शंकाको घेरामा सीके राउत,घरको पर्खालमा स्वतन्त्र मधेस गठबन्धनको झन्डा

काठमाडौं । स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतले अचानक सरकारसँग ११ बुँदे सम्झौता गरेर मूलधारको राजनीतिमा प्रवेश गरेपछि उनका समर्थक, शुभचिन्तक र सर्वसाधारण आश्चर्यमा परेका छन् । राउतको राजनीतिक रणनीति समर्थकले बुझ्न नसकेकै कारण उनी जनकपुर आउँदा स्वतन्त्र मधेसको नारा घन्काइएको चर्चा चलिरहेको छ ।

राउतको वास्तविक राजनीतिक गतिविधि भने प्रस्ट हुन सकेको छैन । सरकारसँगको सम्झौतापछि आइतबार जनकपुर आएका राउतले सञ्चारकर्मीलाई केही प्रतिक्रिया दिएका छैनन् । अन्नपूर्ण पोस्टमा छापिएको खबर अनुसार सोमबार राउतसँग प्रतिक्रिया लिन जनक—८ बलवा टोलस्थित निजी निवासमा पुग्दा उनका कार्यकर्ताले भेट्न नमिल्ने बताएर फर्काइदिए ।

व्यस्त सहरको गल्लीमा रहेको राउतको घर धेरैले देखेका छैनन् । घरको पर्खालमा स्वतन्त्र मधेस गठबन्धनको झन्डा झुन्ड्याइएको हुँदा घर पहिचान गर्न सजिलो भएको थियो । ढोकामै सानो पोस्टरमा देखिने गरी आगन्तुकका लागि सूचना टाँसिएको भेटियो । सूचनामा थियो, ‘भेट्न आउनेले पहिला फोन गरी सम्पर्क गरी अनुमति लिनुहोला ।’

तीनतले घरको माथिल्लो तल्लामा सीसीटीभी क्यामराले आगन्तुकमाथि निगरानी गरिराखेको थियो । सुनसान घरको ढोका केहीबेर ढकढकाएपछि एक व्यक्ति बाहिर आए तर, ढोका खोलेनन् । उनले प्रश्न गरे, ‘किन आउनुभएको? के काम छ ?’ संवाददाताले परिचय दिएपछि ती व्यक्तिले भने, ‘दुई दिनपछि मात्रै राउत सरले कुरा गर्नुहुन्छ, अहिले भेट्न मिल्दैन ।’ सीकेको स्वास्थ्य अवस्था राम्रो नहुँदा दुई दिनसम्म कसैलाई पनि नभेट्ने निर्देशन आएको ती व्यक्तिले सुनाए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु