‘को बन्छ करोडपति’ विवाद : गायत्री मन्त्र कुन पुस्तकबाट लिइएको हो ? कमजोरी कि गलत नियत !

काठमाडौं । एपीवान टेलिभिजनबाट प्रशारण हुँदै आईरहेको ‘को बन्छ करोडपति’ कार्यक्रमको पहिलो सिजनको १८ औं भाग विवादित बनेको छ । कार्यक्रममा गोर्खा घर भई हाल स्वयम्भू बस्दै आईरहेका ५९ वर्षीय शंकर अर्याललेलाई सोधिएको वेद सम्बन्धि प्रश्नले कार्यक्रम विवादित बन्न पुगेको हो । उक्त प्रश्नलाई लिएर सामाजिक सञ्जालमा वेदको बारेमा ज्ञान भएकाहरुले आ -आफ्ना तर्क गरेका छन् । ४० हजार जितिसकेर आठौं प्रश्नको लागि ८० हजारमा खेल्दै थिए । कार्यक्रम सञ्चालक राजेश हमालले प्रश्न गरे,
गायत्री मन्त्र कुन पुस्तकबाट लिइएको हो ?
ऋग्वेद

सामवेद

यजुर्वेद

अथर्ववेद

विसं २०४१ मा शाखा अधिकृतको रुपमा नेपाल सरकारको सेवामा प्रवेश गरी सचिववाट अवकाश हुँदा ३४ वर्ष सेवामा विताएका अर्यालले संस्कृतमा स्नातकोत्तर गरेका छन्। उक्त प्रश्नमा उनले ढुक्क भएर उत्तर दिए यजुर्वेद । तर उत्तर गलत भनियो र सहि उत्तर ऋग्वेद भनियो जससँगै रु १०,००० मात्रै जितेर अर्याल बाहिरिए ।

त्यस प्रश्नलाई लिईएर सामाजिक सञ्जालमा एउटा लेखिन थालिएको छ, शंकरजी हजूर अदालत जानुभयो भने विजयी हुनु हुनेछ, झूटको खेति विरुद्घ जानुहोस्, हाम्रो साथ छ । वास्तबमा जुन तरिकाले प्रश्न गरियो, त्यो हिसाबमा हेर्ने हो भने अर्यालले दिएको उत्तरलाई गलत भन्न नसकिएला किनभने ४ वटा वेद क्रमशः ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद मध्येसुरुका ३ वटा वेदमा गायत्री मन्त्र उल्लेख भएको पाईन्छ । जसमध्ये यजुर्वेदमा पूर्णरुपमा उल्लेख गरिएको छ ।

यस बारेमा आफुले ढुक्क भएर उत्तर दिएका अर्यालले पनि यस विषयमा आफुमा ज्ञान कम भएको स्विकार गर्दै बाहिरिए भने यस बारेमा उनले थप कुरा गरेनन् । आयोजकले पनि कमजोर हिसाबले विवादित हुने प्रश्न त तयार गरेको पक्कै पनि थिएन होला । तर वेदमा नै हेर्दा अर्यालको उत्तर सहि ठहरिए र सामाजिक सञ्जालमा उनको पक्षमा कुरा उठेको छ । यस्तो विषयमा ध्यान नदिने हो भने गर्दा आगामी दिनहरुमा यस्ता चर्चित कार्यक्रमहरुको लोकप्रियता खस्कने सम्भावना देखिन्छ । होईन भने प्रश्न अर्को तरिकाले सोध्न सकिन्थ्यो । प्रश्न नै अस्पष्ट हुनु आयोजकको कमजोरी हो कि सहभागीलाई सस्तैमा बिदाई गर्ने गलत नियत ? जे सुकै भएपनि यसको स्पष्टीकरण नदिने हो भने आगामी दिनमा कार्यक्रमको साख गिर्ने सम्भावना देखिन्छ र प्रश्न बनाउने टोलीले विज्ञहरुको सुझाव लिएर सूक्ष्म अध्ययन गर्नुपर्ने देखिन्छ ।

के हो ऋग्वेद ? के छ यसमा ?
ऋगवेदलाई सबैभन्दा पुरानो वेद मानिन्छ र स्वामी विश्वामित्रले गायत्री मन्त्र प्रचलनमा ल्याएको पनि भनिन्छ । उनले गायत्री मन्त्रको उच्चारण÷जप गरि आफ्नो ज्ञानेन्द्रियहरुलाई अधीनमा राखी सत्यको बाटो पहिल्याउन सफल भएका थिए । गायत्री मन्त्र ऋगवेदमा लेखिनु भन्दा केहि शताब्दी अघि नै प्रचलनमा रहेको मानिन्छ र परापूर्वकालका स्वामीहरुले शब्दहरुलाई ध्यानपूर्वक छनोट र क्रम निर्धारण गरि प्रचलनमा ल्याएको र यस मन्त्रले शाब्दिक महत्व मात्रै नराखी सकारात्मक तरङ्ग उत्पन्न गर्ने र सहि मार्ग पहिल्याउने शक्ति र विवेक हासिल हुने विश्वास रहि आएको छ ।

ऋग्वेदको संहिता भाग–२ सूक्त–६२ म. ३ सू ६२ ।। १० ।। मा

तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि । धियो यो नः प्रचोदयात्भनेर उल्लेख भएको पाईन्छ ।
त्यसैगरी सामवेद–संहिता चतुर्थ खण्ड ।। १३ं–४–३ ।। मा तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि । धियो
यो नः प्रचोदयात्भनेर उल्लेख भएको पाईन्छ ।

यजुर्वेदमा भने ४ विभिन्न स्थानमा गायत्री मन्त्रको बारेमा उल्लेख गरिएको छ । ।। ३–३५ ।। २२–९ ।। र ।। ३०–
२ ।। मा तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि । धियो यो नः प्रचोदयात्भनेर उल्लेख गरिएको पाईन्छ भने ।।३६–
३ ।। मा भूभुर्वः स्वः । तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि । धियो यो नः प्रचोदयात्भनेर उल्लेख गरिएको
पाईन्छ ।
।।

यजुर्वेदको खण्ड ।। ३६–३ ।। लाई आधार मान्दै गायत्री मन्त्र पूर्ण रुपमा यजुर्वेदमा उल्लेख भएको यजुर्वेद नै
सही उत्तर हो भन्ने बहस चलेको छ ।

यसरी हेर्दा गायत्री मन्त्र ३ वटै वेदमा उल्लेख भएको पाईन्छ र कुन वेदबाट लिइएको हो भन्ने प्रश्नमा उत्तर
दिने अर्याललाई गलत भन्न मिल्ला कि नमिल्ला ? प्रश्न बनाउनेले पर्याप्त अध्ययन÷अनुसन्धान गरेर प्रश्न
बनाउनुपथ्र्यो र कि त उत्तरमा समानान्तर विकल्प नै राख्नु हुन्थेन कि त यजुर्वेदलाई गलत भन्न हुने थिएन ?

वेदहरूको महत्व

हिन्दू संस्कृतिको मूल वेद हो । यो हाम्रो सबै भन्दा पुराना धर्म–ग्रन्थ हो र हिन्दू धर्मको मुख्य आधार हो । धार्मिक मात्र नभएर ऐतिहासिक दृष्टिले पनि वेदहरूको असाधारण महत्व छ । वैदिक युगको आर्यको संस्कृति र सभ्यता जान्ने एकमात्र साधन यही हो ।

मानव–जाति र विशेषतः आर्य जातिले आफ्नो शैशवमा धर्म र समाजको कुन कुन प्रकारले विकास गरे यसको ज्ञान वेदबाट नै जानिन्छ । विश्व वाङ्मयमा यिनिहरू भन्दा प्राचीन कुनै पुस्तक छैन ।

आर्य–भाषाहरूको मूलस्वरूप निर्धारित गर्नमा वैदिक भाषा धेरै अधिक सहायकसिद्ध भएको छ । वेद सनातन धर्मको सबैभन्दा पुरानो धर्मग्रन्थ मात्र होइन, मानव सभ्यताकै सबैभन्दा पुरानो पुस्तक पनि यही हो । वेद विद शब्दबाट बनेको हो, जसको अर्थ हुन्छ जान्नु, ज्ञाता वा जान्ने । मान्नु वा मान्ने भन्ने अर्थ वेदबाट लाग्दैन । यसको अर्थ मात्र जान्ने वा जानेर बुझेर वा परख गरिएको ज्ञान भन्ने हुन आउँछ । अर्थात् अनुभूत ज्ञान वा जाँच परख गरिएको ज्ञान मार्ग ।

वास्तवमा ब्रह्म वाक्य यसैमा संकलित छ । वेद मानव सभ्यताको सबैभन्दा पुरानो लिखित दस्तावेज हो । वेदका २८ हजार पाण्डुलिपिहरू भारतको पुणेस्थित भण्डारकर ओरिएन्टल रिसर्च इन्स्टिच्युटमा राखिएको छ । तीमध्ये ऋग्वेदका ३० पाण्डुलिपिहरू असाध्यै महत्वपूर्ण छन्, जसलाई युनेस्कोले आफ्नो सम्पदा सूचीमा समावेश गरेको छ । युनेस्कोले ऋग्वेदका इ.पू. १८०० देखि इ.पू. १५०० बीचका ३० पाण्डुलिपिहरूलाई आफ्नो सांस्कृतिक धरोहरका रूपमा समावेश गरेको छ । महत्वपूर्ण कुरा त के छ भने युनेस्कोका १५८ सांस्कृतिक धरोहरमध्ये भारतका मात्र ३८ वटा पाण्डुलिपिहरू त्यो सूचीमा सामेल भएका छन् ।

वेदलाई श्रुति पनि भनिन्छ । ‘श्रु’ धातुबाट श्रुति बनेको छ । ‘श्रु’ अर्थात् सुन्नु । के भनिन्छ भने प्राचीन तपस्वीहरू गहिरो तपस्यामा लीन भइरहेको समयमा यी मन्त्रहरू उनीहरूलाई स्वयं ईश्वरले अप्रत्यक्ष रूपमा सुनाएका थिए । सर्वप्रथम ईश्वरले चार जना ऋषिहरूलाई वेदको ज्ञान दिएः अग्नि, वायु, अंगिरा र आदित्य ।

वेद वैदिककालीन वाचिक परम्पराको अनुपम कृति हो, जुन पछिल्लो ६, ७ हजार इसापूर्वबाट चलिरहेको छ । विद्वानहरूले संहिता, ब्राह्मण, आरण्यक र उपनिषद् यी चारको संयोगलाई वेद भनेका छन् । यी चार भागलाई संयुक्त रूपमा श्रुति भनिन्छ । अन्य बाँकी ग्रन्थ स्मृति अन्तर्गत पर्दछन् । वेदको संहिता भनेको मन्त्र भाग हो । वैदिक मन्त्रहरू सुन्दरताले भरिपूर्ण छन् । वैदिक ऋषिहरू जब वेदको सस्वर पाठ गर्छन्, त्यो सुनेर चित्त प्रफुल्ल हुन्छ । जसले सस्वर वेद पाठ सुन्छन्, ती पनि मुग्ध हुन्छन् । वेदको ब्राह्मण भागमा यज्ञको बारेमा चर्चा गरिएको छ । यसमा वेदका मन्त्रहरूको व्याख्या गरिएको छ । यसमा यज्ञका विधान र विज्ञानका बारेमा विस्तारपूर्वक वर्णन गरिएको पाइन्छ । मुख्य ब्राह्मण ग्रन्थहरू यसप्रकार छ :

ऐतरेय, तैत्तिरीय र शतपथ । आरण्यक पनि वेदको एक महत्वपूर्ण हिस्सा हो । संस्कृतमा वनलाई अरण्य भनिन्छ । त्यसैले अरण्यमा उत्पन्न भएका ग्रन्थहरू नै आरण्यक अन्तर्गत पर्दछन् । पाँच मूख्य आरण्यक यसप्रकार छन् : ऐतरेय, शांखायन, बृहदारण्यक, तैत्तिरीय र तवलकार ।

उपनिषद वेदको शीर्ष भाग हो । साथै उपनिषद वेदको सर्वश्रेष्ठ अन्तिम भाग पनि भएकाले यसलाई वेदान्त पनि भनिन्छ । यसमा ईश्वर, सृष्टि र आत्माका सम्बन्धमा गहन दार्शनिक तथा वैज्ञानिक वर्णन गरिएको छ । उपनिषदहरूको वास्तविक संख्या ११८० मानिन्छ । तर, हाल उपनिषदका १०८ संख्या मात्र उपलब्ध छन् । तिनमा मुख्य उपनिषद् यसप्रकार छन् : ईश, केन, कठ, प्रश्न, मुण्डक, माण्डुक्य, तैत्तरीय, ऐतरेय, छान्दोग्य, बृहदारण्यक र श्वेताश्वेर ।

असंख्य वेद शाखाहरू, ब्राह्मण ग्रन्थ, आरण्यक र उपनिषदहरू लोप भइसकेका छन् । हाल आएर ऋग्वेदका दश, कृष्ण यजुर्वेदका बत्तीस, सामवेदका सोह्र र अथर्ववेदका एकतीस उपनिषदहरू अस्तित्वमा छन् । प्रोफेसर विन्टरनिट्जले वैदिक साहित्यको रचनाकाल २००० देखि २५०० इसापूर्व मानेका छन् । तर, खासमा वेदको रचना कुनै एक निश्चित कालखण्डमा भएको होइन । अर्थात् यो त बिस्तारै बिस्तारै रचना हुँदै गयो र सबैभन्दा पहिले वेदका तीन भाग संकलन गरियो, जसमा ऋग्वेद, सामवेद र यजुर्वेदको संकलन भयो । यसलाई ‘वेदत्रयी’ पनि भनिन्छ ।

सनातन मान्यताअनुसार वेदको विभाजन रामचन्द्रको जन्मपूर्व पुरूरवा ऋषिको समयमा भएको हो । कालान्तरमा अथर्वा ऋषिले अथर्ववेदको रचना गरेका हुन् । कतिपय विद्वानहरूका मतमा चाँहि श्रीकृष्णको समय द्वापर युगको समाप्तिपछि महर्षि वेदव्यासले वेदलाई चार भागमा विभाजन गरी व्यवस्थित गरेका हुन् ।

उनले यी चार भागको शिक्षा क्रमशः चार शिष्यहरू पैल, वैशम्पायन, जैमिनी र सुमन्तुलाई दिए । त्यस क्रममा उनले पैललाई ऋग्वेद, वैशम्पायनलाई यजुर्वेद, जैमिनीलाई सामवेद तथा सुमन्तुलाई अथर्ववेदको जिम्मेवारी दिए । यसको आधारमा भन्दा वेद लिखित रूपमा आजभन्दा ६५०८ वर्ष पुरानो ग्रन्थ हो । यसलाई पनि सोझै नकार्न सकिँदैन किनभने श्रीकृष्ण आजभन्दा ५११२ वर्ष अगाडि यस धर्तीमा भएको तथ्य फेला परिसकेको छ ।

वेदका चार विभाग छन् : ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद । ऋग–स्थिति, यजु–रूपान्तरण, साम–गतिशील र अथर्व–जड । ऋक भनेको धर्म, यजु भनेको मोक्ष, साम भनेको काम, अथर्व भनेको अर्थ पनि मानिन्छ । यसैका आधारमा धर्मशास्त्र, अर्थशास्त्र, कामशास्त्र र मोक्षशास्त्रको रचना भएको हो ।

ऋग्वेद
वेदहरूमा सर्वप्रथम ऋग्वेदको निर्माण भयो । यो पद्यात्मक छ । यजुर्वेद गद्यात्मक छ भने सामवेद गीतात्मक छ । ऋग्वेदमा १० मण्डल, १०२८ सूक्त र ११ हजार मन्त्र छन् । यी मन्त्रहरूमा देवताको स्तुति गरिएको छ । यी मन्त्रले देवताहरूलाई यज्ञमा आह्वान गर्दछन् । यसका पाँच शाखा छन् : शाकल्य, वास्कल, आश्वलायन, शांखायन र मण्डूकायन । ऋग्वेदमा मृत्युनिवारक त्र्यम्बक मन्त्र वा मृत्युञ्जय मन्त्र (७/५९/१२) वर्णित छ । विश्वविख्यात गायत्री मन्त्र (३/६२/१०) पनि यहीँ छ । ऋग्वेदमा अनेक प्रकारका लोकोपयोगी सूक्त, तत्वज्ञान सूक्त, संस्कार सूक्त विद्यमान छन् । रोगनिवारक सूक्त (१०/१३७/१—७), श्रीसूक्त वा लक्ष्मीसूक्त (खिलसूक्त), नासदीय सूक्त (१०/१२९/१—७) तथा हिरण्यगर्भ सूक्त, विवाह सूक्त आदिको वर्णन छ जसमा ज्ञान र विज्ञानको चरमोत्कर्ष देख्न पाइन्छ ।

सामवेद
सामवेद मा गाउन मिल्ने छन्दहरू छन् । यिनको गान यज्ञको समयमा हुन्छ । यस वेदमा १८२४ मन्त्र छन् र ७५ मन्त्रबाहेक अन्य सबै ऋग्वेदबाट नै लिइएका हुन् । तैपनि यसको आफ्नै विशिष्ट महत्व छ । श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले ‘वेदानां सामवेदोsस्मि’ भनेर यसको महत्वलाई उजागर गर्नुभएको छ । सामवेद आकारमा सानो भएपनि यो सबै वेदको सारस्वरूप रहेको छ र सबै वेदका प्रमुख अंश यसमा परेका छन् । सामवेद ज्ञानयोग, कर्मयोग र भक्तियोगको त्रिवेणी हो । यो वेदलाई संगीतशास्त्रको मूल मानिन्छ । यसमा सविता, अग्नि र इन्द्र देवतालाई प्रधानता दिइएको छ । यसमा यज्ञमा गाउनका लागि संगीतमय मन्त्र राखिएका छन् । मुख्यतः गन्धर्वहरूले यसको गान गर्छन् । यसमा मुख्य तीन शाखा र ७५ ऋचा छन् र संगीतशास्त्रलाई प्रधान बनाइएको छ ।

यजुर्वेद
यसमा यज्ञको असल प्रक्रियाका लागि गद्य मन्त्र समावेश गरिएको छ । विशेषगरी क्षेत्रीहरूका लागि यो वेद महत्वपूर्ण छ । यजुर्वेदका दुई शाखा छन् । नेपाल र उत्तर भारततिर शुक्लयजुर्वेद अनि दक्षिण भारततिर कृष्णयजुर्वेद प्रचलित छ । यसमा ४० अध्याय छन् । यो वेदमा अधिकांशतः यज्ञ र हवनको नियम र विधान छन् । त्यसैले यो कर्मकाण्डप्रधान ग्रन्थ हो । यसमा अग्निहोत्र, अश्वमेध, वाजपेय, राजसूय, अग्निचयन लगायतका यज्ञको विस्तृत विवरण दिइएको छ । विश्वविख्यात गायत्री मन्त्र र महामृत्युञ्जय मन्त्र यसमा पनि पाइन्छन् । यसमा दिव्य वैद्यशास्त्र र कृषिविज्ञानका विषय पनि समाविष्ट छन् ।

अथर्ववेद
यसमा देवताहरूको स्तुतिका साथसाथै जादूसँग सम्बन्धित मन्त्र र तन्त्र, राक्षस, पिशाच जस्ता भयानक शक्तिका बारेमा वर्णन गरिएको छ । यसका अलावा यसमा चिकित्सा, विज्ञान र दर्शन सम्बन्धी मन्त्रहरू पनि पाइन्छन् । भूगोल, खगोल, वनस्पति विद्या, असंख्य जडीबुटी, आयुर्वेद, प्रजनन विज्ञान अर्थशास्त्र, राजनीति, राष्ट्रियता लगायतका धेरै विषय यसमा अटाएका छन् । मुख्यतया व्यापारीहरूका लागि यो वेदको महत्व छ । यसमा २० काण्ड छन् ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु