नेपालले युएईलाई ४ विकेटले हरायो,श्रृंखला बराबरीमा

काठमाडौं । यूएई र नेपालबीचको दोस्रो टी–२० मा नेपाल ४ बिकेटले विजयी भएको छ । निकै रोमाञ्जक खेलमा अन्तिम ओभरमा नेपाललाई ६ रन आवश्यक परेको थियो । दिपेन्द्र सिंह ऐरीको आक्रामक ब्याटिङले नेपाललाई ४ विकेटले जिताएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले १९.२ ओभरमा सवै विकेट गुमाएर १०८ रनको लक्ष्य दिएको थियो । युएईले दिएको झिनो लक्ष्य पनि पछ्याउन नेपाली ब्याट्सम्यानलाई हम्मेहम्मे परेको थियो । यूएईले दिएको १ सय ८ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टाएको थियो । दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाएका हुन् ।

नेपालका लागि दीपेन्द्रले नटआउट ४७ रन जोडे । ४१ बलको सामना गरेका उनले ४ चौका र एक छक्का प्रहार गरे । पवनले २५ बलमा २ चौकासहित १८ रन जोडे । यस्तै करण केसीले २०, प्रदीप ऐरीले ८ र ज्ञानेन्द्र मल्लले ७ रन जोडेका थिए । त्यसअघि आइसिसी एकेडेमी ओभल मैदान दुबईमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको यूएईले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ७ रनमात्रै जोड्न सकेको थियो ।

युएईका लागि चुन्दानगापोइल रिज्वानले ४४ रनबाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन् । ४३ बलको सामना गरेका उनले ४ चौका र १ छक्का प्रहार गरे । यस्तै शाइमन अनवरले १४, मोहम्मद बुटाले ११ रनबाहेक अन्यको दोहोरो अंक रहेन । नेपालका अविनाश बोहराले ३ विकेट लिए । चार ओभरमा अविनाशले २० रनमात्रै खर्चे । यस्तै सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए ।

सुरुदेखि नै नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन जारी राखेका थिए । पहिलो ओभरमै सोमपालले युएईका ओपनर अस्फाक अहमद(६)लाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराएका थिए । तेस्रो ओभरमा घुलम शब्बिर(६)लाई अविनाशले विकेटकिपरको प्रदीप ऐरीको हातबाट क्याच गराए । यस्तै सन्दीप लामिछानेले छैटौं ओभरको पाँचौं बलमा शाइमन अनवर(१४) र अन्तिम बलमा मोहम्मद उस्मान(०)को विकेट लिएपछि युएईमाथि दबाब बढेको थियो ।

टि–२० शृंखलाको अन्तिम खेल भने आइतबार हुनेछ । नेपालले युएईविरुद्ध यसअघि खेलेको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला भने २–१ ले जितिसकेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु