शिवजीले पार्वतीलाई यसरी सुनाएका थिए,शिवरात्रीको व्रत विधान

काठमाडौं । एकपल्ट पार्वतीजीले भगवान् शिवशङ्करसँग सोधिन्, यस्तो कुन चाही श्रेष्ठ तथा सरल व्रत–पूजन छ, जसबाट मृत्युलोकका प्राणीले तपाईको कृपा सजिलै प्राप्त गर्दछन– उत्तरमा शिवजीले पार्वतीलाई शिवरात्रिको व्रतको विधान बताएर यो कथा सुनाए– एउटा गाँउमा एक शिकारी बस्दथ्यो । पशुहरूको हत्या गरेर ऊ आफ्ना कुटुम्बको पाकनपोषण गर्थ्यो । ऊ एउटा साहूको ऋणी थियो, ऋण चुक्ता गर्ने प्रयास गर्दा पनि उसकै त्यो ऋण चुकाउन सकेको थिएन ।

भाला नाघेपछि एक दिन क्रोधित साहूले शिकारीलाई शिवमठमा बन्दी बनायो । संयोगले त्यो दिन शिवरात्रि थियो । शिकारी ध्यानमग्न भएर शिवसम्बन्धी धार्मिक कुराहरू सुनिरह्यो । चतुर्दशीमा उसले शिवरात्रि व्रतको कथा पनि सुन्यो । कथा श्रवणलो प्रभावले साँझपख साहूमा दयाभाव उत्पन्न भयो र उसले शिकारीलाई आँफूनजीकै बोलाएर ऋण चुकाउने विषयमा कुरा गर्यो, शिकारीले भोलि पल्ट सारा ऋण चुज्ता गर्ने वचन दिएर बन्धनबाट छूट्यो । आफ्नो सधैंको दिनचर्यासरह ऊ शिकारका लागि जङ्गल तर्फ गयो। ऊ दिनभर बन्दी गृहमा रहेका कारण भोकप्यासबाट व्याकुल थियो ।

एउटा तलाउको किनारमा बेलको रुख थियो, शिकारी शिकार गर्ने सिलसिलामा त्यसै रूखमाथि चढ्यो । बेलको रुखमुनि शिवलिंग स्थापना गरिएको थियो, विल्वपत्रहरूबाट ढाकिएको हुनाले शिकारीले त्यस कुराको पत्तो पाएन । रुखमा चढ्ने क्रममा उसका खुट्टाले जुनजुन हाँगामा टेकियो, ती हाँगा भाँचिदै गए र संयोगले ती हाँगा रुखमुनि स्थापित शिवलिङ्गमा झरे । यसरी दिनभरि भोकै–प्यासै बस्नाले शिकारीको व्रत पनि पूर्ण भयो । एक पहर रात बिते पछि एउटी गर्भिणी मृग पोखरीमा पानी खान आइपुगी । शिकारीले धनुषमा बाण चढाएर प्रत्यञ्चा तान्नासाथ मृगीले भनी, म गर्भिणी छु। छिट्टै नै सुत्केरी हुनेछु ।

यतिबेला मेरो बध गर्दा तिमीले एकसाथ म र मेरा पेटमा भएका सबै जीवको हत्या गर्नेछौ, जुन उचित होइन । म बच्चा जन्मिउञ्जेल जीवनदानको याचना गर्दछु, सुत्केरी हुनासाथ म तिमीसमक्ष प्रस्तुत हुनेछु, त्यसबेला मेरो बध गर्नु शिकारीले प्रत्यञ्चा क्जुकुलो बनायो र त्यस मृगिणीलाई मुक्त बनायो । केही बेरपछि एउटा अर्को पोथीमृग पुनः तालाउमा देखा पर्यो । शिकारीको प्रसन्नताको ठेगान भएन । नजीकै आएपछि उसले धनुषमा बाण चढायो ।

तब उसलाई बाण हान्न ठिक्क परेको देखेर मृगले विनम्रतापूर्वक निवेदन गरी, हे शिकारी म केही समय पहिले ऋतुबाट निवृत्त भएकी छु । यत्तिबेला कामातुर र विरहिणी हुँदै आफ्नो प्रियको खोजीमा भौंतारिदै छु । म आफ्नो पतिसँग भेट गरी समागम गरी कामनिवृत्त भएर चाँडै तिम्रा नजीक आउने छु । शिकारीले उसलाई पनि छाड्यो । दुईदुई पटक शिकारलाई गुमाएर उसको टाउको रन्कियो । उ चिंतामा डुब्यो । रातको अन्तिम पहर बित्यो ।

त्यसवेला एउटी अर्की मृगिणी आफ्ना बच्चाहरूसँगै त्यही ठाउँमा आइपुगी । शिकारीका लागि यो स्वर्णिम अवसर थियो । उसले धनुषमा बाण चढाउन ढिलो गरेन । उसले अस्त्र प्रयोग गर्नै आँटेको मात्र के थियो, त्यस मृगले पनि अनुरोध गरी, हे शिकारी म यी बच्चाहरूलाई यिनका पिताको जिम्मा लगाएर फर्की आउने छु, त्यसैले अहिले मलाई नमार । शिकारी हाँस्यो र भन्न थाल्यो, आँफू अगाडि आएको शिकारलाई म कसरी छाडौं, म मूर्ख त हैन नि !

यसभन्दा पहिले नै मैले दुईपल्ट आफ्नो शिकार गुमाइसकेको छु । मेरा बच्चाहरू भोक र प्यासले घरमा छटपटिंदै होलान् म चाँहि हातमा आएको शिकार त्याग्दै बस्दै गरेको छु । उत्तरमा मृगिणीले फेरि पनि अनुरोधात्मक स्वरमा भनी, तिमीलाई जसरी आफ्ना बालबच्चाको ममताले सताउँदै छ, ठीक त्य्स्तै अवस्था हो मेरो पनि । त्यसैले केवल बालबच्चाका निमित्त केही बेरका लागि जीवनदानको याचना गर्दछु ।

हे मनुष्य– मेरो विश्वास गर, म यिनलाई यिनका पिताका जिम्मा लगाएर तुरुन्त फर्कने प्रतिज्ञा गर्दछु। मृगको दीनवचन सुनेर शिकारीलाई त्यसमाथि पनि दया पलायो। उसले त्यो शिकार पनि त्याग गर्यो । शिकारको अभावमा बेलवृक्षमा बसेको शिकारी दिक्क मान्दै बेलपत्र चुँड्दै फ्याल्दै गर्न थाल्यो। अब उज्यालोका किरण पूर्वीय क्षितिजमा देखिन थाले, त्यति बेला एउटा हृष्टपुष्ट मृग त्यसै पोखरीको किनारमा आइपुग्यो । शिकारीले यसको शिकार चाँहि अवश्य गर्नुपर्ने विचार गर्यो । शिकारीले हाना ठिका बनाएको प्रत्यञ्चा देखेर मृगले विनीत स्वरमा अनुरोध गर्यो, हे शिकारी भाइ१ यदि तिमीले मभन्दा पूर्व आएका तीनवटा पोथीमृग र ससाना बच्चालाई मारेका छौ भने मलाई पनि मार, यस पुनीत कार्यमा विलम्ब नगर, किनकि मलाई तिनीहरूको वियोगमा एक क्षण पनि बाँच्न रहर छैन । म ती मृगिणीहरूको पति हूँ ।

यदि तिमीले तिनलाई जीवनदान दिएका छौ भने मलाई पनि केही क्षणका निमित्त जीवन दिने कृपा गर । म तिनीहरूसँग भेट गरी तिम्रासामु उपस्थित हुनेछु । मृगका कुरा सुनेपछि शिकारीसम्मुख पूरा रातको घटनाचक्र घूम्यो, उसले सारा कथा मृगलाई सुनायो। तब मृगले भन्यो, ‘मेरी तीनवटै पत्नी जसरी प्रतिज्ञाबद्ध भएर गएका छन्, मेरो मृत्युले तिनीहरूले आफ्नो वचनको पालना गर्न पाउने छैनन्, किनकि मेरो अनुपस्थितिम तिनीहरूको कार्यसम्पन्न हुनेछैन । अतः जसरी तिमीले उनलाई विश्वासपात्र मानेर छाडेका छौ, त्यसैगरी मलाई पनि जानदेऊ। म उनीहरू सबैलाई साथमा लिएर तिम्रा अगाडि शीघ्र नै उपस्थित हुन्छु । जानीनजानी उपवास, रात्रि–जागरण तथा शिवलिङ्गमा बेलपत्र चढाएका कारण शिकारीको हिंसक हृदय निर्मल भएको थियो ।

उनमा भगवद्शक्तिले निवास गरेको थियो । धनुष तथा बाण उनको हातबाटा सहजै छूट्न पुग्यो। भगवान् शिवको अनुकम्पाले उसको हिंस्रक हृदय कारुणिक भाव विभोर भयो । त्यसले आफ्ना अतीतका कर्मलाई सम्झना गरी आँफू पश्चातापको ज्वालामा बल्न लाग्यो । केहीबेरपछि त्यो मृग सपरिवार शिकारीसमक्ष उपस्थित भयो । जंगली पशुहरूको यस्तो सत्यता, सात्विकता एवं सामूहिक प्रेमभावना देखेर शिकारीलाई ठूलो ग्लानि भयो । उसका आँखाबाट आंसुको वर्षा हुन थाल्यो ।

उसले मृग परिवारलाई नमारेर आफ्नो कठोर हृदयलाई जीव हिंसाबाट हटाई सदाका लागि कोमल एवं दयालु बन्यो । देवलोकबाट समस्त देव समाज पनि यस घटनालाई नियाल्दै थिए। घटना परिणतिमा पुग्नासाथ देवीदेवताले पुष्पवर्षा गरे । शिकारी तथा मृगपरिवारलाई मोक्ष प्राप्ति भयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु