विप्लवको गाउँमा प्रहरीको ‘स्वीप अपरेसन’: दुई थान एसएमजीसहितका आधुनिक हतियार बरामद

तौलिहवा । प्रहरीको कारबाहीमा परि गोली प्रहारबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता घाइते भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–९ तुरुन्तपुरमा विप्लव नेतृत्वको माओवादी कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका हुन् ।

आज बिहान रोकाको शिवराज नगरपालिका–९ तुरुन्तपुरस्थित घरमा प्रहरीले छापा मार्न खोज्दा भाग्दै गरेका रोकाउपर प्रहरीले गोली प्रहार गरेको थियो । खुट्टामा गोली लागी घाइते भएका रोकाको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए ।

शिवराज नगरपालिका–९ को सुन्दरी डाँडा गाउँभर गरिएको ‘स्वीप अपरेसन’ बाट विप्लव माओवादीको सैन्य शिविर फेला पर्नुका साथै ठूलो संख्यामा हात हतियार बरामद भएको प्रहरीले जनाएको छ । निकै अगाडिदेखि निगरानी रहेको यहाँ विप्लव माओवादीले सैन्य शिविर चलाउने गरेको तथ्य फेला परेको प्रहरीले दावी गरेको छ । लामो समयदेखि निगरानी गरिरहेको प्रहरीले बिहीबार बिहान विप्लवको गाउँभरी ‘स्वीप’ अपरेसन चलाएको हो ।

कपिलवस्तु प्रहरीका अनुसार जङ्गल क्षेत्र पर्ने सुन्दरी डाँडामा बिहीबार बिहान साढे ३ बजेदेखि प्रहरी परिचालन गरिएको हो । सुन्दरी डाँडामा विप्लवको घर छ तर, उनी र परिवार त्यहाँ बस्दैनन् । उनका आफन्त मात्रै बस्ने गरेको स्थानीयले जानकारी दिएका छन् । कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतम पुडासैनी आफैं खटिएको यो टोलीले विप्लवको घर तथा गाउँ आफ्नो नियन्त्रणमा लिएर छापा मारेको थियो ।

५ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीका अनुसार छापा मार्ने क्रममा आधुनिक स्वचालित हतियार, पेस्तोल र गोलीहरू बरामद भएका छन् । प्रहरीले विप्लवको गाउँमा अपरेसन गर्ने क्रममा शिवराज नगरपालिका–९ अञ्चलपुरका ४० वर्षीय दुर्गाबहादुर रोकालाई गोली हानी पक्राउ गरिएको छ ।

हतियारसहित फेला पारेपछि रोकालाई पक्रन खोजिएको थियो । तर, उनी भागेपछि नियन्त्रण लिन प्रहरीले गोली चलाएको पुँडासैनी बताउँछन् । पक्राउ परेका रोका विप्लव माओवादीको कुन तहका नेता–कार्यकर्ता हुन्, खुलिनसकेको प्रहरी उपरीक्षक पुडासैनी बताउँछन् । प्रहरीले उनी कम्पनी कमाण्डर हुन सक्ने आशंका गरेको छ । आधुनिक हतियारसहित पक्राउ परेकाले रोका युद्ध प्रशिक्षणमा क्रियाशील हुनसक्ने प्रहरीको आशंका छ ।

पुडासैनीले भने, ‘बायाँ खुट्टामा गोली लागेर उनी घाइते भएका छन् ।’ उनलाई उपचारका लागि बुटवल लगिएको छ । विप्लवको गाउँमा छापा मार्न नेपाल प्रहरी र सशस्त्रका डेढ सय प्रहरी सुन्दरी डाँडा पुगेका थिए । त्यहाँ प्रहरीको अपरेसन केही समय जारी रहने डिआइजी अधिकारीले जानकारी दिएका छन् । ‘प्रहरीले अनुसन्धानको अगाडि बढाइरहेको छ, आधुनिक तथा अटोमेटिक हतियार बरामद भएकाले सर्च र स्वीप अपरेसन चलिरहन्छ,’ उनले भने ।

रोकाको घरबाट एसएमजी दुई थान, गोली ६८ राउण्ड, म्यागजीन ३ थान, अटोमेटिक पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, गोली ३ राउण्ड, ५.५६ क्यालिभरको राउण्ड १ सय ३१ पिस, थप म्यागजिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरू एक बोरा बरामद भएको कपिलवस्तु प्रहरीका उपरीक्षक पुडासैनीले जानकारी दिएका छन् । एसएमजी नेपाली सेना र सशस्त्र प्रहरीले बोक्ने आधुनिक स्वचालित हतियार हो ।

नेपाल प्रहरीसँग यो हतियार छैन । यसले स्वचालित अवस्थामा प्रतिमिनेट पाँच सय गोली फायर गर्छ । अर्धस्वचालित अवस्थामा ३४ राउण्ड फायर गर्ने यो हतियारले दुई सय मिटर क्षेत्रसम्म काम गर्ने सुरक्षाकर्मीले जनाएका छन् ।

दोस्रो विश्वयुद्धका बेला ब्रिटिशमा निर्माण भएको एसएमजी दर्जनौं मुलुकमा भएका ठूला युद्धमा प्रयोग भएको हतियार हो । नेपाली सेनाले यो हतियार द वर्षे माओवादी सशस्त्र युद्धताका नेपाल भित्र्याएको थियो । विप्लवको गाउँबाट बरामद हतियार सेनाबाट लुटिएको हुन सक्ने आशंका गरिएको छ ।

‘हतियारको नम्बर खोजी भइरहेको छ, कहाँबाट हराएको हो अनुसन्धान गरिरहेका छौं,’ ५ नम्बर प्रदेश प्रहरी भन्छ, ‘यो हतियार सेनाले बढी प्रयोग गर्ने गरेको हुनाले युद्धका बेला लुटिएको हो कि भन्ने आशंका गरेका छौं ।’

गाउँमा छापा मार्ने क्रममा कम्पनी आधारभूत सैन्य लेखिएको तुल पनि भेटिएको छ । त्यही आधारमा विप्लवले त्यहाँ सैन्य शिविर चलाइएको अनुमान गरिएको छ । विप्लव माओवादीले पछिल्लो समय कपिलवस्तुमा एनसेलका आधा दर्जन टावरमा आगजनी गरेको थियो । गाउँपालिकाको गाडी तथा एक्साभेटर पनि जलाएको थियो ।

प्रहरीका अनुसार ध्वंसात्मक गतिविधि साथै विप्लवले कपिलवस्तु, बुटवल, दाङलगायत जिल्लामा चन्दा उठाउने क्रम तीव्र पारेको थियो । स्थानीय तहको हरेक विकास निर्माण कामबाट जबरजस्ती चन्दा मागिरहेको थियो । सुन्दरी डाँडा आसपास दाङ, अर्घाखाँची जिल्ला पर्छन् । यी जिल्लामा विप्लव माओवादीको गतिविधि निकै आक्रामक छ ।

रोल्पाको साबिक इरिवाङ गाविसमा २०२४ साल फागुन ११ गते चन्दको जन्म भएको हो । लाहुरे परिवारको पृष्ठभूमि रहेका चन्द २०४६ सालमा बिहे गरी कपिलवस्तु बसाइँ सरेका थिए, त्यहाँ उनीहरूको पुख्र्यौली जमिन थियो ।

विप्लव पढाइका सिलसिलामा काठमाडौं आएका थिए । नेपाल ल क्याम्पस पढ्दापढ्दै २०४८ सालमा राजनीतिमा प्रवेश गरेका थिए । २०५२ सालमा माओवादीले थालेको सशस्त्र युद्धमा शुरूदेखि नै होमिएका थिए । राजनीतिमा तत्कालीन नेकपा माओवादीमा प्रवेश गरी दश वर्षे सशस्त्र युद्ध चलाएका चन्दले अहिले आफ्नै पार्टी खोलेका छन् । उनको पार्टी लगभग ‘भूमिगत’ छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु