‘बम विस्फोट गर्दै पैँसा असुल्नेसँग वार्ता हुदैँन, नियन्त्रणमा लिइन्छ’- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र विस्फोट गर्दै आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन। फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट गरेको विषयमा प्रधानमन्त्रीको ध्यानआकर्षण गर्न मंगलबार बालुवाटार पुगेको नेपाल वैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेहरूसँग वार्ता गर्नुको औचित्य नभएको बताएका हुन।

‘कतिपयले वार्ता गर्नुपर्‍यो भन्छन् तर के का लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैन’ प्रधानमन्त्रीले भने ‘जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग के को वार्ता ? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।’

प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लवको नाम नलिई एउटा गिरोहले कम्युनिष्टका नाममा घिनलाग्दो काम गरिरहेको बताए । कम्युनिस्ट युवाहरूलाई कर्मठ र कर्मशील हुन सिकाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। ‘कम्युनिस्टले त युवाहरूलाई कर्मशील हुन, सही बाटोमा हिँडाउन र उत्पादनमा लाग्न सिकाउनुपर्ने हो ।’ प्रधानमन्त्री ओलीले भने, ‘यहाँ त कम्युनिस्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन्। यो हुन सक्ने कुरा होइन।’

प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङको घरमा भएको बिस्फोटको घटनाबारे सरकारले छानविन गर्ने प्रतिवद्धता जनाएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु