किन मनाइन्छ माघे संक्रान्ति ? यस्तो छ वैज्ञानिक अर्थ र यसको महत्व

काठमाडौं । मकर संक्रान्ति भनिने माघे संक्रान्तिको वैज्ञानिक अर्थ छ । माघ एक गतेबाट सूर्य मकर राशिमा प्रवेश गर्ने हुँदा माघे संक्रान्तिलाई मकर संक्रान्ति भनिन्छ । यस दिनदेखि सूर्य उत्तरतिर ढल्किँदै जाने र रात छोटो हुन थाल्छ । संक्रान्तिको अर्थ एक स्थानबाट अर्को स्थानमा सर्नु पनि हो ।

माघे संक्रान्तिलाई चिसो याम सकिएर गर्मीलाई स्वागत गर्ने भनेर पनि बुझ्ने गरिन्छ । महिनौंको चिसोबाट शरीरको अङ्गहरु थाकेका हुन्छन् । शरीरबाट चिसो घटाउन घिऊ, चाकु, तिल, तरुल, पालुङ्गो आदि उपभोग गर्न सकिने सांकेतिक प्रचलन हो यो । यी सामाग्रीहरु खानाले शरीरमा ताप पैदा गर्ने तथा विभिन्न पौष्टिकता प्रवाह हुने धर्मशास्त्रीय तथा वैज्ञानिक मान्यता छ । माघे संक्रान्तिको दिन शरीरमा तेल पनि मालिस गर्ने प्रचलन छ । शरीरमा गढेर बसेको चिसो फ्याँक्न तेल मालिसले आन्तरिक तापमान वृद्धि गर्न सघाउ पुग्दछ ।

यसको महत्व
माघे संक्रान्तिका दिन नेपालमा विभिन्न नदीनाला, सागर तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेको पाइन्छ । माघे संक्रान्तिका दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले नै “मकर संक्रान्ति” भनिएको हो भन्ने भनाइ रहँदै आएकोछ । सोही दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फबाट प्रवेश गर्ने हुँदा दिन लम्बिँदै जाने र रात छोट्टिँदै जाने विश्वास गरिन्छ ।

माघे सक्रान्तिका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भन्दो र मकलसहितको सीदा दाङ गरेमाबिशेष प्राप्त हुने र उक्त फल आफूले खाएमा शरीर पोषिलो हुनुका साथै रोगब्याधी नलाग्ने कुराको उल्लेख भविष्य पुराण, विश्नुबचन तथा धर्म सिन्धुमा उल्लेख गरेको पाइन्छ । बिबिध जाति र समुदायको बाहुल्यता रहेको नेपालमा यो पर्व सबैले मनाउने गरेको पाइन्छ । तराईका जिल्लाहरूमा मैथिलीले तिला सङ्क्रान्ति पर्वका रूपमा मनाउँछन् । तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ । माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । मगर जातिहरुले यस पर्वलाई ३ दिनसम्म बिशेष धुमधामका साथ् मनाउने गर्दछन् ।पहिलो दिन स्नान गरेर पुर्खा तथा कुलायनको पूजा गर्ने र दिदीबहिनीलाई “निशो” ले पुज्ने प्रचलन छ । दोस्रो दिन माघ खान बनभोजको रुपमा टाढा जाने गर्दछन् भने अन्तिम दिन गाउँभरिका पुरुषहरु मिलेर तारो हान्ने चलन छ ।

हिजोआज भने माघे सक्रान्ति देश विदेश जतासुकै मनाउने प्रचलन बढ्दै गएकोछ । तिलका लड्डु, चाकु, तारुल र सेलरोटी जस्ता विभिन्न परिकारको साथमा माघे सक्रान्तिको रमझम गर्ने गरेको पाइन्छ । जाडोयाममा पर्ने यो चाडमा शरीरलाई न्यानो राख्न सहयोग पुर्याउने खाध्य सामाग्रीहरुको प्रयोग गरिनु स्वास्थ्यको हिसाबले पनि लाभदायक देखिन्छ । शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु