डा. लम्सालको यो प्रेमको कविता

महाकविको बाटोमा डा. नवराज लम्साल ।

आंफैमा एक सिङ्गो विश्वविद्यालय डा. लम्सालको यो प्रेमको कविता ।

 

शीर्षक: संवाद

आगोले पोल्दैन
पानीले भिजाउँदैन
रात पनि उज्यालो लाग्छ
र काँडै टेकेर चढ्छु
मेरो सपनाको हिमाल
यत्रो आँट किन थाहा छ ?
मेरो पछाडि तिमी छौ
र मेरै खुसीका लागि
तिमीले पुछेकी छ्यौ गहभरिको आँसु
तिम्रो आँसु कसम
म तिम्रो मायाकै आँचलमा यो जीवन जीवन्त राख्छु ।

मतिर फूल फालेर
तिमी काँडा टेकिरहेकी मलाई थाहा छ
आँखै सुन्निने गरी रोएर
आँसुभरि मलाई देखिरहेकी मलाई थाहा छ
थाहा छ –
तिमी पाइलापाइलामा लुटिएकी छौ
चुँडिएको छ तिम्रो पनि सपना
र तिम्रो जीवनकै एउटा ठूलो खुसीका दिन
तिमी एक्लै रोएको थाहा पाएकै हुँ
त्यो आँसु झिर बनेर यो छातीमा पसेछ
म पहाड बनेर उभिरहन सकूँ
र तिमी झरना बनेर झरिरहू मेरो शिरमा
गङ्गा शिवजटामा अल्मलिएझैँ ।

चरा पिँजडमा हुनु त्यति कठिन नहोला
जति कठिन मान्छे पिँजडामा हुनुमा छ
न तिमी तोड्न सक्छौ
न त म तोडिदिन सक्छु
हो, यही बन्धनको धारले रेटिएपछि न
जीवन सुकिलो हुन्छ
तिमी तिम्रै नदी बग्दै आऊ
म मेरै गतिमा यात्रारत हुन्छु
दोभानमा दुई शालिग्राम भेटेका दिन
आगो होइन अर्ध दिएर फर्कने छन् मलामीहरू
मुटुले जस्तै शरीरले पनि स्पर्श गरेर
हामी त्यहीँ गरौँला जीवनको मीठो संवाद ।

 


 

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु