प्रधानमन्त्री बन्दै शेरबहादुर देउवा,सांसदहरुलाई मन्त्रालय छनोटको अधिकार !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार गठन गर्ने भएको छ । छायाँ सरकारको नेतृत्व पार्टी सभापति तथा संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले गर्नेछन् । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले छायाँ सरकार बनाउने बिषयमा छलफल गरेको नेता मिनेन्द्र रिजालले बताए । छायाँ सरकारको नेतृत्व भने देउवाले नै गर्ने उनको भनाई छ ।

बैठकमा सभापति एवं ससदीय दलका नेता देउवाले पछिल्लो समय सरकारको क्रियाकलाप प्रभावकारी नभएको र सरकार विधि मिच्दै अघि बढेको भन्दै विदेशतिर जस्तै छायाँ सरकार गठन गर्नु पर्ने बताएका थिए ।

देउवाले सांसदहरुलाई सरकारकै शैलीमा मन्त्रालय हेर्ने गरी एक जना सांसदलाई तीन वटा मन्त्रालयको नाम दिन भनेका छन् । सांसदहरुले नाम दिएपछि संयोजक र सदस्य बनाएर छायाँ सरकारको अभ्यास गर्ने तयारी कांग्रेसको छ ।

छायाँ सरकारको मन्त्रालय रोज्ने अधिकार भने सांसदहरुलाई दिइएको छ । एक जना सांसदले बढीमा तीन वटासम्म मन्त्रालय रोजेर नाम दिन पाउनेछन् । इच्छुक सांसदहरुलाई आफ्नो रुचीका तीनवटा मन्त्रालयको नामसहित सचिवालयमा नाम दिन भनिएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बताइन् ।

दलको बैठकमा प्रमुख सचेतक बालकृष्ण खाण, सांसदहरु जिपछिरिङ लामा, दिव्यमणि राजभण्डारी, गगन थापा, मीन विश्वकर्मा, उमा रेग्मीसहितले धारणा राखेका थिए ।

के हो छायाँ सरकार ?
नेपाली कांग्रेसले संसदीय दलको विधानमै छायाँ सरकारको व्यवस्था गरिएको छ । छायाँ सरकारले सरकारको काम कारबाहीको नगरानी गर्नेछ । छायाँ सरकारको प्रधानमन्त्रीले प्रधानमन्त्र तथा मन्त्रीपरिषद्को कार्यालय र समंग्र सरकारको निगरानी गर्नेछ ।

छायाँ मन्त्रीले आफूले पाएको मन्त्रालयको काम कारबाहीको निगरानी गर्नुपर्ने छ । सम्बन्धीत मन्त्रालयको कामकारबाहीको निगरानी गर्नेछ । यस्तै संसदमा आवज उठाउने छ ।

प्रधानमन्त्री ओलीसँग प्रश्न गर्न नदिए संसद चल्न नदिने

यसैबीच कांग्रेस संसदीय दलको बैठकले संसद्मा सांसदहरुले राखेको प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीबाट नआउँदासम्म संसद् अबरुद्ध गर्ने निर्णय गरेको छ ।

बैठकले संसद नियमावली र संसदीय विधि अनुरुप पनि संसद सदस्यहरुलाई प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था गरिदिन सभामुख कृष्णबहादुर महरालाई आग्रह समेत गरेको छ । संघीय संसद्को बैठक भोलि (बुधबार) १ बजेका लागि बोलाइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु