नयाँ नीतिपछि मात्रै नेपाली कामदार ल्याउने मलेसिया सरकारको घोषणा

क्वालालम्पुर । मलेसियाले नेपाली कामदार आपूर्तिको समस्या समाधान हुन अझै दुई महिना समय लाग्ने बताएको छ । विदेशी कामदार आपूर्तिबारे तयार गर्न लागिएको नयाँ प्रतिवेदन नआएसम्म नेपाली कामदार आपूर्ति गर्न नसकिने मलेसिया सरकारले प्रष्ट पारेको हो ।

विदेशी कामदार लिने सम्बन्धी नीति तय गर्न मलेसिया सरकारले गठन गरेको कार्यदलले अहिले काम गरिरहेको र सो प्रतिवेदन आएपछि नेपाली कामदार आपूर्ति सुरु हुने मानव संशाधन राज्यमन्त्री महफुज ओमारको भनाई उधृत गर्दै द सन डेली पत्रिकाले समाचार प्रकाशन गरेको छ ।
सो पत्रिकाका अनुसार मानव संशाधन राज्यमन्त्री महफुज ओमारले सो प्रतिवेदन छलफलकै चरणमा रहेको भन्दै वैदेशिक कामदार र सम्बन्धी नीति सोही कार्यदलको सुझाव अनुसार तय हुने बताउनु भयो । उहाँले कामदार अभावको समस्या सुल्झिनेमा आफुहरु विश्वस्त रहेको धारणा पनि राख्नुभएको छ । मलेसियाले नयाँ कामदार नीति नबनी नेपालबाट कामदार नलैजाने प्रष्ट पारेको छ ।

गत जेठदेखि नेपालबाट मलेसियमा कामदार आपूर्ति बन्द छ । मलेसियासँग श्रम समझदारी भएपनि त्यसअुसार कामदार लैजाने प्रक्रियाबारे सहमति जुटेको छैन । मलेसियाले पुरानै संयन्त्रमार्फत कामदार लैजान अनुरोध गरेपनि नेपाल सरकारले त्यसलाई अस्वीकार गरको थियो ।

बिचौलिया संयन्त्र खडा गरेर ठगी गर्ने कम्पनीविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सोही भण्डारमार्फत कामदारमा मलेसिया पठाउन नसकिने जवाफ श्रम मन्त्रालयले दिएको थियो । यस बिषयमा श्रममन्त्री गोकर्ण बिष्ट अडानका साथ प्रस्तुत हुनुभएको छ ।

नेपालको अडान र अन्य श्रमिक पठाउने देशको चासोपछि मलेसियाले कामदार आपूर्ति नीति परिमार्जन गर्ने गरी कार्यदल बनाएर काम गरिरहेको छ । अब यो कार्यदलले प्रतिवेदन दिएपछि मात्रै नेपाली कामदार ल्याउने तयारीमा मलेसिया सरकार रहेको छ । यी सवै प्रक्रिया पूरा गर्न कम्तीमा पनि दुई महिना लाग्ने सरकारी अनुमान छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु