१४ करोड ६७ लाखको आइपीओ खुल्यो, क-कसले पाउँछन् भर्न ?

काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनीले कम्पनीले प्रतिकित्ता १०० रुपैंया अंकित १४ लाख ७६ हजार ४०० कित्ता अर्थात् १४ करोड ७६ लाख ४० हजार रुपैंया बराबरको शेयर पुस २७(आज) देखि निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई साधारण शेयर (आइपीओ) निष्काशन गरेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने जारी पूँजीको २५ प्रतिशत अर्थात ३६ लाख ९१ हजार कित्तामध्ये पहिलो चरणमा स्थानीयका लागि १४ लाख ७६ हजार ४०० कित्ता आयोजना प्रभावितलाई बाँडफाँड गरेपछि दोस्रो चरणमा २२ लाख १४ हजार ६०० कित्ता शेयर सर्वसाधारण र कर्मचारीका लागि निष्काशन गर्ने जनाएको छ ।

पहिलो चरणमा आइपीओमा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरा गाउँपालिका र सुनकोशी गाउँपालिकाका आयोजना प्रभावित बासिन्दाले आवेदन दिन सक्नेछन् । आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ७ हजार ३८० कित्तासम्म आवेदन दिन सकिनेछ । माघ ११ गतेसम्म उक्त आइपीओमा आवेदन दिन पाइनेछ ।

शेयर भर्न चाहने लगानीकर्ताले सिन्धुपाल्चोक जिल्लामा रहेका सिन्धु विकास बैंक, नेपाल बंगलादेश बैंक, सिभिल बैंक, एनआइसी एसिया र हिमालयन बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले सिन्धुपाल्चोकको चाँखु खोलामा २२.२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । पहिलो चरणको आइपीओमा आयोजना प्रभावित सिन्धुपाल्चोक क्षेत्रका स्थानीयले मात्रै आवेदन दिन सक्नेछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु