कवयित्री ममता तिवारीको “जिवनका तरङ्ग” कविता कृति सिड्नीमा विमोचित

सिड्नी । कवयित्री ममता तिवारीको “जिवनका तरङ्ग” नामको कविता कृति सिड्नीमा एक समाहरोका बिच लोकार्पण भएको छ । अन्तराष्ट्रिय साहित्य समाज न्यु साउथ वेल्स च्याप्टरको आयोजनामा सम्पन्न सो कार्यक्रमका बिच उक्त कृति बिमोचित भएको हो । कार्यक्रममा समुदायका विशिष्ठ व्यक्तित्व, साहित्य प्रेमी, सर्जकहरूको बाक्लो उपस्थिति रहेको थियो । सो कृतिलाई ममता तिवारीले आफ्नो पहिलो कृति भएको भन्दै यसमा पाठकहरूको आशीर्वाद र सद्भाव मिल्नेछ भन्ने विश्वास व्यक्त गरेकी थिइन् । जिवनका तरङ्ग नामको पुस्तकलाई समिक्षा गर्ने क्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष तथा सुखसुत्रका लेखक आचार्य राजन शर्मा(भिमसेन सापकोटा) ले छाेटो र सरल तरिकाले लेखेका कविताहरू आधुनिक पाठकको मन छुने र समय सुहाउँदो रहेको बताउँदै हरेक व्यक्तिमा कवित्व हुने र हरेक व्यक्ति महान बन्न सक्ने, त्यो महानताको कसिनै आत्मविश्वास हो भन्दै सबैलाई उत्प्रेरीत गर्नुभएको थियो । उहाँले पुस्तकको समिक्षा गर्ने क्रममा नारी हस्ताक्षरहरू कवि डायस्पोराबाट उदाउनु नेपाली भाषा साहित्यकै सुखद पक्ष भएको बताउनुभयो । उत्प्रेरणाको क्रममा सबैले जिवनमा आफुसँग जुन कला छ त्यही कलाको गोडमेल गर्दै अगाडी बढ्न सक्दा नै जिवनमा सन्तुष्ट रहन सकिने पनि उहाँले बताउनुभयो ।

यस्तै सो कार्यक्रममा गैरआवशीय नेपाली संघ एनआरएन अस्ट्रेलियाका सल्लाहकार इन्द्रा बनले कविको कृतिलाई शुभकामना दिँदै ममता तिवारीको यो प्रयासमाथि सारहना गर्नुभएको थियो । यस्तै गैरआवशीय नेपाली संघ एनआरएन अस्ट्रेलिया अन्तर्गत ओसिनियाका संयोजक धर्म अधिकारीले पनि अस्ट्रेलियाबाट बढीरहेको साहित्यिक गतिविधि र अनेसासको यो प्रयासलाई आफुहरूले सक्दो सहयोग गर्ने बताउनुभयो । यस्तै गरेर नेपाली कला, साहित्य तथा संस्कृति प्रतिष्ठान एनकेएसएसपीका पुर्व अध्यक्ष जानकी पाैडेलले नेपाली साहित्यमा नारीहरूको उपस्थिति बढ्दै जानु सबै नारीहरूको लागी सुखद पक्ष रहेको बताउनुभयो ।

यस्तै गरेर कार्यक्रमका सवा नायक तथा अनेसास एनएस डब्ल्यु च्याप्टरका अध्यक्ष महेश्वर शर्माले जिवनका अनुभुतिहरूलाई कुदेको यस पुस्तक सबैको प्रीय बन्न सक्ने बताउँदै अनेसासले नयाँ आगन्तुकहरूलाई गोडमेल गर्ने र पुरानालाई आदर गर्ने गतिविधि संचालन गरीरहेको बताउनुभयो । यसै गरेर विश्वका विभिन्न देशमा अनेसास र एनआरएन बीच भएको समन्वयका बारेमा पनि चर्चा गर्नुभएको थियो ।

सो कार्यक्रममा व्यवसायी तथा समाजसेवी युवराज भट्टराईले जिवनका सम्पुर्ण तथ्यहरूलाई यस पुस्तकले समावेश गर्न खोजेको र सबै पाठकहरूको रूचिलाई तान्न सक्ने र आफु समुदायको सदस्य भएको हैसियतले सबैलाई यसले सहयोग पुर्याउने र यस्ता कृतिहरू जन्मिरहनु पर्ने बताउनुभयो ।

अनेसासका केन्द्रिय सदस्य तथा एनएसडब्ल्यु च्याप्टरकी पुर्व अध्यक्ष सानु घिमिरे सुत्रधार रहेको सो कार्यक्रममा विभिन्न सर्जक साहित्यकारहरूले आ-आफ्नो धारणा राख्नुभएको थियो । जिवनका तरङ्ग पुस्तक आफ्नो पहिलो कृति भएको र सो कृतिलाई आमा-बुबाको उपस्थितिमा बिमोचन गर्न पाउनु फलदायी हुने सम्झिएर कवयत्रीले आफ्नो माता तथा पिताको उपस्थितिमा सो पुस्तक बिमोचन गराउनुभएको थियो । कार्यक्रममा उहाँको माता-पीताले पनि गाैरवान्दित बन्दै शुभकामना दिनुभएको थियो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज अनेसासको स्थापनापछि सिड्नी लगायत विश्वका विभिन्न स्थानमा यस्ता नयाँ प्रतिभाहरू जन्मिले र पुस्तकहरू लेखिँदै जाने क्रम बढ्दै गएको पाइन्छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु