वाइडबडी जहाजको आवश्यकता थियो कि थिएन, कहाँ चुके कंसाकार ?

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले नेपाल सरकारको जमानीमा कर्मचारी संचय कोष र नागरिक लगानी कोषसँग ऋण लिइ दुईवटा वाइडबडी जहाज ल्याइसकेको छ। यो सँगै नेवानिसँग अहिले चारवटा नयाँ र एउटा पुरानो बोइङ सहित कुल ५ वटा ठूला जहाज जम्मा भएका छन्।

वाइडबडी जहाजमा २७४ यात्रु बोक्ने र न्यारोबडीमा करिब १६० जनाको क्षमता रहको बताइएको छ। पूर्ण क्षमतामा निगमको जहाजले यात्रु पाएमा एकपटकमा करिब १ हजारजनालाई एकैपटक सेवा दिन सक्ने दाबी निगमको रहेको छ। नेवानिको इतिहासमा पहिलो पटक यति धेरै यात्रु बोक्न सक्ने क्षमता जुटेको हो।

यसअघि नै एयरबस कम्पनीका दुईवटा न्यारोबडी जहाज ल्याउने क्रममा विवादमा परि भ्रष्टाचारको मुद्दामा प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार २ वर्ष जेल बसिसकेका छन्। यसका बावजुद वाइडबडी जहाज ल्याउनका लागि कंसाकार कस्सिएपछि ती जहाज नेपालको भूमिमा अन्ततः आइपुगेको छन्।

वाइडबडी जहाजको बिषयमा उठेको विवाद संसदको लेखा समितिमा पुगेपछि सवाल जवाफको क्रममा आफ्नो नेतृत्वमा जहाज ल्याएको हुनाले पुरस्कृत हुनुपर्नेमा विवाद भएको भन्दै तर्क गरेका कंसाकार वाइडबडी ल्याउन सफल भएरपनि केहि ठाउँमा चुकेका छन्। फलस्वरुप उनको पदनै संकटमा परेको छ।

निगममा कंसाकारको इतिहास

करिब १० वर्षअघि ऋणको खाडलमा डुबिरहेको नेवानि नेतृत्वमा पहिलोपटक सुगतरत्न कंसाकारको प्रवेश भएको थियो। हाल सबैभन्दा ‘विवादित’ हैसियतमा रहेका निगम आउनुअघि उनले नेपाल टेलिकम(तत्कालिन दूरसंञ्चार संस्थान) मा काम गरेका थिए।

उनी टेलिकममा हुँदा पनि विवाद नभएको भने होइन। यसका बावजुद ३ वर्ष दूरसंञ्चार सञ्चालक समितिको सदस्य र दुई कार्यकाल महाप्रबन्धक भई काम गरेर टेलिकमलाई सफल बनाएर आफूलाई सक्षम प्रमाणित गरेकोले पनि नेवानिमा त्यस्तै सफलता पाउन सक्ने भन्दै उनलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिईएको थियो।

निगम आएदेखि नै जहाज खरिद गरेरमात्र निगमलाई उकास्न सकिने भन्दै उनले निगमलाई पनि नेपाल टेलिकम जस्तै सफल बनाउने उद्घोष नै गरेका थिए। विवादहरुको चरम घेरामा परेर पनि जहाज ल्याउने इच्छाशक्ति देखाएका उनले निगम सुधार्नको लागि तीन तहको योजना रहेको सधैं बताउने गरेका थिए। पहिलो निगमको क्षमता वृद्धि गर्न हवाईजहाज किन्ने, दोश्रो जहाज किन्न वित्तिय व्यवस्थापन मिलाउने र तेस्रोमा निगमको व्यवस्थापन सुधार गर्ने।

यसरी सुरु भयो जहाज आउने क्रम

बिसं २०६६ मा यूरोपेली जहाज निर्माता कम्पनी एयरबससँग ६ वटा नयाँ जहाज किन्ने सम्झौता भयो। यसले मिडियामा राम्रै चर्चा पायो।
जति सजिलोसँग जहाज ल्याउने भनियो, त्यसको विपरित विमान आउने कुरा सुरुवात देखिनै कठिन हुन थाल्यो।

बैना गरेको २ वर्षपछि जहाज किन्ने रकमको व्यवस्था नहुँदै जहाज निर्माता एयरबसलाई ५ करोड ७३ लाख ७५ हजार पठाउँदा भ्रष्टाचार भएको भन्दै पहिलो पटक खरिद प्रक्रिया विवादमा प¥यो।

सो विवादले कंसाकारलाई जेल नै पु¥यायो। मुद्दाको प्रक्रिया चल्दै जाँदा २०६८ बैशाख ६ विशेष अदालतले कंसाकारले गरेको बैना कारोबार कानूनसम्मत भएको र त्यसमा भ्रष्टाचार नभएको ठहर गर्यो। यस्तै सर्वोच्च अदालत संयुक्त इजलासबाट पनि २०६९ बैशाखमा उनलाई सफाई दिईयो।

यसको ४ वर्षपछि पुनः एयरबससँग न्यारोबडी जहाज खरिदका लागि हवाई सम्झौता भयो। कंसाकार थालेका प्रक्रियाले जहाज आएसँगै पूर्णता पायो। २०७१ माघमा आएको पहिलोपटक एयरबसको ए३२० न्यारोबडी जहाज नेपाल आइपुग्यो। त्यस्तै २०७२ वैशाख १८ मा सोही प्रकारको दोश्रो जहाज पनि नेपाल भित्रियो।

त्यस्तै २०७२ साल जेठमा कंसाकार पुनः निगमको महाप्रवन्धकमा नियुक्त भए। पहिलो पटक जहाज किन्दा ‘लफडा’ मा परेका कंसाकारले यसपटक त्यो भन्दा ठूलो जोखिम मोल्दै वाइडबडी जहाज ल्याउने प्रक्रिया सुरु गरे।

आर्थिक वर्ष २०७३/७४ को नीति तथा कार्यक्रममै आगामी वर्षमा २ वटा वाइडबडि विमान खरिद गर्ने व्यवस्था मिलाईने उल्लेख भएको थियो। सरकारी यो योजनालाई कार्यान्वयन गर्ने हिसावले कंसाकारले काम अघि बढाए र अन्ततः दुईवटा वाइडबडी जहाज पनि नेपाल आयो।

वाइडबडी जहाजको आवश्यकता थियो ?

वाइडबडी जहाजमा विवाद आइरहँदा धेरैले जहाज नकिनेको भए हुनेथ्यो भन्ने भाव व्यक्त गरिएको देखिने गरेको छ। जहाज खरिदका सम्वन्धमा अहिलेसम्म जति पनि घटना परिघटना भएका छन्, यसले जहाज खरिद प्रकृया निकै चुनौतिपूर्ण छ भनेर सिद्ध गरिदिएको छ। कर्मचारी वर्गमा यसले थप त्रास सिर्जना गरेको छ।

नेपाल पर्यटकीय गन्तव्यको महत्वपूर्ण देश भएको र वैदेशिक रोजगारीको लागि नेपालीहरु ठूलो संख्यामा विदेशिएकाले पनि हवाइ बजारमा नेपालको अत्यधिक सम्भावना रहेको यस क्षेत्रमा लागेकाहरु बताइरहेका छन्।

यहि बजारलाई मध्यनजर गर्दै अहिले ३० वटा भन्दा बढि अन्तर्राष्ट्रिय एयरलायन्सले नेपालमा उडान भरिरहेका छन्। २०४६ सालमा जम्मा ८ वटा विदेशी एयरलायन्सले मात्र नेपालमा उडान भर्ने गरेका थिए। यस्तो प्रचुर सम्भावना भएको अवस्थामा नेवानिले नयाँ जहाज ल्याउँदै व्यापार गर्दा नेपालीहरुलाई फाइदा पुग्ने प्रमाणित भइसकेको छ। सस्तो भाडादर तथा सिधा उडान भएमा कम उडान समयका कारण यात्रु लाभान्वित हुने कारणले पनि जहाज किन्नुलाई गलत काम भन्ने तर्कलाई सहि मान्न सकिने अवस्था देखिँदैन।

राष्ट्रिय ध्वजाबाहक भएका कारण नेवानिलाई नीजि एयरलायन्स जस्तो विदेशमा उडानको इजाजत प्राप्त गर्न त्यति कठिनाइ पनि छैन। जहाज पर्याप्त हुने हो भने, नेवानिले अहिले इथियोपियन एयरलायन्स जस्तै व्यापार गर्न सम्भव रहेको जानकारहरु बताइरहेका छन्।

लामो दूरीको उडान नभरेसम्म अपेक्षाकृत व्यापार नहुने भएकोले पनि निगमले वाइडबडी जस्तै उच्च क्षमताका जहाजको माध्यमबाट युरोप र अष्ट्रेलियासम्मको यात्रा गर्न सकेमा सहजै ऋणको किस्ता तिर्न सकिने यसअघि नै प्रक्षेपण गरिइसकेको छ।

कहाँ चुके कंसाकार ?

जहाज नेपाल भित्रिएपछि सबै काम सकिएको जस्तो व्यवहार प्रदर्शन गर्नु नै कंसाकारको खास कमजोरी भएको जानकार विज्ञहरु बताउँछन्। उनी यहीँनेर चुकेको उनीहरुको विश्लेषण छ। जहाजको बिषयमा सामान्य प्रश्नहरु उठ्दा पनि त्यसको सहि जवाफ सहि समयमा दिन नसक्दा पनि सानो विवादलाई बढाउने मौका मिलेको उनीहरुको बुझाई छ।

विमानको तौलको बिषयमा उठेको विवादलाई सहि माध्यमबाट स्पष्ट पार्न सकेको भए यसरी अनावश्यक विवादहरु उब्जने सम्भावना थिएन भनेर जानकार व्यक्तिहरु बताउँछन्। भ्रमको खेती गर्दै माफियालाई सहयोग पार्ने तत्वहरुले जहाजको स्वामित्व नै नभएको, खरिद प्रक्रिया नै कानून विपरित भएको, अर्बाैं भष्टाचार भएको भन्दै विवाद नै नआउनु पर्ने बिषयमा विवाद आइरहँदा सटिक जवाफ दिन नसक्नु कंसाकारको गल्ती नै हो भनेर ठोकुवा गर्नेहरुको कमि छैन।

सर्वोच्च अदालतले खरिद प्रक्रिया कानूनसम्मत भएको निर्णय गरेको, जहाजको स्वामित्व आफैंसँग भएको कुरा भन्न ढिलाइ गर्नाले पनि विवाद बढेको बुझिएको छ। त्यसमाथि जहाजको कागज असनमा छर्ने बिषय हैन भनेर हलुका जवाफ दिएपछि कंसाकारको तिब्र आलोचना भएको थियो। त्यस्तै जहाजको बिषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा लेखा समितिको बैठकमा ‘पुरस्कार माग्नु’ पनि कंसाकारको कमजोरी हो भनेर निगमका कर्मचारीहरुले पनि भन्ने गरेका छन्।

निगमको चुनौति

यसरी प्रकृयाको सुरुवाती चरणदेखि नै यस्ता विभिन्न वाधा अड्चन छिचोल्दै नेपालमा २ वटा न्यारोबडी र २ वटा वाइडबडी जहाज आइसकेका छन्। अब यसको संचालन पूर्ण क्षमतामा कसरी गर्ने भन्ने व्यवसायिक योजनामा काम गर्ने चुनौति निगमसँग रहेको छ। सरलपत्रिकाले समाचार लेखेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु