कुखुराले वाथ रोग र क्यान्सरसँग लड्ने औषधियुक्त अण्डा पार्न सफल !

बीबीसी । शरीरले प्रोटिनका केही तत्वहरु प्राकृतिक रुपमा पर्याप्त उत्पादन गर्न नसक्नाले पनि थुुप्रै रोगहरु निम्त्याउने गरेको छ । यस प्रकारका रोगलाई तीनै तत्वयुक्त औषधिमार्फत नियान्त्रण गर्न सकिन्छ र त्यस्ता औषधिहरु फार्मेटिकल कम्पनीहरुले उत्पादन गर्ने गर्दछन् जसको निर्माण प्रक्रिया अत्याधिक महङ्गो हुने गर्दछ ।

यस्तोमा अनुसन्धानकर्ताहरुले कुखुराको जिनमा वैज्ञानिक परिवर्तन गरि तिनका अण्डाबाट औषधिजन्य पदार्थ निकाल्ने प्रयास गरेका हुन् । जस अन्तर्गत कुखुराले वाथ रोग र क्यान्सरसँग लड्ने औषधियुक्त अण्डा पार्न सफल भएका हुन् । यसरी अण्डाबाट सो औषधिजन्य पदार्थ निकाल्नु , उद्योगमा उत्पादन गर्नुभन्दा १०० गुना सस्तो उपाय भएको बताइएको छ । त्यसैले अब केही समयमै यस्ता औषधिहरु व्यवसायिक प्रयोगका लागि धेरै मात्रामा उत्पादन गर्न सकिने वैज्ञानिकहरुको विश्वास छ ।

यो तरिका अपनाइरहँदा कुखुराहरुलाई कुनै नराम्रो प्रभाव नपरेको, बरु अन्य फार्ममा भन्दा तिनको अझ बढी ख्याल राखिएको एडिनबर्गस्थित रोस्लिन टेक्नोलोजीकी डाक्टर लिसा हेरोन बताउँछिन् । उनले भनेकी छन्, “तिनीहरुलाई धेरै ठूलो क्षेत्रफलमा राखिएको छ भने उच्च प्रशिक्षण लिएका प्राविधिक विद्हरुले हेरचाह गरिरहेका छन् ।” त्यसैगरी कुखुरालाई पनि सामान्य अवस्थामा अण्डा पारेको जस्तै महसुस हुने हुँदा यसले तिनको स्वास्थ्यमा पनि कुनै असर नगर्ने उनको भनाइ छ ।

वैज्ञानिकहरुले यसअघि पनि जिन परिमार्जित गरिएका बाख्रा, खरायो र कुखुरालाई तिनका अण्डा वा दूघबाट प्रोटिन उत्पादन गर्न प्रयोग गरिसकेका छन् । यसरी यो नयाँ तरिका अपनाउँदा पहिले भन्दा राम्रो नतिजा आइरहेको र तुलनात्मक रुपमा सस्तो पनि भएको हुँदा यो अनुसन्धान प्रभावकारी साबित भएको वैज्ञानिकहरुको भनाइ छ । यही औषधिलाई उद्योगमा उत्पादन गर्न अत्यन्तै स्वच्छ वातावरणयुक्त विशेष किसिमको कोठा चाहिने तर यता कुखुरा पालनको घर बनाउन धेरै सस्तो हुने हुँदा सबैभन्दा धेरै बचत यसैमा हुने गरेको बताइएको छ ।

यसरी डाक्टर हेरोन र उनका सहकर्मीहरुले यसै तरिकालाई सस्तो र सहज बनाउन मानिसमा प्रोटिन उत्पादन गर्ने जिन कुखुराको अण्डामा हुने सेतो भाग उत्पादन गर्नेसँग सम्बन्धी डिएनएमा राखेका हुन् । जसको अण्डाबाट आवश्यक प्रोटिन निकालिएको हो ।

यसरी ती कुखुराले पारेका अण्डालाई फुटाएर पहेलो र सेतो भाग छुट्याएपछि डाक्टर हेरोनको टोलीले तिनमा तुलनात्मक रुपमा एकदम धेरै मात्रामा प्रोटिन रहेको पत्ता लगाएको हो । यसमा हाम्रो प्रतिरक्षात्मक प्रणालीलाई आवश्यक दुई किसिमका प्रोटिनलाई केन्द्रित गरिएको छ । त्यसमध्ये एउटाको नाम ‘आइएफनाल्फा२ए’ रहेको छ जसमा क्यान्सरसँग लडन्े अत्यन्तै शक्तिशाली एन्टिभाइरल क्षमता हुन्छ । त्यस्तै अर्को ‘म्याक्रोफेज–सिएसएफ’ लाई चाहिँ एउटा थेरापीका रुपमा विकसित गरिएको छ जसले क्षतिग्रस्त टिस्युलाई आफैँ ठीक हुन मद्दत गर्छ ।

यसरी केबल तीनटा अण्डा औषधिको पर्याप्त डोज हुने गरेको बताइएको छ । यस्तोमा कुखुराहरुले वार्षिक तीनसय अण्डा पार्न सक्ने हुँदा व्यवसायिक रुपमै सो औषधि उत्पादन गर्न मिल्ने वैज्ञानिकहरुको भनाइ छ । यसरी मानिसका लागि मात्र नभएर कुखुराको सहायताले जनावरहरुका लागि पनि उपयोगी औषधि निर्माण गर्न सकिने बताइएको हो । यसमा प्रतिरोघात्मक क्षमता बढाउने औषधि पर्छन् जसलाई एन्टिबायोटिकको विकल्पका रुपमा प्रयोग गर्न सकिन्छ । पछिल्लो समय एन्टिबायोटिकको बढ्दो प्रयोगले भाइरसहरु झन बलियो बन्दै एन्टिबायोटिक प्रतिरोधक हुन थालेको पाइएको छ जसलाई चिकित्सा क्षेत्रले ठूलो खतराका रुपमा लिने गरेको छ । १२ खरी
बीबीसीबाट

Comments

comments

सम्बन्धित शिर्षकहरु