साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना अधुरै

विराटनगर । नेपाल लगातार पाँचौ पटक साफ च्याम्पियनसिपमा भारतसँग पराजित हुँदै पाँचौ साफ महिला च्याम्पियनसिपको उपविजेतामा सिमित भएको छ । विराटनगरस्थित शहिद रंगशालामा भारतले नेपाललाई ३-१ ले पराजित गर्दै उपाधि जित्न सफल भयो । यससँगै भारत लगातार पाँचौपटक च्याम्पियन बन्यो । नेपालको भने उपाधि यात्रामा भारत लगातार बाधक बन्यो । नेपाल सबै संस्करणमा भारतसँग पराजित हुन पुग्यो । अघिल्लो संस्करणको सेमिफाइनलमा हार भोगेको नेपालले सुरुवाती ३ संस्करणमा भारतसँग नै हार बेहोरेको थियो ।

भारतको जितमा डालिमा छिपर, ग्रेस डाङ्मयी र अन्जु तामाङले गोल गरे । नेपालकी सावित्रा भण्डारीले एक गोल फर्काईन् । घरेलु मैदानमा सुरुवातमा भारतमाथि दबाब बनाएको नेपालले सोही लयलाई कायम राख्न सकेन । खेलको २६ औ मिनेटमा डालिमा छिपरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन् । उनले ३० यार्ड टाढाबाट हानेको प्रहारलाई गोलकिपर एन्जिला तुम्बाप्पोले बचाउन सकिनन् ।

लगत्तै नेपाल सावित्रा भण्डारीको गोलमार्फत खेलमा फर्किएको थियो । खेलको ३३ औ मिनेटमा सावित्राले हेडमार्फत गोल गरेकी थिईन् । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा लय बिगा-यो । ६३ औ मिनेटमा भारतकी ग्रेस डाङ्मेयीले गोल गर्दै भारतलाई पुन २–१ को अग्रता दिलाईन् ।बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी अन्जु तामाङले ७८ औ मिनेटमा गोल गर्दै नेपालको उपाधि सम्भावना यसपटक समेत टारिन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु