गौतमबुद्ध विमानस्थलको ७० प्रतिशत भौतिक प्रगति, भदौदेखि व्यावसायिक उडान

काठमाडौं । सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको जस्तै थियो । समस्या समाधानका लागि भएका पहलसमेत सकारात्मक हुन सकेको थिएन । निर्माण सामग्री उपलब्ध हुनसकेको थिएन । नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत प्रभावकारी समन्वय गर्न सकेको थिएन । आयोजना करीब करीब रुग्ण अवस्थामा पुगेको थियो ।

आयोजनालाई अगाडि बढाउने जिम्मेवार निकाय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पनि बेखबर अवस्थामा थियो । समन्वय गर्ने निकायको चासो थिएन । लगानीकर्ता एशियाली विकास बैंकलाई समेत आयोजनाको दुरवस्थाले पिरोलेको थियो । ठेकेदारको बेमेल परामर्शदाताको परामर्शको समेत सुनुवाइ नभएको अवस्थामा आयोजना सकिनसकी घस्रिरहेको थियो । सन् २०१५ को जनवरीदेखि शुरू भएको आयोजना सन् २०१७ मा सक्ने लक्ष्य भए पनि तोकिएको समयमा काम भएन ।

चौध महिनापछि आयोजनाको अवस्था अर्कै भएको छ । कूल २६ प्रतिशत भौतिक प्रगतिमा रहेको आयोजना आज करीब ७० प्रतिशतको हाराहारीमा पुगेको छ । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा पारेर निर्माण भइरहेको विमानस्थलको दुखद अतित सुखद् वर्तमानमा परिणत भएको छ । आगामी भदौ महिनादेखि व्यावसायिक उडान गर्ने लक्ष्यका साथ निर्माणकार्य भइरहेको आयोजना प्रमुख प्रवेश अधिकारी सगौरव बताउँछन् ।

एक वर्ष भयो अधिकारीले आयोजनाको नेतृत्व सम्हालेको । त्यसअघि आयोजना प्रमुखका रुपमा ओम शर्मा थिए । शर्मालाई प्राधिकरणले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेपछि अधिकारीलाई उक्त आयोजनाको जिम्मा दिइएको थियो । उमेरले ३३ वर्षीय अधिकारीले भने, ‘एक वर्षको बीचमा ठूलो प्रगति भएको छ । विमानस्थल बन्छ कि बन्दैन भनेर मडारिएको कालो बादल हटेको छ । जस्तो प्रगति भएको छ, यसमा म र मेरो समूह असाध्यै खुशी छ ।’

देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै समस्या आउने बित्तिकै हवाईजहाजलाई थाइल्याण्ड, कोलकत्ता, लखनऊ र नयाँदिल्ली ‘डाइभर्ट’ गर्नुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर विमानस्थलको प्रगति नहुँदा सरोकारवाला निकायमा निराशा फैलिइरहेको थियो ।

आयोजना प्रमुख अधिकारीका अनुसार आजका दिनसम्मको मूल्याङ्कन गर्ने हो भने ६७ प्रतिशत निर्माण सकिएको छ । विमानस्थलको धावनमार्गको तेस्रो चरणको कालोपत्र सकिएको छ । चौथो तहको कालोपत्र दुई दिनपछि शुरू हुँदैछ । कूल सात दशमलव पाँच इन्च मोटाइको चार तहको कालोपत्र सकिएपछि विमानस्थलको निर्माण करीब सकिन्छ । बढीमा २० दिनभित्र चौथो चरणको कालोपत्र सकेर बत्ती व्यवस्थापनलगायत काम गर्ने सोचमा आयोजना लागेको छ ।

ट्याक्सी पार्किङस्थल पिच गर्न ठिक्क पारिएको छ । टर्मिनल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । यस्तै ‘कन्ट्रोल टावर’को कामसमेत अन्तिम चरणमा पुग्न लागेको छ । आयोजना प्रमुख अधिकारी बिहानदेखि साँझसम्म निरन्तर काममा खटेका छन् । ठेकेदार, परामर्शदाता, प्राधिकरण सबैसँग समन्वयका साथ काम भएको छ । दैनिक चार सयभन्दा बढी मजदुरले नियमित रूपमा काम गरिरहेका छन् ।

समस्यामा फसेको आयोजना यो रुपमा यसरी अगाडि बढ्ला भन्ने धेरैलाई लागेको थिएन तर यतिखेर आयोजनाको प्रगति देखेर धेरैले भन्न थालेका छन्, इमान्दार भएर काम गर्‍यो भने प्रगति देख्न जुगौं कुर्नु पर्दैन । हालैमात्र उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले आयोजना निरीक्षण गरी समयमै काम सक्न आयोजना प्रमुख अधिकारीलाई हौस्याएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीले त दैनिकजसो नै आयोजनाको प्रगतिका बारेमा जानकारी लिँदै आएका छन् । ठेकेदारले तोकिएअनुसार काम गरेका छन् । निकट भविष्यमै एउटा मात्रै विमानस्थल हुनाको पीडाबाट नेपालले मुक्ति पाउँदैछ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको काखमा अन्तर्राष्ट्रिय विमानस्थल तयार हुँदैछ ।

आयोजना प्रमुख अधिकारी भन्छन्, ‘अबको चार महिनामा अर्थात् आगामी असारमा विमानस्थल पूर्णरूपमा तयार हुन्छ । उडानका लागि केही प्राविधिक कामका लागि मात्रै थप समय लाग्न सक्ने देखिन्छ ।’ विद्युतीय उपकरण जडान तथा अन्य प्राविधि तयारीको मात्रा १८ प्रतिशत पुगेको छ । यस्तै नियन्त्रणकक्ष तथा अन्य उपकरणको मात्रा १४ प्रतिशतको हाराहारीमा पुगेको छ । यी सबै काम तोकिएको समयमा पूरा हुने क्रममा छ ।

सरकारले पछिल्लो पटक थप चार अर्ब रुपैयाँ रकम आयोजनाका लागि उपलब्ध गराएको थियो । आयोजना विस्तारका लागि भन्दै अर्थ मन्त्रालयले रकमान्तर गरेर उक्त परिमाणको रकम मुआब्जाका लागि उपलब्ध गराएको हो । जनशक्तिको कमी, समन्वयको अभाव तथा ठेकेदार र परामर्शदाताबीचको बेमेल अन्त्य गरेर विमानस्थल निर्माणमा खटिएका अधिकारीले भने, ‘हामी नियमित काममा छौं । निर्माण नस्क्दासम्म सकियो भन्ने अवस्था त छैन तर जुन स्तरमा काम भइरहेको छ, त्यसले एउटा सन्तोष भने प्रदान गरेको छ ।’

अधिकाशं ठूला आयोजना समस्यामा परेकोे बेला सरकारको सकारात्मक प्रयासले उक्त विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ । कूल ४५ मिटर चौडाइ र ३ हजार मिटर लामो धावनमार्ग पनि निर्माण भएको छ ।

हालै मात्र प्राधिकरणले नेपाल आयल निगमलाई साढे सात बिघा जग्गा हवाई इन्धन भण्डारणका लागि उपलब्ध गराएको छ । निगम प्रवक्ता वीरेन्द्र गोइतका अनुसार विमानस्थल सञ्चालनमा आउने तयारी भएपछि हवाई इन्धनका लागि उक्त जग्गा उपलब्ध गराइएको हो । आयोजनाको कूल लागत मूल्यअभिवृद्धि करसहित छ अर्ब २२ करोड ५१ लाख २० हजार ११८ रुपैयाँ छ । रमेश लम्साल/रासस

Comments

comments

सम्बन्धित शिर्षकहरु