स्थानीय तहहरुलाई प्रधानमन्त्रीको निर्देशन- ‘लुटेरा समूहसँग नडराउनुस्, लुट्न पनि नदिनुस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले आतंककारी, ध्वंसात्मक गतिविधि संचालन गरिरहेकाले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई कानूनी कार्वाही गर्ने निर्णय लिएको स्पष्ट पारेका छन्।

प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको नेकपालाई लुटपाट मच्चाउँदै हिँड्ने लुटेराहरुको संज्ञा दिँदै सहन गर्न नसकिने पनि स्पष्ट पारे। नेपाल नगरपालिका संघको स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले लुटपाटमा संलग्न समूहसँग नडराउन पनि सबैलाई आह्वान गरे।

स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि पत्र आएको, पैसा मागेको सुनेको भन्दै उनले चन्दा नदिन आग्रह गरे । उनले भने, ‘नडराउनुस्, लुटेराहरुलाई लुट्न नदिनुस् ।’ विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयतर्फ संकेत गर्दै उनले विध्वंशकारी क्रियाकलाप गर्नेहरुलाई कानुन बमोजिम नियन्त्रण गर्ने निर्णय भइसकेको बताए । प्रधानमन्त्री ओलीले भने, त्यो सरकारले गर्छ ।’

प्रधानमन्त्री ओलीले इमानका साथ काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि सचेत गराए। ओलीले जनताको विश्वास आर्जन हुने गरी काम नगर्ने जनप्रतिनिधिलाई फेरी जनप्रतिनिधि हुने अवसर नआउनेतर्फ पनि सचेत गराए।

Comments

comments

सम्बन्धित शिर्षकहरु