प्रवासी अभिभावकलाई १० वर्षे भिसा दिने अष्ट्रेलिया सरकारको घोषणा, उत्साह भन्दा निराश बढि

अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले प्रवासी अभिभावकहरुलाई १० वर्षे भिसा दिने घोषणा गरेको छ । अध्यागमन मन्त्री डेभिड कोलम्यानले प्रवासीहरुले निकै लामो समयदेखि माग गर्दै आएको भिसा सन् २०१९ को मध्यतिरबाट सुरु गरिने जनाएका छन । अध्यागमन मन्त्री डेभिड कोलम्यानले यो भिसाले अभिभावकहरुलाई आफ्ना सन्तानसँग जोड्ने बताएका छन् ।

यस भिसाको शुल्कलाई लिएर भने त्यति धेरै उत्साह छैन । नयाँ नियम अनुसार तीन वर्षको भिसाको लागि ५ हजार डलर शुल्क लाग्नेछ भने पाँच वर्षीय भिसाको लागि १० हजार डलर अनि पाँच वर्ष नै थप गरेर अर्को १० हजार डलर तिरेपछि कूल २० हजार डलर शुल्कमा १० वर्षको भिसा प्राप्त गर्न सकिने प्रावधान छन् ।

यति मात्र होइन यो भिसा प्राप्त गर्ने अभिभावकहरुको लागि निजी स्वास्थ्य बिमाको समेत प्रबन्ध गर्नुपर्ने भएका कारण अझ यो महँगो बनेको छ । यो भिसाको लागि आवेदन गर्नुपूर्व नै आफ्नो आर्थिक स्थितिको बारेमा जानकारी दिनुपर्नेछ । त्यसको अध्ययनपछि मात्रै आवेदन दिन पाइने अर्को प्रावधान पनि कठीन खालकै छ । यो भिसाले अभिभावकहरुलाई आफ्ना सन्तानसँग जोड्ने बताएका छन् । उनले भने “सँगै समय बिताउन चाहने परिवारका सदस्यहरुको लागि यो निकै उपयोगी हुनेछ ।

यसले आप्रवासीहरुका बाबुआमा र हजुरबुबा हजुरआमाहरुलाई अष्ट्रेलियामा रहेका आफ्ना सन्तानहरुसँग बस्न सघाउनेछ ।” तर, विपक्षी लेबर पार्टीले भने यसका केही बुँदामा असन्तुष्टि जनाउँदै यसको विपक्षमा धारणा राखिरहेका छन् । लेबरका प्रतिनिधिहरुले यसका केही कानूनी जटिलताका विषयमा आफूहरुको असन्तुष्टि रहेको बताइरहेका छन् ।

छायाँ अध्यागमन मन्त्री स्यानी न्यूमेनले सन् २०१६ को चुनावभन्दा अगाडि प्रस्ताव गरिएकै रुपमा यसलाई लागू गर्नुपर्ने माग गरे । पछि संशोधन गरिएको भिसामा भने एक परिवारले एकजोडी अभिभावकहरुलाई छान्नुपर्ने भएकोले यसले श्रीमानतिरको या श्रीमतीतिरको कसको अभिभावक ल्याउने हो यो छान्न कठीन हुने उनको ठम्याई छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु