अष्ट्रेलियामा तापक्रमको कीर्तिमान भंग,घरभित्रै बस्न सरकारको आग्रह

अष्ट्रेलिया । अष्ट्रेलियाका गर्मी अत्यधिक बढेको छ । उच्च तापक्रमका कारण अस्ट्रेलियाको केही भुभागको जनजीवन प्रभावित भएको छ । बुधबार न्यू साउथ वेल्सका विभिन्न ९ ठाउँमा सबैभन्दा गर्मी भएको त्यहाँको मौसम विभागले जनाएको छ । मौसम विभागका अनुसार न्यू साउथ वेल्सको ह्वाइटक्लीफमा बुधबार दिउँसो साढे तीन बजेको तापक्रम ४८.३ डिग्री सेल्सियस रहेको थियो । जुन अहिलेसम्म मापन भएको सबैबढी तापक्रम हो । विल्कानियाको सुदूरपश्चिममा, मेनिन्डी र इभानह्वोइमा बिहीबार तापक्रम ४८ डिग्री सेल्सियस पुगिसकेको छ । तापक्रम अझै बढ्ने क्रममा रहेको त्यहाँको मौसम विभागले जानकारी दिएको छ ।

न्यू साउथ वेल्समा पर्ने एल्बोरी र वोडोङगाको भिक्टोरिया बोर्डर शहरमा पनि तापक्रम ४५ डिग्री पुगिसकेको छ । अत्याधिक गर्मी बढेपछि सरकारले जरुरी काम बाहेक नागरिकलाई बाहिर ननिस्कन भनेको छ । अघिल्लो २४ घण्टाको तथ्याङ्कलाई आधार मान्दै अझै तापक्रम बढ्न सक्ने भन्दै नागरिकलाई सचेत गराइएको छ ।

त्यहाँका मौसम अधिकारीका अनुसार दक्षिणी अष्ट्रेलियामा पछिल्लो तीन दिनमा औसत १० देखि १४ प्रतिशतको दरमा तापक्रम बढेको छ । अधिकारीहरुले नागरिकलाई बढी सचेत हुन र घरभित्रै रहन आग्रह गरेका छन् । उनीहरुले प्रशस्त मात्रामा पानी पिउन र शारीरिक काम कम गर्न भनेका छन् । वरिष्ठ मौसमविद् रड डिक्सनल मेलबर्न शहरको तापक्रम पनि बढेर ३७ डिग्री सेल्सियस पुग्न सक्ने बताएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु