ?

निष्कासन कम्पनी र आयोजनाले सेयरमा माग भन्दा बढी आवेदन पर्ने अनुमानका भरमा त्रिशुलीको आइपीओ निष्कासन गरेको देखिएको छ । यो आइपीओमा अहिले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ । यसमा प्रतिकित्ता १० रुपैयाँले आवेदन दिँदा ओभर सब्सक्राइब भए पनि न्यूनतम १० कित्ताका दरले सेयर बाँडफाँटका लागि आवश्यक पर्ने रकम मात्र प्राप्त हुन्छ ।

ग्लोबल आइएमई क्यापिटलका एक अधिकारीले भने, ‘अहिले लगानीकर्ताले न्यूनतम १०० कित्ता आवेदन दिनुपर्छ । धेरै आवेदन परेर १० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने भएमा न्यूनतम १० कित्ताका आवेदन दिएको १ हजार रुपैयाँले नै पुग्नेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु