‘अन्तरिम राष्ट्रपति’ गुआइदो र कूटनीतिज्ञविरुद्ध हिंसा नगर्न अमेरिकी चेतावनी

एजेन्सी । काठमाडौं– संयुक्त राज्य अमेरिकाले भेनेजुएलास्थित अमेरिकी कूटनीतिज्ञ वा विपक्षी नेता ह्वाँ गुआइदोविरुद्ध कुनै पनि प्रकारको हिंसा वा धम्की भए त्यो सह्य नहुने र त्यसप्रति उल्लेखनीय प्रतिक्रिया दिइने चेतावनी दिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले उनकै शब्दमा निकोलस मदुरोको माफिया तन्त्रबाट आफूलाई मुक्त गर्ने भेनेजुएलाली जनताको प्रयत्नलाई वासिङ्टनले समर्थन गर्ने बताएका छन् ।

बोल्टनको आइतवारको ट्वीट सन्देश अमेरिका र अन्य बीस देशहरूले गुआइदोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति मानेको केही दिनपछि आएको बीबीसीले जनाएको छ । उनीहरूले गत वर्षको निर्वाचनमा राष्ट्रपति निकोलास मदुरोले धाँधली गरेको आरोप लगाएका छन् ।

मतदानमा धाँधली गरेको भन्ने विपक्षीको विरोध र आरोपका बीच भेनेजुएलाको राष्ट्रपतिको दोस्रो कार्यकालको लागि मदुरोले शपथ ग्रहण गरेका थिए । गुआइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिने देशहरूको अग्रपङ्क्तिमा अमेरिका रहेको छ ।

एउटा सैन्य अभ्यासमा सहभागी सैनिकहरूलाई सम्बोधन गर्दै मदुरोले साम्राज्यवादीहरूबाट हुन सक्ने सत्ता हत्याउने प्रयासलाई विफल तुल्याउन तयार रहन आग्रह गरेका छन् । तर, विपक्षी नेता गुआइदोले सैनिकहरूलाई आफ्नै देशका जनतामाथि गोली नहान्न आग्रह गरेका छन् ।

मतदानमा धाँधली गरेको भन्ने विपक्षीको विरोध र आरोपका बीच भेनेजुएलाको राष्ट्रपतिको दोस्रो कार्यकालको लागि मदुरोले शपथ ग्रहण गरेका थिए । उनलाई राष्ट्रपति पदबाट हटाउने विपक्षीहरूको बढ्दो प्रयाससँगै भेनेजुएलाको राजनीतिक संकट उच्च विन्दुमा पुगेको देखिन्छ । आइतबार अमेरिकाका लागि भेनेजुएलाका वरिष्ठ सैन्य प्रतिनिधि कर्नेल जोस लुइस सिल्भाले पनि मदुरोको सरकारको विरोध गर्दै गुआइदोको समर्थन गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु