निर्मला हत्या प्रकरण: पूर्व एसपी डिल्लीराज विष्टद्धारा अदालतमा आत्मसमर्पण

कञ्चनपुर । निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टले अदालतमा आत्मसमर्पण गरेका छन्। उनी मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका हुन् ।

यसअघि अदालतले विष्ट र डिएसपी अंगुर जीसीलाई अदालतमा हाजिर हुन सूचना जारी गरेको थियो । जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले विष्ट अदालतमा उपस्थित भएको जानकारी दिए। उनका अनुसार विष्टको बयान लिने तयारी भएको छ। विष्टको बयान पछि थुनथेक बहस हुने बताईएको छ।

पूर्व एसपी विष्ट सहितका ८ जना विरुद्ध दीलिप विष्टलाई यातना दिएको र निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गरेको भन्दै मुद्दा दायर भएको थियो। निर्मला पन्त हत्या प्रकरणका अन्य छ जना आरोपी भने धरौटीमा छुटेका छन् । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले कञ्चनपुरका तत्कालीन प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर सेठी र तत्कालीन प्रहरी निरीक्षक एकेन्द्र खड्का ९/९ लाख तथा प्रहरी निरिक्षक जगदिस भट्ट ४ लाख धरौटी बुझाएर रिहा भएका थिए।

यस्तै निलम्बित प्रहरी नायव निरिक्षकहरु हरिसिंह धामी साढे ३ लाख, रामसिंह धामी ३ लाख तथा प्रहरी जवान चाँदनी साउद २ लाख ५० हजार धरौटीमा रिहा भएका थिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु