निर्मला प्रकरणमा पटकपटक चुक्दै प्रहरी, आईजीपीले जनाए यस्तो प्रतिवद्धता

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना पुगेको छ । तर, प्रहरीले अझै हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन । यसबीचमा भएका पटकपटकका अनुसन्धानमा समेत प्रहरी चुक्दै आएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला हत्याका विषयमा अनुसन्धान गर्दा प्रहरीबाट बेलाबखत कमजोरी भएको भए पनि हत्याको अनुसन्धानमा उच्चतम विज्ञताको प्रयोग भइरहेको दाबी गरे । आजको राजधानी दैनिक लेख्छ–उनले हत्यामा संलग्नलाई कुनै हालतमा उन्मुक्ति दिने प्रहरीको मनसाय नभएको समेत बताएका छन् । निर्मला हत्यामा संलग्नलाई प्रहरीले ढिलोचाँडो कारबाहीको दायरामा ल्याएरै छाड्ने महानिरीक्षक खनालले बताएका हुन् ।
‘निर्मलाको हत्यामा संलग्नलाई उन्मुक्ति दिने भन्ने त हुँदै होइन, जोसुकै भए पनि छोडिँदैन तर हामीले गरेको अनुसन्धान शून्यमा छ भन्ने पनि होइन, अनुसन्धानका क्रममा प्रहरीबाट पनि कमजोरी भएका छन्,’ महानिरीक्षक खनालले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा भने ।उनले पत्रकारले समाचारका लागि विभिन्न कोणबाट लिड खोजेजस्तै प्रहरीले समेत विभिन्न कोण र एङ्गलबाट हत्याको अनुसन्धान अघि बढाइरहेको जनाएका हुन् ।
महानिरीक्षक खनालले अनुसन्धानका क्रममा भएका लापर्बाहीका कारण केही प्रहरी बर्खास्तीसमेत भएको, केही कारबाहीमा परेको र केहीलाई कारबाहीको तयारीसमेत गरिएको जनाए ।

खनालले छानबिन समितिको प्रतिवेदन अध्ययन भइरहेको र प्रशासनिक कारबाही गर्न सिफारिस भएकालाई प्रशासनिक कारबाही र फौजदारी कारबाहीको सिफारिस भएकालाई त्यहीअनुसारको कारबाहीको तयारीसमेत गरिएको जनाएका हुन् । तर, कति जनालाई कारबाहीको तयारी भएको छ भन्नेबारे भने उनले केही खुलाएनन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु