लिग कपको उपाधि म्यान्चेस्टर सिटीलाई

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लिग कप (कार्वाओ कप) फुटबलको उपाधि जितेको छ। छैटौं पटक उपाधि जित्ने क्रममा सिटीले टाइब्रेकरमा बलियो प्रतिद्वन्द्वी चेल्सीलाई पराजित गरेको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा सिटी ४–३ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो।

खेलको अन्तिम समयमा चेल्सीका प्रशिक्षक मौरिजियो सार्रीले गोलरक्षक केपा आर्रिजबगालालाई परिवर्तन गर्ने प्रयास गरे पनि सफल भएनन्। जुन विश्व फुटबलकै दुर्लभ घटना हो। प्रशिक्षकले खेलाडी परिर्वतन गर्न खोज्दा गोलरक्षकबाहिर निस्कन मानेनन्। जसका कारण प्रशिक्षक रिसले आक्रोसित देखिएका थिए। सार्रीले टाइब्रेकरका लागि विली काबालेरोलाई मैदान प्रवेश गराउन खोजे पनि केपाले मैदान छाड्न मानेनन्।

टाइब्रेकरमा केपाले लेरोय सानेको प्रहार बचाए। तर जित दिलाउन भने सकेनन्। सिटीका लागि सर्जियो अगुएरो, इल्काए गुन्डोगन, बर्नार्डो सिल्भा र रहिम स्ट्रलिङले गरेको प्रहार गोलमा परिणत भएको थियो। चेल्सीका एमर्सन, सेजार एज्पिलीक्वेटा र इडेन हाजार्डले गोल गर्दा जोर्जिन्होको प्रहार एडरसनले बचाएका थिए। डेभिड लुइजको प्रहार पोस्टमा लाग्नु चेल्सीका लागि दुर्भाग्य सावित भयो।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु