यूएईविरुद्धको पहिलो टि-२० अन्तर्राष्ट्रियमा नेपाल २१ रनले पराजित

काठमाडौं । यूएई भ्रमणको पहिलो टि-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल घरेलु टोली यूएईसँग २१ रनले पराजित भएको छ। आइसिसी ओभल मैदानमा यूएईले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटमा १ सय ३२ रनमात्रै जोड्न सक्यो।

डेब्यू गरेका सन्दीप जोराले नेपालका लागि पहिलो टि-२० अन्तर्राष्ट्रिय खेलमा अर्धशतकीय पारी खेलेपनि नेपाललाई जिताउँन सकेनन्। ४६ बलको सामना गरेका सन्दीपले ३ चौका र १ छक्कासहित ५३ रन बनाए। यस्तै नेपालका लागि सोमपाल कामीले २७ र पारस खड्काले २५ बाहेक अन्यले दोहोरो अंक जोड्न नसक्दा हार बेहार्नुपर्यो।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन जोडेको थियो। यूएईका लागि शाइमन अनवरले ५९ रनको अर्धशतकीय पारी खेले। ३८ बलको सामना गरेका उनले ५ चौका र २ छक्का प्रहार गरे। यस्तै मोहम्मद उस्मानले ३० रन जोड्ने क्रममा एक चौका र दुई छक्का प्रहार गरे।

यस्तै उसका रिज्वानले २२, मोहम्मद बुटाले २० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २-२ विकेट लिए। यस्तै सोमपाल कामी र अविनाश बोहराले समान १-१ विकेट लिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु